बैतडी- ‘ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ घरायसी आर्थिक अवस्थाले बिचमै पढाइ छाडेर भारत जाने सुदूरपश्चिममा थुप्रै युवा छन् । तीमध्ये एक पदम विश्वकर्मा छन् । उनी भारतमा ज्याला मजदुरी गर्दै अध्ययन गरेर नेपालमा शिक्षक सेवा आयोग उत्तीर्ण गरी माध्यमिक तहको अङ्ग्रेजी शिक्षक बन्न सफल भएका छन् ।
यी सबै सफलताका पछाडि बुवाको योगदान र कहालीलाग्दो सङ्घर्षपूर्ण विगत रहेको पदमले बताए । गरिबीले खानलगाउन नपाएपछि उनका पिता दिलु कामी सुदूरपश्चिमबाट भारतको मुम्बई पुगे । २०६२ सालमा बुवासँगै नौ वर्षका पदम पनि मुम्बई पुगे । बुवासँगै होटलमा भाँडा माझ्ने काममा पदम लागे । मुम्बईमा पनि स्कुल रहेछ भनेपछि बुवाको मन पग्लियो । पदमले मुम्बईको सेन्ट जुड्स विद्यालयमा कक्षा ४ मा पढ्ने मौका पाए । “भर्ना भएको त्यो स्कुल नाम मात्रको थियो,” पदमले सुनाए, “कक्षा ३ र ४ मा जम्मा तीन जना विद्यार्थी थियौँ । त्यहाँ जेनतेन कक्षा ४ सम्म पढेँ । त्यसपछि अलिकति राम्रो स्कुल भनेर बुवाले द डनबस्को हाइस्कुलमा भर्ना गरिदिनुभयो । कक्षा ५ र ६ को पढाइ यहीँबाट सकेँ ।”
स्कुल पढ्न बुवाको कमाइले नपुगेपछि कक्षा ७, ८ र ९ मा विद्यालय जान नपाएको पदमले बताए । तीन वर्षसम्म स्वअध्ययन गरेर बुवासँगै चौकीदारी गर्ने, गाडी धुने, भारी बोक्ने जस्ता काम गरेर घरमा खर्च पठाउने काम गरेको उनले बताए । सङ्घर्षको कथा सुनाउँदै उनले भने, “पढाइ छाडेर मुम्बईमा तीन वर्ष काम गर्दा अलिकति पैसा जम्मा गरेको थिएँ । एसएलसीको तयारी गर्न कक्षा १० का किताब किनेर प्राइभेट फर्म भरेँ । परीक्षामा सहभागी हुन पाएपछि सन् २००९ मा ८५।२७ प्रतिशत नतिजा ल्याएर कक्षा १० उत्तीर्ण गरेँ ।” नतिजा राम्रो देखेपछि खुसी भएका बुवाले मुम्बईस्थित केपिबी हिन्दुजा कलेजमा भर्ना गर्न सुझाव दिएपछि दुई वर्ष निरन्तर क्याम्पस पढे । निरन्तर अध्ययन गर्न पाएपछि उनले कक्षा १२ को परीक्षामा ७७.८३ प्रतिशत नतिजा हासिल गरे ।
उच्च शिक्षामा फेरि अवरोध
भारतमा कक्षा १२ उत्तीर्ण गरेपछि माथिल्लो शिक्षा आर्जन गर्न पुनः आर्थिक समस्या हुँदा फेरि सडकमै फर्केर विभिन्न होटलमा ‘वेटर’ को काममा पदम लागे।
उनले भने, “यो २०६७ सालको कुरा थियो । यो बिचमा घर आएँ । विवाह पनि गरेँ । गाउँमा कुनै रोजगारी थिएन, पुनः मुम्बई हिँडेँ । चार वर्ष म निकै बिग्रिएँ । क्रिकेटमा सट्टाबाजी लगाउन थालेपछि म डुबेँ । कहिलेकाहीँ राम्रो पैसा पनि आउँथ्यो । दुई वर्षसम्म म घरपरिवारसँग सम्पर्कविहीन जस्तै भएँ । त्यसपछि बुबाले मुम्बई छाड्न कर गरेपछि नेपाल फर्किएँ ।”
डोटी क्याम्पस भर्ना
गाउँ फर्केर २०७४ सालमा पदम डोटी क्याम्पस भर्ना भए । अङ्ग्रेजी मूल विषय लिई २०७९ सालमा उनले डोटी बहुमुखी क्याम्पसबाट ५८.९५ प्रतिशत नतिजा ल्याएर बिएड पूरा गरे । यो बिचमा पदमकी एक बहिनीको बिहे पनि भयो । दुई जना भाइमध्ये दशरथ विश्वकर्माले कक्षा ७ को पढाइ छाडेर भारत गए । अर्को भाइ अशोकले पनि कक्षा ८ उत्तीर्ण गरेर उही कालापहाड रोजे । “जीवनमा नसोचेको कुरा पनि हुँदो रहेछ,” पदमले भने, “दलित समुदायका मानिसलाई हातमुख जोर्नै धौधौ हुँदा आफ्ना भाइ जस्ता अरूले पनि यसरी नै विद्यालय छाडेर हिँडेको देखेपछि मैले शिक्षक बन्ने अठोट गरेँ ।” यही अठोट लिएर २०८० सालमा शिक्षक सेवा आयोगले लिएको मावि लाइसेन्सको परीक्षा उत्तीर्ण गरेर २०८१ सालमा खुलेको शिक्षक सेवा आयोगको परीक्षामा मावि अङ्ग्रेजी विषयको स्थायी शिक्षक बन्न सफल भएको पदमले बताए । गोरखापत्रबाट