निजामती सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारीहरुले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु, 


लेखक : सुन्दराञ्चल      साउन ३०, २०७९ मा प्रकाशित     
निजामती सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारीहरुले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु, 

३० साउन, काठमाडौं,  निजामती सेवाका पदहरुको पदसोपान हेरी वैज्ञानिक तलबमान निर्धारण गर्न र कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारीहरुले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।

निजामती कर्मचारीहरुको संयुक्त ट्रेड युनियन सन्जाल आन्दोलन परिचालन समितिको नामबाट संघर्षरत कर्मचारीहरुले आज ‘पे कमिसन’ (तलब आयोग) मा ट्रेड आफ्ना प्रतिनिधि पनि समावेश गराउन माग गर्दै सामान्य प्रशासन मन्त्री र अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छन् । यद्यपि समय भने निश्चित नभएको आन्दोलन परिचालन समितिका सदस्य लोकेन्द्र चौलागाईंले बताए ।

विगतमा राजपत्रांकित तहमा भएको भनिएको तलब समायोजनलाई कायम राख्दै निजामती सेवाका पदहरुको पदसोपान हेरी वैज्ञानिक तलबमान निर्धारण गर्न ट्रेड युनियन सम्मिलित तलब आयोग गठन हुनुपर्ने कर्मचारीहरुको माग छ ।

साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले तलब आयोग गठन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । यद्यपि तलब आयोग कसको नेतृत्वमा गठन भएको छ, त्यसका को-को छन् भन्ने खुलेको छैन ।

दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत नै कर्मचारीहरुले ‘कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर’ भनी लेखिएको प्लेकार्ड छातीमा टाँसेर आजदेखि कामकाज गर्दै छन् ।

आजदेखि भदौ २ गतेसम्म यसैगरी कामकाम गर्ने उनीहरुले बताएका छन् ।

भदौ १ गते ४ बजे सबै राजनीतिक दलका सचेतकहरुसँग संघीय निजामती सेवा ऐनको मस्यौदा तथा ऐनमा समेटिनुपर्ने विषयमा संयुक्त छलफल गर्ने भदौ २ गते दोस्रो चरणको आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उनीहरुले बताएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री शर्माले सबै राष्ट्रसेवक कर्मचारीहरुको तलब १५ प्रतिशत बढाउने घोषणा गरेका थिए । तर साउन १ गतेदेखि लागु हुने नयाँ तलबमान प्रस्ताव गर्दा अर्थ मन्त्रालयले अधिकृतदेखि माथिका पदहरुमा २४ प्रतिशतसम्म बढाइएको थियो ।

नायब सुब्बादेखि तलका पदहरुमा भने १५ प्रतिशतमात्र बढाएर प्रस्ताव गरेपछि आफूहरुलाई विभेद गरिएको भन्दै सुब्बाहरुले पेन डाउन लगायतका संघर्षका कार्यक्रम सुरु गरेका थिए ।

कर्मचारीहरुको दबाबपछि मन्त्रिपरिषद बैठकले  गरेको थियो ।

तर अहिले पनि माथिल्लो मर्यादामा रहेकाको तलब कम र तल्लो मर्यादामा रहेकाको तलब बढी भएकाले तलबमान मिलाउनुपर्ने र संघीय निजामती सेवा ऐनको मस्यौदामा कतिपय प्रावधान कर्मचारी मैत्री नभएकाले त्यसलाई संशोधन गर्नुपर्ने लगायतका माग राखेर कर्मचारीहरुले संघर्ष जारी राखेका छन् । अनलाइनखबर

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap