पुष १९, यतिबेला देशैभरि मेला महोत्सवको सिजन छ । पूर्वदेखि पश्चिम नेपालसम्म महोत्सव आयोजना भइरहेका छन् । यो मेसोमा कलाकारलाई भ्याइनभ्याइ छ । लोकदोहोरी, आधुनिक, पप र हिपहप गायक-गायिकालाई मेला महोत्सवको चटारो छ ।
कलाकारले दैनिकजसो सामाजिक सञ्जालबाट मेला महोत्सवका सांगीतिक प्रस्तुतिको तस्वीर पोस्ट गरिरहेका छन् । अहिले चलेका कुनै पनि एक कलाकारले एक महिनासम्म कम्तीमा १५ देखि २० महोत्सवमा सांगीतिक प्रस्तुति दिन्छन् ।
प्रमोद खरेल, शिव परियार, राजेशपायल राई, हेमन्त शर्मालगायत सुगम संगीतका लोकप्रिय कलाकार पनि महोत्सवमा पुगिरहेका छन् । शिव अहिले अमेरिका टुर र प्रकाश बेलायतको सांगीतिक टुरमा छन् । सांगीतिक ब्याण्डदेखि पछिल्ला छिमलका र्यापर भिटेन, दोङलाई पनि मेला महोत्सवमा भ्याइनभ्याइ छ ।
एलिना चौहान पनि यतिबेला निकै व्यस्त छिन् । सामाजिक सञ्जालमा उनीहरुले पोस्ट गरेका तस्वीर हेर्दा उनीहरुको व्यस्तता प्रष्ट हुन्छ । गायक प्रमोद खरेलको व्यस्तता पनि चर्को छ । भ्वाइस अफ नेपाल सिजन ५ को फिनाले नजिकिंदै गर्दा उनी फुर्सद निकालेर महोत्सवमा पुगेका हुन्छन् ।बुधबार बागलुङ महोत्सवमा पुगेका खरेल बिहीबारको झापाको गोलधापमा प्रस्तुति दिंदैछन् । पोखरामा न्यु इयर २०२४ देखि सुरु भएको सांगीतिक माहोल जनवरीसम्मै कायम हुनेछ । लाइनअप हेर्दा चलेका पपगायक र र्यापरले पनि तालनगरीमा प्रस्तुति दिंदैछन् ।