नयाँ-नयाँ प्रचार शैली अपनाउँदै‘म यस्तो गीत गाउँछु २’ टिम


लेखक : सुन्दराञ्चल      माघ १८, २०७८ मा प्रकाशित     
नयाँ-नयाँ प्रचार शैली अपनाउँदै‘म यस्तो गीत गाउँछु २’ टिम

काठमाडौं १८ माघ। कोरोना महामारीको सबैभन्दा बढी चपेटामा परेको चलचित्र हो सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको ‘म यस्तो गीत गाउँछु २’ । रिलिजका लागि प्रचार समेत सकेको समयमा यो चलचित्र पहिलो पटक पोष्टपोन्ड भयो ।

दोस्रो पटक चलचित्रको प्रचार मिति माघ १९ गतेलाई तोकिएको थियो । अर्थात्, यदि सबै कुरा ठीक भएको भए यो चलचित्र शुक्रबारबाट रिलिज हुने थियो ।

चलचित्रको प्रदर्शन मिति बारम्बार पोष्टपोन्ड हुँदा यसको निर्माणपक्षलाई केही लाख घाटा त भइसकेको छ । तर चलचित्रको टिमले रिलिजका लागि समय पाउँदा त्यसको फाइदा पनि उठाइरहेको छ ।

केही हप्ताअघि चितवन पुगेर चलचित्रको टिमले थारु संस्कृति झल्किने गरी प्रमोसनल गीतको भिडियो छायांकन गर्‍यो । थारु भाषामा नै तयार पारिएको गीतमा मुख्य कलाकारहरु पल शाह र पूजा शर्माले नृत्य गरे ।

यस्तै, यो टिमले आइतबार र सोमबार भक्तपुरमा नेवारी भाषाको गीतमा अर्को प्रमोसनल गीत तयार पारेको छ । चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्मा नेवारी भेषमा नै देखिएका छन् । अभिनेत्री तथा निर्मात्री शर्माका अनुसार अन्य केही भाषामा पनि भिडियो छायांकन गर्ने योजना गरिएको छ ।

चलचित्रको प्रचारका लागि तयार पारिएका गीत, ट्रेलरहरु पहिलो चरणको प्रचारमा नै सार्वजनिक भइसकेका छन् । यसैले अब चलचित्रलाई कसरी प्रमोसन गर्ने भन्ने चुनौती यसको टिमलाई छ । यही कुरालाई ध्यानमा राखेर चलचित्रका टिमले विभिन्न भाषामा प्रमोसनल गीत तयार पारिरहेको बताइएको छ ।

माघ १९ गतेबाट पनि पोष्टपोन्ड भएको चलचित्र अब कुन मितिमा रिलिज हुन्छ भन्ने निश्चित छैन ।अनलाइनखबर

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap