बाजुरामा महिनावारी भएकालाई सार्वजनिक बाटो हिँड्न प्रतिबन्ध


लेखक : सुन्दराञ्चल      फाल्गुन ५, २०८० मा प्रकाशित     
बाजुरामा महिनावारी भएकालाई सार्वजनिक बाटो हिँड्न प्रतिबन्ध

बाजुरा फागुन ५, बाजुराका अधिकांश स्थानमा महिनावारी हुँदा महिलालाई सार्वजनिक बाटो हिँड्न बन्द हुने गरेको छ। महिलालाई देवी देउताको थान र मठमन्दिर भएर हिँड्ने बाटो बन्द हुने गरेको छ।
मठमन्दिर नजिकमा रहेका बाटोमा हिँडेपछि अनिष्ट हुन्छ भन्दै धामीझाँक्री रिसाउन थालेपछि महिनावारी भएका महिलाका लागि बाटो बन्द हुने गरेको बुढीगङ्गा नगरपालिका–१०, तिमाडाका स्थानीय नाम ९परिवर्तन० राधिका विकले बताइन्।
उनले भनिन्, ‘महिनावारी भएका महिलाले मन्दिर नजिकमा रहेको बाटोमा हिँड्दा धामीझाँक्री तथा देवता रिसाउँछन् भन्ने डर देखाउन थालेकाले महिनावारी हुँदा ती बाटोमा नहिँड्ने गरेका हुन् ।’

महिनावारी भएपछि आफूलाई गाउँका अधिकांश गोरेटो बाटोमा समेत हिँडडुल गर्न वञ्चित गरिएको छ। उनले भनिन्, ‘आफूहरू ती बाटोमा जबरजस्ती हिँड्न खोजे पनि गाउँका अगुवा र धामीझाँक्रीले देवतालाई छोयो भन्दै रिसाउने गर्छन् ।’

गाउँनजिकै कालापातलको मन्दिर छ, त्यही बाटोबाट स्थानीय आउजाउ गर्छन् तर महिनावारी भएका महिलाले भने त्यो बाटोमा हिँड्न नपाएको विकले बताइन्।छाउप्रथा अन्त्यका लागि जिल्लामा हुने गरेका विभिन्न कार्यक्रमले सेलापाखा, बदेडा, तिमाडाका गाउँबस्तीमा भने कुनै प्रभाव नपारेको विकको भनाइ छ।
यहाँका महिलाले महिनावारी हुँदा मिठो खान त के राम्रो ठाउँमा सुत्नसमेत पाएका छैनन्। यहाँका महिलालाई दुध, दही, महीलगायतका पोसिला खानेकुरा खानसमेत दिइँदैन।
महिनावारी भएका महिलाले दुहुनो गाई र भैँसीको शरीरमा पनि छुनसमेत मिल्दैन। यदि कोही कसैले जबरजस्ती छोयो भने गाई बिरामी हुने, नब्याउने भयो भन्दै जरिवाना तिराउने गर्छन्। सुनपानी छर्केर चोख्याउने गर्छन्।

२०७६ सालमा बुढीनन्दा नगरपालिकाको–९, पाण्डुुसैनमा छाउगोठमा सुत्दा आमा र दुई छोरासहित तीन जनाको ज्यान गएको थियो। त्यसपछि छाउप्रथा कुप्रथा हो भन्दै स्थानीय निकायमा छाउप्रथा उत्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो ।

सो अभियानले यस जिल्लाको नौ वटै स्थानीय तहमा रहेका ५११ वटा छाउगोठ भत्काएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । महिनावारी तथा सुत्केरी हुँदा देवीदेवताको डरले घरभन्दा टाढा छाउगोठमा सुत्दा कैयौँ महिला बलात्कृत भएका छन्। धेरैको जीवन बर्वाद भएको दुःखेसो पविता थापाले पोखिन्।
महिनावारी भएका महिलालाई यस्ता खाले विभेद गर्ने जो कोहीलाई कानुनी रूपमा कारबाही गर्ने भनिए पनि अहिलेसम्म कार्यान्वयन भने गर्न सकेको छैन । बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँ केही समयमै छाउपडी प्रथा र बालविवाहमुक्त पालिका घोषणा गरेर महिनावारी भएका महिलामाथिको विभेद अन्त्य गर्ने बताउछन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap