राष्ट्रिय नाचघरमा आयोजित एकल गायनमा कुस्मिताले गुन्जाइन् जनपक्षीय गीत


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७९ मा प्रकाशित     
राष्ट्रिय नाचघरमा आयोजित एकल गायनमा कुस्मिताले गुन्जाइन् जनपक्षीय गीत

भदौ ३०, तीन दशकदेखि जनपक्षीय गीत गाउँदै आएकी गायिका कुस्मिता दर्लामी (हिराकुमारी दर्लामी) को एकल गायन सम्पन्न भएको छ । बुधबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एकल गायनमा उनले जनताका पक्षमा लेखिएका १२ वटा गीत प्रस्तुत गरिन् ।

जनसांस्कृतिक महासंघ नेपालको आयोजना र सांस्कृतिक संस्थानको सहकार्यमा आयोजित कार्यक्रममा जनगायिका दर्लामीले अमर गिरीको शब्द तथा शम्भु अमात्यको संगीत रहेको ‘सुन्दर क्षितिज’, रायनको शब्द तथा संगीत रहेको ढुंगाको शालिक, शरद पौडेलको शब्द तथा संगीत रहेको पानी परेर गीत प्रस्तुत गरिन् ।

ल साँझमा उनले उकालीमा बिसाउने चौतारी, अविरल बग्ने झर्ना खोली, मैले बोल्दा सँगै रोइदिन्छ भीर पहरा लगायतका गीत गाइन् ।  उनले मगर भाषाको किसान मजदुर, मैथिली भाषाको फाटल पहिरवे, चौरी गोठमा, नहुने के रै’छ र माझी दाइ बोलका गीतसमेत प्रस्तुत गरिन् । उनलाई भगीरथ सुस्लिङले किबोर्ड, सुरज श्रेष्ठले बेस गितार, राजकुमार समालले गितार, राम सुस्लिङले ढोलक, सुनिल बर्देवाले तबला, पूर्ण थापाले बाँसुरी र पदम क्षेत्रीले ड्रममा साथ दिएका थिए ।

सो कार्यक्रमको अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले जनगायिका कुस्मिता राम्रो स्वर भएकी प्रतिभाशाली कलाकार भएको बताए । उनले जनताले कुस्मिताको स्वरलाई अझै लामो समयसम्म सुनिरहन पाउन भन्ने कामना गर्दै जनताको दुःखबाट पछि नहटी अगाडि बढ्न आग्रह समेत गरे ।

कार्यक्रममा जनगायक जीवन शर्मा, कर्ण विद्रोही, प्रगति महरा, श्याम तमोट, वीरप्रसाद भन्सारी, प्रदीप बमजन, नारायण शर्मा, उदय श्रेष्ठ, हेमराज आश्रम, चिरन पुन, मोहन घिसिङ, केशरी घर्तीमगर, निलिमा पुन, शारदा लिम्बू, लक्ष्मी गुरुङ, धनु ज्ञाङ्मी, सुशीलसिंह ठकुरी, उदय रिजाल लगायतको उपस्थिति रहेको थियो ।

यस्तै, मधेस प्रदेशका गृहमन्त्री भरत साह, राष्ट्रियसभाका पूर्वउपाध्यक्ष शशिकला दाहाल, भाषाविज्ञ डा.गोपाल ठाकुर, समालोचक ईश्वरचन्द्र ज्ञवाली, अग्रज कलाकार जुलुमलाल चित्रकार, मानबहादुर दोङ, पाल्साङ्मो लामा, भाषा आयोगका सदस्य गोपाल अश्क लगायतको उपस्थिति रहेको थियो । सिन्धुलीमा जन्मिएकी गायिका दर्लामीको गायन यात्रा ०४७ सालदेखि सुरु भएको हो ।

हाल जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय सदस्य रहेकी उनले ०५४ सालदेखि हिसन समालको नेतृत्वमा बनेको इन्कलाब परिवारमा आबद्ध भई नेपालको रुपान्तरणकारी आन्दोलनमा पूर्णकालीन रहँदै आएकी थिइन् । उनका रातो सलाम, इन्कलाब, राप, एक धक्का, पारिजात आदि कृति प्रकाशित छन् । उनले मगर, नेवारी, तामाङ मैथिली, भोजपुरी लगायतका भाषामा गीत गाएकी छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap