शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै शिक्षाविद् डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन


लेखक : सुन्दराञ्चल      माघ ३०, २०८१ मा प्रकाशित     
शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै शिक्षाविद् डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन

धनगढी माघ ३०, शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै शिक्षाविद् डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ। धनगढी उपमहानगरपालिकाको संयोजनमा आयोजित कार्यक्रममा पन्तलाई बाजागाजासहित रथारोहण गरी सम्मान गरिएको हो। धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरिएको हो ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले माला, खादा, र सम्मानपत्र प्रदान गर्दै पन्तको योगदानको प्रशंसा गरे। उनले कैलाली वाणिज्य क्याम्पसको स्थापना तथा विकासमा पन्तको महत्वपूर्ण भूमिका रहेको बताए।
डा. पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली वाणिज्य क्याम्पसमा अध्यापन सुरु गरेका थिए। प्रारम्भमा १४५ विद्यार्थीबाट सुरु गरिएको यस क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखिएको थियो। भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा क्याम्पस प्रमुख नियुक्त भए र २०६६ सालसम्म उक्त जिम्मेवारी सम्हाले।

डोटीको शिखर नगरपालिका–९ उच्चाकोटमा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका छन्। नगरप्रमुख हमालका अनुसार २०३७ सालदेखि हालसम्म उनले सुदूरपश्चिमको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो।

नगरप्रमुख हमालले भने, ‘सुरुवाती चरणमा कैलाली बहुमुखी क्याम्पसको भौतिक संरचना थिएन। विस्तारै संरचनाहरू तयार भए र हालको अवस्थामा ल्याउन डा। पन्तको भूमिका अतुलनीय छ। त्यसैले हामीले उहाँलाई नागरिक अभिनन्दन गरेका हौं।’

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap