सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गरे


लेखक : सुन्दराञ्चल      असार १०, २०८० मा प्रकाशित     
सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गरे

 असार १० ,  सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका छन् ।आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रालयगत बजेटमा उठेको प्रश्नहरुको जवाफ दिइरहेका थिए । त्यसक्रममा सांसदले पत्रिका पढिरहेको देखेपछि सभामुखले बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका हुन् ।

‘माननीय सदस्यहरु, म माननीय सदस्यहरुलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड ‘ञ’ को व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै बैठकमा पत्रिका पढ्ने काम नगर्नुहुन आग्रह गर्दछु’ सभामुख घिमिरेले गृहमन्त्रीलाई रोक्दै रुलिङ गरे ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० मा बैठकमा पालना गर्नुपर्ने नियम सम्बन्धी व्यवस्था छ । नियम २० को उपनियम ‘ञ’ मा भनिएको छ, ‘बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने ।’

यसका अलावा बैठक कक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने, सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने, सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने, कुनै सदस्यले बोलिरहेको समयमा वाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने लगायतका व्यवस्था छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap