त्रिविले विद्यार्थीहरुमाथि हुने यौनजन्य दुर्व्यवहारको उजुरी सुन्‍नेअधिकारी तोक्यो


लेखक : सुन्दराञ्चल      बैशाख ८, २०७९ मा प्रकाशित     
त्रिविले विद्यार्थीहरुमाथि हुने यौनजन्य दुर्व्यवहारको उजुरी सुन्‍नेअधिकारी तोक्यो

काठमाडौं ८ वैशाख, । त्रिवि कार्यकारी परिषदले त्रिभुवन विश्वविद्यालयभित्र अथवा क्याम्पस संस्थान परिसरभित्र कर्मचारी वा अध्ययनरत विद्यार्थीहरुमाथि हुने यौनजन्य दुर्व्यवहारको उजुरी सुन्‍ने सुनुवाई अधिकारी तोकेको छ ।

त्रिवि कार्यकारी परिषदको २०७८ साल चैत २५ गते बसेको बैठकको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यलय वा यसको परिसर वा क्याम्पस, अनुसन्धान केन्द्र, अध्ययन संस्थान, संकाय वा यस अन्तर्गतको परिसरभित्र कसैलाई यौनजन्य दुर्व्यवहार गरेमा वा गराएमा उजुरी सुन्ने अधिकारीको रुपमा सम्बन्धित निकाय प्रमुखलाई र केन्द्रीय कार्यलयको हकमा शिक्षाध्यक्षलाई उजुरी सुन्ने अधिकारीको रुपमा तोकेको त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै प्रकारको यौनजन्य दुर्व्यवहार जस्ता कार्य गरे पिडित कर्मचारी, सेवाग्राही वा निजका तर्फबाट जो सुकैले त्यस्तो व्यक्ति उपर व्यवस्थापक समक्ष १५ दिनभित्र लिखित वा मौखिक गुनासो गर्न सक्नेछ र त्यस्तो गुनासो परेमा व्यवस्थापकले सो सम्बन्धमा तुरुन्त छानबिन गर्नेछ ।’

यस्तै दोषीलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१ अन्तर्गत कारबाही हुने निर्णय भएको सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap