काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएकी छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले विश्वविद्यालयसम्बद्ध पक्षले गहन समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्नेतर्फ लाग्न आग्रह गरिन् ।
जनताको कर र जनताका छोराछोरीले तिरेको ‘शुल्क’बाट चल्ने संस्थाले आफ्नो जिम्मेवारी भुल्न नहुने उल्लेख गर्दै मन्त्री भुसालले साधन र स्रोतलाई सही तवरले सञ्चालन तथा व्यवस्थापन गरेर फाइदा लिनुपर्ने बताइन् । उनले भनिन्, “भिसी र रेक्टरकोमा ताला लागेको ६८ दिन भयो रे, एक दिन पनि विलम्ब नगरी समस्याको समाधान खोज्नुहोस् ।”
मन्त्री भुसालले भनिन्, “अधिकांश सार्वजनिक क्षेत्रका जनशक्ति त्रिविकै छन् । देशको विकासका निम्ति आवश्यक पर्ने जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान छ ।”