सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले धनगढी उपमहानगर पालिका वडा नं १४ फुलबारी स्थीत आसरा सुधार गृहको निरिक्षण गर्नु भएको छ ।
शनिबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी भरत बोहरा र मन्त्री साउँदले सयुक्त रुपमा सुधार गृहको निरीक्षण गर्नु भएको हो । सुधारगृह निरीक्षण क्रममा मन्त्री झपट साउँदले अहिले समाजमा लागु औषध सेवनकर्ता हरुबाट समस्या श्रृजना भएको भन्दै सुविधा सम्पन्न सुधार गृहले टेवा पुराउने बताउनुभयो ।
मन्त्री साउँदले यो काम राज्यको पनी हो, यसमा प्रदेश सरकारले तत्काल कस्तो सहयोग गर्न सक्छ, त्यसमा आफु तयार रहेको बताउनुभयो ।
लागुपदार्थ सेवन बाट दुव्र्यसनमा फसेका व्यक्तिहरुको सुधारको लागि डिआईजी बोहराको सक्रियतामा उक्त सुधार गृहको निर्माण गरीएको हो ।
समाजमा लागुपदार्थ सेवन कर्ताहरुकै कारण विभिन्न अपराधिक गतिविधि हुने गरेकोले त्यसको निराकरण गर्न सुधार गृह सञ्चालनको तयारी अन्तीम चरणमा पुगेको डिआईजी बोहराले बताउनुभयो ।
संघिय सरकारले बृद्धाश्रमको लागि भन्दै भवन निर्माण गरेर अलपत्र पारेपछि धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहेको निर्माणाधिन संरचनाको उपयोग गर्दै नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिमको व्यवस्थापनमा सो सुधारगृह सञ्चालनमा ल्याउन लागिएको हो ।
प्रहरी श्रीमती संघ सुदूरपश्चिमले धनगढी उपमहानगर पालिका संग २० बर्षको लागि भौतिक संरचना उपयोग गर्ने सम्झौता गरिसकेको छ । विभिन्न कुलतमा फसेका करिब २ सय जना राख्न सकिने क्षमता उक्त सुधार गृह संग रहेको डिआइजी बोहराले बताउनुभयो ।
पहिलो चरणमा ५० जना व्यक्तिहरुलाई राख्न लागिएको छ । उक्त सुधारगृहमा चौमासिक ६६ हजारका दरले शुल्क लाग्ने बताइएको छ । मासिक १४ हजार ५ सयका दरले प्रतिव्यक्ती शुल्क लगीने छ ।
सो सुधारगृहमा विभिन्न खालका योगा, तालिम, मनोरञ्जन, आवश्यक औषधी, विषय विज्ञ मनोमरामर्श, विशेषज्ञ मानसिक डाक्टर लगाएतको सुविधाहरु उपलब्ध गराईने छ ।
डीआईजी बोहराले सुदूरपश्चिमको कमाण्ड सम्हाले देखीनै लागुऔषध नियन्त्रण का लागि संघिय सरकार र स्थानीय पालिका संग समन्वय गरेर काम गरिरहनु भएको छ ।