धनगढीफागुन १९। धनगढीमा आज देखि फागुन २१ गतेसम्म नेपाली साहित्य महोत्सव लाग्ने भएको छ । बुधबार आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले पत्रकार सम्मेलन गर्दै नेपाली साहित्य महोत्सव २०७८ बारे जानकारी दिए ।
प्रथम विश्व नेपाली साहित्य महोत्सव एक हप्ता सञ्चालन भएकोमा यस वर्ष भने कोभिडलाई मध्यनजर गर्दै तीन दिन सम्म मात्रै सञ्चालन हुने आयोजकले जानकारी दिए। महोत्सवको उद्घाटन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने भएको छसुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए।
‘काली–कर्णाली क्षेत्रको गौरव गाथालाई आत्मसात् गर्दै भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि हामीले प्रत्येक वर्ष महोत्सवको आयोजना गर्दै आएका छौँ’ समाजका अध्यक्ष जोशीले भने, ‘गत वर्ष विश्वभरका नेपाली भाषी साहित्यकारको सहभागितामा राष्ट्रपतिले महोत्सवको उद्घाटन गर्नुभएको थियो । हामीले यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिन खोजेका हौँ तर। यस वर्ष प्रदेशका मुख्यमन्त्रीले साहित्य महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस कार्यक्रमले सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने उनले बताए ।महोत्सव आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। यस वर्ष कोरोनाका कारणले देश भन्दा बाहिरका साहित्यकारहरू ल्याउन नसकेको र देशभित्रका कवि, लेखक, साहित्यकार, पत्रकार, कलाकार गरी महोत्सवमा विभिन्न ठाउँबाट दुई सय बढी साहित्यकारको उपस्थिती रहने उनको भनाइ छ। उनीहरुको उपस्थितीमा थुप्रै काव्य गोष्ठी पनि सञ्चालन हुने उपाध्यायले
बताए। गजल साँझ, सांगीतीक साझलगायतका कार्यक्रमको पनि आयोजना गरिएको उनको भनाई छ। यसअघि २०७६ सालमा प्रथम विश्व नेपाली साहित्य महोत्सव सम्पन्न भएको थियो । त्यस यता कोरोनाका कारणले दुई वर्ष महोत्सव रोकियो थियो।