भ्रष्टाचार किन निको नहुने रोग हो ..?


लेखक : सुन्दराञ्चल      पुस १०, २०८० मा प्रकाशित     
भ्रष्टाचार किन निको नहुने रोग हो ..?
पुष १० ,जबसम्म मौका पर्दैन, हामी सबै संस्कारी देखिन्छौं, तर आफ्नो पालो आयो कि चान्समा डान्स गर्न ढिलो गर्दैनौं । यस्तै प्रवृत्तिले गर्दा भ्रष्टाचार कहिल्यै निको नहुने सामाजिक रोग बनेको छ ।

हामीलाई भ्रष्टाचार मन पर्दैन तर काम नगरीकन एकै पटक धनी बन्न मन पर्छ । रातारात धनी बन्नेलाई सबैले सम्मान गर्छौं । उसकै सामाजिक प्रतिष्ठा उच्च हुन्छ । श्रम गर्नेलाई सम्मान गर्न सिकेका छैनौं हामीले । जसले परिश्रम गर्दछ, दस नङ्ग्रा खियाएर जीवन धानेको हुन्छ, उसलाई ‘हजुर/तपाईं’ भन्न लाज लाग्छ हामीलाई ।

सम्बन्धहरू जोड्ने औषधि मान्न थालिएको छ पैसालाई । श्रीमान्–श्रीमतीको सम्बन्ध, अभिभावक–सन्तानको सम्बन्ध, साथीभाइको सम्बन्ध पैसामै टिकेको हुँदा हाम्रो समग्र चेतनाले नै भ्रष्टाचारलाई पूजा गरिरहेको छ । जबसम्म हामी श्रम नगरीकन कमाइएको पैसालाई सम्मान गरिरहन्छौं तबसम्म भ्रष्टाचारको जालो टुट्दैन ।

हामीसँग धेरै कुरा भ्रष्टाचारविरोधी छन् । संविधान भ्रष्टाचारविरोधी छ । भ्रष्टाचारविरुद्ध नियमनकारी निकायहरू छन् । कानुनहरू छन्, विधि–विधान छन् । सरकारी नारा नै, सरकारी शपथ नै छ— ‘म आफूले भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्नँ ।’ भ्रष्टाचारको विरोधमा मीठो र चर्को भाषण गर्न कोही नेता कम छैनन् । हाम्रा सबै सार्वजनिक खरिद प्रक्रियाहरू, खरिद कानुन भ्रष्टाचारविरोधी छन् । यति हुँदा पनि नेपाल भ्रष्ट मुलुकको प्रायः अग्रस्थानमै पर्छ । हाम्रो संस्कार, हाम्रो चेतना, हाम्रो बुझाइ, हाम्रो कार्यशैली अनि हाम्रो सिंगो संस्कृति नै भ्रष्टाचारमैत्री भइदिनाले यस्तो भएको हो । काम केही नगर्ने तर कुरा ठूला गर्नुपर्ने, खाना मीठो चाहिने, घर ठूलो र गाडी सानदार चाहिने भएको छ हामीलाई । ‘अल्छी तिघ्रो, स्वादे जिब्रो’ उखान वास्तवमा हाम्रै लागि बनेको हो ।

कानुन, शपथ, संघसंस्था आदि भ्रष्टाचारीविरोधी हुँदैमा भ्रष्टाचार घट्ने भए नेपाल अहिले सबैभन्दा कम भ्रष्टाचार गर्ने मुलुकमा हुन्थ्यो । तर भ्रष्टाचार न्यूनीकरण कानुनमा लेखेर, चर्का भाषण गरेर हुने होइन । यसका लागि त हरेक नागरिकमा श्रम गर्ने र श्रमको सम्मान गर्ने संस्कारको विकास हुनु जरुरी छ । त्यस्तो नभएसम्म मुखले जतिसुकै ‘भ्रष्टाचार गर्दिनँ’ भने पनि मौका मिल्नासाथ भ्रष्टाचार गर्नका लागि साम, दाम, दण्ड, भेद सबै अस्त्रको प्रयोग गरिन्छ । त्यस्तै, ‘आफ्नाले गरे चमत्कार, अर्काले गरे भ्रष्टाचार’ भन्ने कुसंस्कृतिको अन्त्य हुनु आवश्यक छ ।

मुलुकमा अहिले नीतिगत भ्रष्टाचारले व्यापकता पाएको छ । संघीयतासँगै सिंहदरबारको भ्रष्टाचार विकेन्द्रीकरण भएर गाउँगाउँ पुगेको छ । तीनै तहका सरकारमा मुलुकको विकासका लागि प्रतिस्पर्धा हुनुपर्नेमा उल्टै भ्रष्टाचार गर्नमा नै तँछाडमछाड चलिरहेको छ । जुनसुकै तन्त्र आए पनि ‘बेमौसमी बाजा बजाएर जनताका आँखामा छारो हाल्ने’ काम मात्रै भएको छ ।

