धनगढी माघ २६ ,कैलाली – फूलबारी बहुमुखी क्याम्पस, कैलालीको धनगढी उपमहानगरपालिका–१८,ले तलब व्यवस्थापन, जग्गा भोगाधिकार, र विश्वविद्यालयीकरणको माग गर्दै नेपाल सरकारलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। क्याम्पस प्रशासनले परराष्ट्र मन्त्री डा।
आरजु राणामार्फत सरकारको ध्यानाकर्षण गराउँदै शिक्षक तथा कर्मचारीलाई तलब उपलब्ध गराउन २ करोड रुपैयाँ अनुदानको आग्रह गरेको छ। ध्यानाकर्षण पत्रमा क्याम्पसको चार बिघा जग्गाको भोगाधिकार नामसारी, विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा विकास, विद्यार्थीहरूको बस सेवा, र सौर्य ऊर्जा जडानका लागि सहजीकरण गर्न माग गरिएको छ।
क्याम्पस प्रमुख बम बहादुर बमले संघीय, प्रदेश र स्थानीय सरकारको असहयोगका कारण क्याम्पसको अस्तित्व संकटमा परेको बताए। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुम्भ गिरीले क्याम्पसले ग्रामीण महिलाहरुलाई उच्च शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै, उच्च शिक्षाको पहुँच सुनिश्चित गर्न क्याम्पसको अस्तित्व जोगाउनु अपरिहार्य भएको बताए। उनले परराष्ट्र मन्त्री डा। आरजु राणामार्फत क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा समायोजन गर्न सरकारसँग आग्रह गरे। मन्त्री डा। आरजु राणाले क्याम्पसका मागहरू सम्बोधन गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्।