काठमाडौँ भाद्र २८, — विश्वभर ५ करोड मानिसले आधुनिक दासका रूपमा काम गरिरहेको अनुमानित तथ्यांक सोमबार सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), वार्क फ्रि र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले आधुनिक दासभित्र पर्ने मानिसको संख्या सार्वजनिक गरेका हुन् ।
तथ्यांकअनुसार दुई करोड ८० लाख मानिस बाध्यकारी श्रममा फसेका छन् भने दुई करोड २० लाख मानिस बाध्यकारी वैवाहिक जीवनमा परेका छन् ।
आईएलओका महानिर्देशक गाय राइडरले आधुनिक दासको अवस्थाले स्तब्ध पारेको बताए । ‘आधुनिक दासको अवस्थामा सुधार नभएकाले हामीलाई स्तब्ध पारेको छ, आधारभूत मानवअधिकारको यो दुरुपयोगलाई कुनै पनि कुराले औचित्य पुष्टि गर्न सक्दैन,’ आईएलओका महानिर्देशक राइडरले भने, ‘हामीलाई थाहा छ, हामीले के गर्न आवश्यक छ र के गर्नुपर्छ । यसका लागि आधारभूत राष्ट्रिय नीति र नियमलाई प्रभावकारी बनाउनुपर्छ तर सरकार एक्लैले गर्न सक्दैन । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नका लागि सबैले एकापसमा हात मिलाउनुपर्छ । ट्रेड युनियन, रोजगारदाता संगठन र नागरिक समाजले खबरदारी गर्नुपर्छ ।’
८६ प्रतिशत बाध्यकारी श्रम निजी क्षेत्रमा भेटिएको छ । सबैथरी बाध्यकारी श्रमको ६३ प्रतिशत भने व्यावसायिक यौन शोषणसँग जोडिएको छ । १४ प्रतिशत बाध्यकारी श्रम राज्य सिर्जित छ । आठ जनामा एक जनालाई बाध्यकारी श्रममा लगाएको भेटिन्छ । वैदेशिक रोजगारीमा जाने कामदार तेब्बरले बाध्यकारी श्रमको उच्च जोखिममा रहेको प्रतिवेदनले जनाएको छ ।
आईओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोका अनुसार प्रतिवेदनले सबै बसाइँसराइ सुरक्षित, व्यवस्थित र नियमित छ भनी सुनिश्चित गर्न जरुरी छ भन्ने कुरालाई जोड दिएको छ । कान्तीपुर