३१ भदौ, रुपन्देही । दाङको राप्ती गाउँपालिका–२ का सुर्ज बहादुर गुरुङले कपिलवस्तुको शिवराज नगरपालिका–८ बिसनपुरका अहमद् अब्दुल रउफलाई सापटीस्वरुप पटक–पटक गरेर १४ लाख २५ हजार रुपैयाँ दिए ।
रउफले उक्त रकम तिर्न १४ लाख २५ हजार बराबरको आफ्नो खाताको चेक गुरुङलाई दिए । रउफले दिएको चेक गुरुङले कर्णाली विकास बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न लगे । तर रउफको नाममा रहेको कृषि विकास बैंकको खातामा रकम नभएपछि चेक बाउन्स भयो ।
कर्णाली विकास बैंकका शाखा प्रबन्धक गोपाल रोकाले बैंकमा रकम नभएपछि पटक–पटक रकम जम्मा गर्ने समय उपलब्ध गराइएको तर रकम पूरा नभएपछि चेक बाउन्सको प्रक्रियामा अगाडि बढेको बताए । सरकारी वकिल कार्यालय मार्फत अहिले मुद्दा अदालतमा पुगेको उनको भनाइ छ ।
गुरुङले भने चेक बाउन्सको मुद्दाबाट जोगिन किर्ते मुद्दा दिएको गुनासो गरेका छन् । ‘एकातिर सापटी दिएको १४ लाख रकम फिर्ता पाएको छैन, अर्कोतिर उल्टै किर्ते गरेको भनेर मुद्दा खेप्नुपर्दा पीडामाथि पीडा भएको छ’ गुरुङले भने ।
रउफ नेकपा एकीकृत समाजवादीका जिल्ला नेता एवं मुस्लिम इत्तेहाद संगठन (समाजवादी)का केन्द्रीय उपाध्यक्ष हुन् । राजनीतिक पहुँच र शक्तिको आडमा आफूलाई उल्टै फसाउन खोजिएको गुरुङको दावी छ ।