हाम्रा कतिपय चाडपर्व, रीतिरिवाज, प्रथा, परम्पराहरू नै भ्रष्टाचारमैत्री छन् । उदाहरणका लागि, दाइजो प्रथा एक त राम्रो होइन, यसलाई घटाउँदै र हटाउँदै लानुपर्छ, अर्को यदि दाइजो नै दिनैपर्ने भए कमजोर आर्थिक अवस्था भएकाले पाउनुपर्छ, ताकि आफ्नो छोरी–ज्वाइँको सुरुआती जीवन धान्न सजिलो होस् । तर, व्यवहारमा यस्तो गरिँदैन । जो सम्पन्न छ, जो धनी छ, उसैलाई थुप्रै दाइजो दिने गरिन्छ । आफन्त–इष्टमित्रमा जसको आर्थिक अवस्था कमजोर छ, उसलाई सहयोग गर्नुपर्ने हो तर गरिँदैन । उल्टै हेला गरिन्छ । दक्षिणाको सवालमा सम्पन्नलाई नै धेरै र विपन्नलाई थोरै दिइन्छ । धनी पाहुना आउँदा ऋण खोजेरै भए पनि मीठो खाना पकाइन्छ भने, गरिब अतिथि आउँदा मिष्टान्नको मात्रा कम हुन्छ । यहींनेर हामी चुकिरहेका छौं । हाम्रो सोच नै भ्रष्ट छ । सोचमै खोट छ । पद र पावर हुनेले कानुन किन्ने, नीति किन्ने, विधि किन्ने, पद्धति किन्ने, संस्कार किन्ने, न्याय किन्ने अनि सिंगो संस्कृति नै किन्ने अभ्यास रहुन्जेल भ्रष्टाचार घट्न सक्दैन ।

अचेल सदाचार र नैतिकता सर्वत्र हराउँदै गएको छ । सरकार, निजी क्षेत्र, नागरिक समाज, संघसंस्था, सहकारी, राजनीतिक दललगायत समग्र पक्षमै भ्रष्ट सोच छ, शैली छ, व्यवहार छ । मुखले एक थोक भनेर अर्को थोक गर्नमा हामी खप्पिस छौं । हामी सबैमा इमानको खडेरी छ । जबसम्म हाम्रा आनीबानी, व्यवहार र संस्कारमा सदाचार र नैतिकताले प्रवेश पाउँदैनन्, तबसम्म भ्रष्टाचारविरोधी संस्कृति निर्माण हुन सक्दैन ।

मुलुकको शासन चलाउने प्रमुख पात्र राजनीतिक दलहरू र तिनका सहयोगी कर्मचारीहरूलाई न सुशासन चाहिएको छ न त भ्रष्टाचारमैत्री वातावरण । दुवैको अभीष्ट ‘मौकामा चौका हान्न’ पाए हुन्थ्यो भन्ने नै रहँदै आएको छ । यस्तो प्रवृत्ति बढ्दै गए भोलि ‘न रहे बाँस न बजे मुरली’ जस्तो अवस्था नआउला भन्न सकिन्न ।

असल आचरण खासमा त परिवारभित्रबाटै हराउँदै गएको छ । परिवारमै जुन सन्तानले बढी पैसा कमाउँछ, उसैले मायाममता बढी पाउँछ । उसले छिट्टै कसरी पैसा कमायो भनेर सोधखोज गर्नुको सट्टा जसरी हुन्छ छिट्टै पैसा कमाएस् भन्दै आशीर्वाद दिइन्छ । जबसम्म मौका पर्दैन, हामी सबै संस्कारी देखिन्छौं, तर आफ्नो पालो आयो कि चान्समा डान्स गर्न ढिलो गर्दैनौं । यस्तै प्रवृत्तिले गर्दा भ्रष्टाचार कहिल्यै निको नहुने सामाजिक रोग बनेको छ । के उचित, के अनुचित, लेखाजोखा गर्ने प्रवृत्ति नै छैन । ‘फलानोले गर्‍यो भने मैले गर्न किन नहुने ?’ भने जस्तो अवस्था छ ।

अन्त्यमा, अब तीनै तहका सरकारको जिम्मेवारी भ्रष्टाचारविहीन संस्कृति र समाजको निर्माण हुनुपर्छ । यसका लागि सम्पूर्ण नागरिकले हातेमालो गर्दै अगाडि बढ्नु जरुरी छ । जब हामी भ्रष्टाचाररहित मन, वचन र कर्ममा रमाउन थाल्छौं तब मात्र भ्रष्टाचार न्यूनीकरणले गति लिन थाल्छ । गायत्री लम्साल

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap