हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढ्यो


लेखक : सुन्दराञ्चल      चैत्र २३, २०७८ मा प्रकाशित     
हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढ्यो

२३ चैत, गण्डकी । कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ ।

कोरोनाका कारण दुई वर्षयता घरमा नै थुनिएर बस्न बाध्य सर्वसाधारण कोरोनाको कहर घट्दै गएसँगै घुम्न एवम् दर्शन गर्न निस्कने क्रमसँगै झण्डै दुई सातायता मुक्तिनाथ पुग्नेको सङ्ख्या बढेको हो ।

विशेषतः प्रत्येक वर्षको सोह्र श्राद्धका समयका साथै चैत कृष्ण पक्षको औंसीका दिन पारेर देशका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।

यस समयमा कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहेको उनले जानकारी दिए । यस पटक चैत कृष्ण पक्षको औंशीमा २० हजारभन्दा बढीको सङ्ख्यामा दर्शनार्थी मुक्तिनाथ पुगेको पुजारी सुवेदीको भनाइ छ ।

प्रकृति र संस्कृतिको अनुपम गन्तव्यका रुपमा स्थापित मुक्तिनाथमा पछिल्लो दशकयता चिसोको समयसमेतमा दर्शन र अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेको अवस्थामा झण्डै दुई वर्षसम्म कोरोना कहरका कारण यो ठाउँ सुनसान बनेको थियो । कोरोना कहरकाबीचमा सङ्क्रमणको जोखिमीलाई दृष्टिगत गरी पूजाआजामा समेत रोक लगाइएको थियो ।

पछिल्ला दिनमा पर्यटकको बढ्दो चापले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । लामो समयसम्म सुनसानबनेको मुस्ताङको पर्यटनमा बढ्दो पर्यटक आगमनले आशा जगाएको ग्रिन तारा होटलका सञ्चालक सुकमन थकालीले बताए । केही दिन यता दैनिक ठूलो सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रने गरेका छन् ।

पछिल्ला दिनमा पर्यटकीय नगरी पोखराबाट दैनिक ५० भन्दा बढीको सङ्ख्यामा स्कर्पीयो जिपका साथै रिजर्भ बस मुक्तिनाथ जाने गरेको यात्री बस प्रालिका अध्यक्ष सोमबहादुर थापाले जानकारी दिए । कतिपयले आफ्नै निजी सवारी साधन प्रयोग गरेर मुक्तिनाथ पुग्ने गरेको उनले बताए । पोखराबाट नेपाल, समिट र तारा एयरलायन्सले दैनिक तीनदेखि पाँचसम्म उडान गर्ने गरेका छन् ।

मुक्तिनाथमा दर्शनार्थीको चाप बढेसँगै केही वर्षयता पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्ने क्रमले पनि गति लिएको यहाँका व्यवसायी बताउँछन् ।

चार दशक अघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेटी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्थे भन्ने विषय पछिल्ला पुस्ताका लागि भने एकादेशको कथा जस्तै बनेको छ । तत्कालीन समयमा ठाउँठाउँबाट पुगेका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो भने अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने गर्दथे । तत्कालीन समयमा तीर्थयात्राका क्रममा यस्तै पौवा र ठाँटी, भेँडीगोठ आदिमा बस्नु बाध्यता थियो । पछिल्ला वर्षमा भने मुक्तिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सामान्यदेखि सुविधा सम्पन्न होटल उपलब्ध छन् ।

यहाँस्थित रानीपौवाले आफ्नै महत्व एवम् ऐतिहासिकता बोकेको छ । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुगेका थिइन् । रानी सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गरेकी थिइन् ।

स्थानीयवासीका अनुसार तत्कालीन समयमा कुष्मा अर्मादीबाट काठ ल्याएर धर्मशाला निर्माण गरिएको थियो । त्यसै समयदेखि रानीले बनाइदिएको धर्मशाला भएकाले यसलाई रानीपौवा भनिएको हो । उक्त धर्मशालाले तत्कालीन समयदेखि नै मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको थियो ।

रानीपौवामा धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवम् आवश्यक अन्य समान बेच्ने क्रमबाट यो ठाउँले बिस्तारै व्यावसायिक रुप लिँदै गएकामा यो अहिले रानीपौवा बजारका रुपमा चर्चित छ । तत्कालीन समयमा रानीपौवामा बसोबास नभएका कारण त्यहाँबाट केही तल पुराङ गाउँमा सर्वसाधारण बस्थे । रानीपौवा र आसपासका गोठ तथा पुराङ बस्ती रहेकामा धर्मशालामा दर्शनार्थी बस्न थालेपछि पुराङवासी बिस्तारै रानीपौवातिरै उक्ले ।

धमाधम बन्दै गरेका सुविधा सम्पन्न होटलसँगै रानीपौवा क्षेत्रकै संरचनामा ठूलो परिवर्तन आएको पाइएको यस अघि २०६५ सालमा सोही धर्मशालामा तीर्थयात्राका क्रममा बसेका पोखरा महानगरपालिका–३२ गगनगौडाका पुष्पराज शर्मा पौडेलले जानकारी दिए ।

हालै गगनगौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारीमा आवद्ध ६० जनालाई मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गराइएको जानकारी दिँदै सहकारीका सचिवसमेत रहेका उनले देशका ठाउँ ठाउँबाट ठूलो सङ्ख्यामा दर्शनार्थी मुक्तिनाथ पुगेको जानकारी दिए ।

तीन वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथको भ्रमणसँगै भारतीय धार्मिक पर्यटक आउने क्रमले गति लिएको थियो । यस पटक पनि मुक्तिनाथमा ठूलो सङ्ख्यामा भारतीय पर्यटक मुक्तिनाथ पुगेका छन् । कोरोना कहरका कारण पछिल्लो दुई वर्षयता प्रभावित यहाँको धार्मिक पर्यटन आगामी दिनमा भने बढ्ने विश्वास लिइएको छ । रासस

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap