धनगढी,१६ जेठ धनगढी उपमहानगरले ह्वाटस्एप नम्बर सार्वजनिक गरेको छ । नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि नगर प्रमुख गोपाल हमालले सोमवार पत्रकार सम्मेलन गरेर ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका हुन्।
‘यो नम्बर मसँग हुन्छ। नागरिकको गुनासो सुन्नलाई हो। विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएको छ भने कल गर्नुस्। म तुरुन्त कारवाहीको प्रक्रियामा जान्छु,’ उनले भने।
भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको निर्माणमा आफू लागेको बताउँदै उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्नसमेत अनुरोध गरे ।
यसैबीच नगरप्रमुख हमालले उपमहानगर नगरपालिकाका सूचना तत्काल उपलब्ध गराइने बताएका छन् । ‘कार्यपालिका संविधानभन्दा माथि छैन । सूचना दिनु हाम्रो दायित्व हो । हाम्रो प्रयास के रहन्छ भने नागरिकले सूचना माग्नुपर्ने होइन हामीले दिनुपर्ने संस्कारको थालनी गर्न चाहान्छौँ । सूचनाको लागि नगरपालिका धाउनु नपरोस् ।’