बाजुरा मंसिर १६, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षका लागि आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ ।
उपचुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामिकार्तिकका अनुसार बिहान सवा ७ बजे मतदान सुरु भएको हो । बिहानैदेखि मतदानस्थलमा मतदान गर्ने मतदाताको लाइन लागेको छ । जिल्लाको एक पालिकामा मात्रै उपचुनाव हुन लागेकाले यसलाई जिल्लामै महत्त्वका साथ हेरिएको छ ।उपचुनावका लागि ९ वटा मतदान केन्द्र तोकिएको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि हुने उपचुनावमा ७ हजार ६० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।
गाउँपालिका उपाध्यक्षका लागि तीन जना उम्मेदवार छन् । एमालेबाट सुलोचनाकुमारी भण्डारी, नेपाली कांग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही चुनावी मैदानमा उत्रिएका छन् ।
Related