युवा टिममा अझै सुधार गर्नुपर्ने ठाउँ रहेको छ .


लेखक : सुन्दराञ्चल      चैत्र १५, २०७८ मा प्रकाशित     
युवा टिममा अझै सुधार गर्नुपर्ने ठाउँ रहेको छ .

काठमाडौं  १५ चैत, । त्रिदेशीय टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले सोमबार पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

सन्दीप लामिछाने कप्तान बनेपछि घरेलु मैदानमा नेपालले पहिलो जित हात पार्दा पीएनजीलाई पनि ७ वर्षपछि टी–२० मा पहिलो पटक हरायो । यसअघि नेपालले घरेलु मैदानमा पीएनजी विरुद्ध दुई खेलको एकदिवसीय शृंखलामा दुवै खेल हारेको थियो ।

करण केसीले आफ्नो अन्तिम ओभरको अन्तिम दुई बलमा लगातार विकेट लिएपछि टीयू मैदानमा पीएनजीलाई हराएर नेपालले त्यसको बदला लिइसकेको छ ।

पीएनजीलाई हराएपछि कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकेले टिममा अझै सुधारको आवश्यकता रहेको बताएका छन् । कप्तानको रुपमा घरेलु मैदानमा पहिलो जित पाएपछि सन्दीपले खुशी व्यक्त गर्दै श्रृंखला नै जित्ने लक्ष्य रहेको सुनाए । ’जितबाट खुशी छौं । हाम्रो सबैको लक्ष्य त्रिकोणात्मक श्रृंखला जित्ने नै हो,’ उनले भने ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा पीएनजी ४ बल अगावै १६८ रनमा अलआउट भयो । टीयू मैदानमा ब्याटिङ गर्न सहज विकेट रहेकाले रन धेरै बनिरहेको थियो ।

करणले अन्तिममा विकेट लिनु नै जितको टर्निङ पोइन्ट बनेको सन्दीपले बताए । करणले १९औं ओभरको पाँचौ बलमा ५२ रन बनाएका नोर्मन भानुअ र छैटौं बलमा सिमोन अटाईलाई आउट गर्दै खेल नेपालको पक्षमा मोडेका थिए ।

धेरै क्षेत्रमा अझ सुधार गर्नुपर्छ । समस्या भनेको युवा टिम हो । टिमको आधार तयार हुँदैछ– प्रशिक्षक पुबुदु दासानायके

‘समस्या भनेको युवा टिम’

सन्दीपले एकदिवसीय श्रृंखलामा युवा खेलाडी रहेकाले अहिले टी–२० टिममा पूर्ण क्षमताको टिम रहेकोले खेल राम्रो भएको बताए । तर टिममा अझै सुधार गर्नुपर्ने ठाउँ रहेको पनि उनले बताए । ‘केही क्षेत्रमा अझै सुधार गर्नु छ । हामी त्यसका लागि खेल्छौं,’ सन्दीपले भने ।

उनले ब्याटिङ गर्दा सानो स्कोर ठूलो स्कोरमा कन्भर्ट गर्नुपर्ने बताए । ‘जसले राम्रो सुरुवात पाउनुभएको थियो त्यसमा ठूलो स्कोरमा कन्भर्ट गर्नु सक्नुहुन्थ्यो । सबै जना यसमा काम गरिरहेका छन् । त्यसमा हामीले अझै केही गर्नुपर्छ,’ उनले भने ।

टिममा केही क्षेत्रमा सुधार गर्नुपर्ने सन्दीपले बारम्बार दोहोर्याए । त्यसको अर्थ योजना अनुसार खेल्नु रहेको उनको बुझाइ थियो । ‘हामीले योजनालाई राम्रोसँग लागु गर्नुपर्छ,’ सन्दीपले भने, ‘बलिङमा पनि हामीले केही सुधार गर्नुपर्नेछ ।’

यस्तै प्रशिक्षक पुबुदु दासानायके पनि टी–२० श्रृंखलाको पहिलो जितबाट खुशी देखिए । ‘राम्रो क्रिकेट खेलेपनि जित सकेका थिएनौं । श्रृंखलाको पहिलो खेल जित्नु राम्रो हो,’ उनले भने ।

उनले अहिले युवा टिम रहेकाले सुधार गर्नुपर्ने ठाउँ रहेको बताए । ‘धेरै क्षेत्रमा अझ सुधार गर्नुपर्छ,’ पुबुदुले खेलपछि भने, ‘समस्या भनेको युवा टिम हो । टिमको आधार तयार हुँदैछ । टिमको रुपमा तयार हुँदै छौं र अझै सुधार गर्नुपर्ने कुराहरु छ ।’ टिमको प्रदर्शनबाट समग्रमा खुशी रहेको उनले बताए ।

टिममा रहेका केही खेलाडीले लिडिङ रोलमा नखेलेको र उनीहरुको लागि नयाँ रोल भएकाले ब्याटिङमा युवा खेलाडीको लागि समय लाग्ने उनको बुझाइ छ ।

पुबुदुले एकदिवसीय र टी–२० श्रृंखलाअघि नेपाली टिममा युवा खेलाडीहरु रहेको र टिम निर्माणको प्रक्रियामा रहेको बताएका थिए ।

यसपटक घरेलु मैदानमै श्रृंखला हुँदा नेपालले दुई फरक टिम बनाएको थियो र कूल २३ खेलाडीलाई टिममा समावेश गरेको थियो । जसमा दुई नयाँ अनुहार थिए । त्यसमध्ये यू–१९ टिमका कप्तान देव खनालले एकदिवसीय खेलबाट राष्ट्रिय टिममा डेब्यु गरिसकेका छन् । टी–२० टिममा रहेका आदिल अन्सारीले भने डेब्युका लागि अझै कुर्नुपर्ने भएको छ ।

यसबाहेक पनि टिममा केही समयअघि मात्र डेब्यु गरेका लोकेश बम, विवेक कुमार यादव र सागर ढकाल जस्ता खेलाडी छन् । यी तीनै खेलाडी टी–२० श्रृंखलाका लागि टिममा छन् । पीएनजी विरुद्ध पहिलो खेलमा लोकेशले मात्र अवसर पाए । विवेक र सागर भने बेन्चमा थिए । उनीहरुले पछि अन्य खेलमा अवसर पाउने सम्भावना छ ।

पारस खड्काको नेतृत्वमा रहेको स्वर्णिम पुस्ताको कुनै पनि खेलाडी अहिले नेपाली टिममा छैनन् । युएईमा लिग टू खेलेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीविना नै यस पटक नेपालले खेलिरहेको छ ।

एक हिसावले हेर्दा नेपाली क्रिकेटको एउटा पुस्ता सकिएको र अर्को पुस्ता आउने क्रममा रहेको देखिन्छ । तर नेपाल क्रिकेट संघले भने दुई सिनियर खेलाडीलाई बाहिर राखेको नभई आराम दिएको जनाएको छ । प्रशिक्षकले टिम निर्माणको प्रक्रियामा रहेको बताइरहँदा ती खेलाडीले फेरि अवसर पाउँछन् पाउँदैनन् त्यो भने हेर्न बाँकी छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap