मंसिर २४ ,देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सोमबार बिहानैदेखि हिमपात भएको छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा चिसो बढेसँगै हिमपात भएको हो ।
हिमपातपछि हिमाली क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । वर्षासँगै भएको हिमपातले बालीनालीलाई भने फाइदा पुर्याएको छ । आइतबारदेखि मौसममा आएको परिवर्तनपछि सोमबार बिहान हिमाली जिल्लाहरूमा हिमपात भएको हो ।दार्चुला, अछाम, बझाङ, हुम्ला, डोटी लगायतका देशमा यो वर्षको पहिलोपटक हिमपात भएको हो ।
हुम्लाको सदरमुकाम सिमकोट, नाम्खा गाउँपालिकाको उत्तरी भेग चाला, लिमी, हिल्सा, यारी लगायतका ठाउँमा हिमपात भएको हो । त्यस्तै, दार्चुलाको खण्डेश्वरी, राप्ला, घुसा लगायतका क्षेत्रमा हिमपात भएको छ ।
बाँकी प्रदेशका भू–भागमा आंशिक बदली भएको महाशाखाले जनाएको छ । त्यस्तै, मध्य र पूर्वी तराईका धेरै भू–भागमा हुस्सु र थोरै भू–भागमा कुहिरो लागेको छ ।