काठमाडौं २५ माघ, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताएका छन् ।
यही कुरा नबुझ्दा विगतमा माओवादी फुटेको भन्दै उनले पछि कुरा बुझेकाहरु पार्टीमा फर्किन थालेको बताए ।
‘नेतृत्वले अलि परसम्म हेरेर मुलुक र जनताको हितमा आफ्नो पार्टी र वर्गको हितमा घुम्ने कार्यनीति लिएर आयो । साथीहरु त्यो घुम्तीहरुमा झुक्किनुभयो र छुट्नुभयो । यो कुरालाई बुझ्नु भएन,’ प्रचण्डले भने ।
क्रान्ति गरिन्छ भन्दै माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किने क्रम जारी रहेको भन्दै उनले पूर्वमाओवादी नेताहरुलाई एकै ठाउँमा आउन आह्वान गरे । उनले भने, ‘साथीहरु घर फर्किनुभयो, धेरै राम्रो भयो । म अरु साथीहरुलाई पनि घर फर्किन भन्छु । एकै ठाउँमा आऔं ।’
ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रमबाट विप्लव नेतृत्वको नेकपाको जुम्ला इञ्चार्ज तिरुवासहित जिल्ला कमिटीका सदस्यहरु माओवादी केन्द्र प्रवेश गरेका छन् ।