धनगढी जेष्ठ १९, बाजुरामा एकै घरका दाजुभाइ भारतमा बेपत्ता भएका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा वडा नम्बर ५ डोगडी बस्ने एकै घरका दाजुभाइ भारतबाट नेपाल फर्किने समयमा पौडी जिल्लाको पौवाबाट बेपत्ता भएका हुन् ।
खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीया अर्जुन र ३४ वर्षीया टेकबहादुर रावत भारतको उत्तराखण्ड राज्यको पौडी जिल्लाको पावौबाट घर फर्किँदै गर्दा बेपत्ता भएको उनका आफन्तले जानकारी दिएका हुन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का स्थानीय धनबहादुर रावतले उनीहरू यही जेठ ८ गते त्यहाँबाट हिँडेको ३ घण्टापछि सम्पर्कमा नआएको बताए ।
भारतबाट हिँडेको ४ दिनसम्म पनि उनीहरू घरमा नपुगेपछि मात्र उनीहरू बेपत्ता भएको परिवारले थाहा पाएका हुन् । भारतमा दुई तीन दिनमै बाजुरा पुग्नु पर्ने हो तर उनीहरू अझै घरमा आइपुगेका छैनन् । भारतमा उनीहरू सँग बस्ने अन्य आफन्तलाई खबर गर्दा पनि उनीहरू यताबाट घरमा गएको बताएका छन् ।
दाजुभाइ गत मङ्सिरमा कामको खोजीका लागि भारत गएका थिए । कामको खोजीमा गएका दाजुभाइ अहिलेसम्म घरमा नफर्किँदा उनका घरपरिवार चिन्तित छन् । खप्तड छेडेदह गाउँपालिका अधिकांश स्थानीय घरपरिवारको पालन पोषण गर्नका लागि भारतको पौडीमा नै कामको खोजीमा जाने गरेकोले उनीहरू पनि त्यसै ठाउँमा कामको खोजीमा गएका थिए ।
२०८० जेठ ८ गतेदेखि बेपत्ता भएका दाजुभाइको खोजी कार्यका लागि विभिन्न निकायसँग पहल भइरहेको छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले जानकारी दिईन । दाजुभाइ हराएको १० दिनसम्म कतै पत्ता लागेको छैन । उनीहरूको खोजी कार्यका लागि गाउँपालिकाले उनको आफन्तलाई सहयोग गरिरहेको उपाध्यक्ष नाथले बताईन् ।