धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीले काठमाडौँ ओहोरदोहोर गरेर एकअर्कालाई पछ्याइरहेको पाइएका बेला केही मन्त्री भने कमै मात्रामा आउजाउ गरेको पाइएको छ ।
मुख्यमन्त्री कमल शाहले २२, आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले २१ र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले १५ पटक काठमाडौँ आउजाउ गरेर लाखौँ खर्च गरेको सार्वजजिनक भइसकेको छ ।
तर प्रदेशका आन्तरिक मामिला मन्त्री शिवराज भट्ट भने अहिलेसम्म तीन पटक मात्र काठमाडौँ गएको पाइएको छ भने भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी पनि कमै मात्रामा काठमाडौँ आउजाउ गरेका छन् ।
आन्तरिक मामिला मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार १७ साउनमा पदभार ग्रहण गरेका मन्त्री भट्ट हालसम्म तीन पटक मात्र काठमाडौँ गएका छन् ।
पहिलो पटक उनी ३१ साउन, दोस्रोपटक ६ मंसिर र तेस्रोपटक २० माघमा काठमाडौँ गएको मन्त्रालयको विवरणमा उल्लेख छ । तीनपटकको काठमाडौँ यात्रामा भट्टले ६२ हजार रुपैयाँ मात्र खर्च गरेका छन् तर उनको सचिवालयका कर्मचारी र सुरक्षागार्ड समेतको खर्च भने एक लाख ४८ हजार छ ।
मन्त्री भट्टको सचिवालयले अतिआवश्यक काम पर्दा मात्र उनी संघीय राजधानी जाने गरेको जनाएको छ । भट्टपछि कम मात्रामा काठमाडौँ जानेमा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी परेका छन् ।
१७ साउनमै पदभार ग्रहण गरेका चौधरी पाँचपटक मात्र काठमाडौँ गएको विवरण प्राप्त भएको छ । चौधरी पहिलोपटक १८ साउन, दोस्रोपटक २५ साउन, तेस्रोपटक १३ भदौँ, चौथोपटक २८ भदौँ र पाचौँपटक १४ मंसिरमा काठमाडौँ गएका छन् ।
पाँच पटक काठमाडौँ आउजाउ गर्दा चौधरीले ९२ हजार रुपैयाँ मात्र खर्च गरेका छन् तर उनको निजी सचिवालयका कर्मचारी र सुरक्षागार्ड समेतको खर्च भने दुई लाख ७७ हजार भएको देखिएको छ ।
भट्टले जस्तै चौधरी पनि मन्त्रालयको अत्यावश्यक कामकाजका लागि मात्र संघीय राजधानी काठमाडौँ आउजाउ गरेको उनको सचिवालयले जनाएको छ ।