१४ सयमा बनेको पासपोर्टको किन सरकारले २० हजारसम्म लिन्छ ? सांसद रामहरि खतिवडा,


लेखक : सुन्दराञ्चल      फाल्गुन १२, २०७९ मा प्रकाशित     
१४ सयमा बनेको पासपोर्टको किन सरकारले २० हजारसम्म लिन्छ ? सांसद रामहरि खतिवडा,

१२ फागुन  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालको पासपोर्ट जनताका लागि निकै महँगो भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले एकातिर पासर्पोट महँगो र अर्कोतिर जनताले समयमा नपाउने अवस्था रहेकोले सो को अन्त्य गर्न आग्रह गरे  ।

उनले भने,‘२ प्रकारका पासपोर्ट हामीले जारी गरेका छौँ । एउटा ३४ पेजको पासपोर्ट जिल्लाबाट लिँदा ५ हजार, केन्द्र विभागबाट लिँदा १२ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । यस्तै ६६ पेजको पासपोर्ट लिनका लागि जिल्लाबाट १० हजार र केन्द्रबाट लिँदा २० हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता सिर्जना भएको छ । अहिले एउटा ई–पासर्पोट छपाई गर्नका लागि ३४ पेजको पासपोर्ट छपाई गर्नका लागि १० डलर ४५ सेन्ट लाग्छ त्यो भनेको नेपाली रुपैयाँ १ हजार ३ सय ६८ रुपैयाँ हो भने ६६ पेजको पासपोर्ट छाप्नका लागि १० डलर ९५ सेन्ट लाग्छ । त्यो भनेको नेपाली रुपैयाँ आजको मूल्यमा १ हजार ४ सय ३४ रुपैयाँ ४५ पैसा हो । १४ सयमा निर्माण भएको पासपोर्ट एउटा गरिब किसानका लागि, एउटा गरिब विद्यार्थीका लागि सरकारले २० हजारसम्म लिने पद्धतिको विकास गरेका छौँ ।’

उनले अगाडि भने,‘राज्यले नै यति धेरै लिने परम्पराको कहिले अन्त्य हुने ? अघिल्लो वर्ष पासपोर्टबाट नेपाल सरकारले ३ अर्ब ७१ करोड ७६ लाख ३८ हजार ४ सय ७१ रुपैयाँ आम्दानी गरेको देखिन्छ । यो वर्ष २ अर्ब १६ करोड रुपैयाँ मंसिरसम्म आम्दानी गरेको देखिन्छ । एकदिनमा झण्डै १ करोड ४० लाख रुपैयाँ आम्दानी हुने देखिएको छ । यो अवस्था हेर्दा महिनामा ४२ करोड रुपैयाँ र वर्षमा ५ अर्ब ४ करोड रुपैयाँ पासपोर्टबाट आम्दानी हुने देखिन्छ । तर एउटा गरिबले पासपोर्ट बनाउनका लागि १ महिनासम्म कुर्नुपर्ने अहिलेको अवस्थाको अन्त्य भएको छैन ।’उनले सरकार बारम्बार परिवर्तन हुने तर जनताको जीवनस्तर परिवर्तन नहुने, सरकारमा पुग्ने बेला सबैले मिठा कुरा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्यका लागि सरकारलाई रुलिङ गर्न सरकारलाई आग्रह गरे ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap