चप्पल पड्काएर आएका नेताहरू अहिले अर्बपति, कसरी ?


लेखक : सुन्दराञ्चल      भदौ ९, २०८० मा प्रकाशित     
चप्पल पड्काएर आएका नेताहरू अहिले अर्बपति, कसरी  ?

भदौ ९, धनाढ्यहरूको सम्पत्ति गणना गर्ने प्रसिद्ध म्यागेजिन फोर्ब्सको सूचीमा परेका नेपालका  अर्बपति विनोद चौधरीको गत वर्ष मात्रै ४० अर्ब नेपाली रूपैयाँ सम्पत्ति थपिएको छ । उनको कुल सम्पत्ति २०० अर्ब नाघिसकेको छ ।

चौधरी व्यापारीका साथै नेता पनि हुन् । कांग्रेसका बहालवाला सासंद हुन् । राज्य व्यवस्थाको नियम कानुनको परिधिमै रहेर विनोदले त्यो विध्न सम्पत्ति आर्जन गरे होलान् । तर एउटा प्रश्न के हो भने विनोदको गत वर्ष ४० अर्ब सम्पत्ति थपिँदा उनको जीवनमा के त्यस्तो परिवर्तन आयो होला ? एउटा व्यक्ति, परिवारलाई कति सम्पत्ति भए पुग्ला ? र, अर्को प्रश्न विनोदको सम्पत्ति थपिँदा कतिका सम्पत्ति खुम्चिए होलान् ?

संविधानमै समाजवाद उन्मुख अर्थतन्त्रको उडान भरेको नेपालमा यो खालको बहस किन भएन ? नयाँ आएका दल र तिनका सांसदहरूले बढ्दो असमानता, गरिबी, सहरी गरिबीको विषयमा किन आवाज उठाउँदैनन् ? रविहरू किन मौन छन् ? यसै नै विश्व प्रसिद्ध धनी व्यक्तिमध्येमा कहलिएका विनोदको थपिएको ४० अर्ब सम्पत्ति गरिबहरूको भागमा परेको भए हजारौँ गरिबले मुक्ति पाउँथे ? राज्यको राजस्व आम्दानी ४० अर्ब थपिएको भए राम्रा ४०–५० वटा अस्पताल नै बनाउन सकिन्थ्यो ।

त्यस कारण सीमित व्यक्तिले आफ्नो अधीनमा असीमित सम्पत्ति थुपार्दा लाखौँ मान्छेले छाना, नाना, स्वास्थ्य उपचार र आधारभूत सेवा नपाएर तड्पिएका छन् । त्यही भएभरको सम्पत्ति थुपारेका व्यक्ति राजनीतिमा आएर गर्छन् के ? गर्छन् कसका लागि ? उनीहरूले आफू होइन देश बनाउँछन् भन्ने आधार के ? राजनीति भनेको त उच्च तहको समाज सेवा न हो । समाज सेवाको पनि उच्चतम रूप हो । भएभरका सम्पत्ति थुपारेर लाखौँ मान्छेलाई हेरेको हेरै पार्ने विनोद चौधरीहरूले राजनीति गर्नुको अर्थ र उपादेयता के ? देशकै सबैभन्दा धनी व्यक्ति उनी हरेक वर्ष सबैभन्दा बढी राज्यलाई कर तिर्ने पहिलो व्यक्ति किन बन्दैनन् ?

एक हिसाबले हेर्दा विनोद चौधरीले त राजनीति होस् या व्यापार सबै देखाएरै गरेका छन् । हो उनले धेरैलाई रोजगारी पनि दिएका छन् । राज्यलाई केही कर पनि तिरेका छन् । उद्यमशीलता सिकाएका छन् । उनले जे गरेका छन् कानुनले दिएकै काम गरेका छन् । ज्ञान, सीप र क्षमता प्रदर्शन गरेर आफ्ना लागि गरेका छन् । तर यहाँ राजनीतिभित्रका आडम्बरीहरूको चर्तिकला सुन्दा  घिन पनि लाग्छ । राजनीतिका सुरुवाती दिनहरूमा चप्पल पड्काएर आएकाहरू अहिले करोड, करोडका गाडी चढ्ने, अर्बौँ सम्पत्तिका मालिक भएका छन् । धेरै जसो तस्करी, जग्गा दलाली, सहकारी ठगी, भ्रष्टाचारीहरू साना–ठुला नेता नै मुछिएका देखिन्छन् । त्यो छिपेको छैन, बाहिर आइसकेको छ ।

चप्पल पड्काउँदै विकल्पविहीन भएपछि राजनीतिमा पसेकाहरूको अहिले सहरमा अलिशान महलहरू छन् । बैङ्कभरी ब्यालेन्स छ । धेरै कम्पनीहरूमा सेयर छन् । तर उनीहरूको त्यसको स्रोत के हो ? बिनापसिना, बिनापरिश्रम, जनता चुसेर थुपारिएका नेताहरूका अपारदर्शी सम्पत्तिको छानबिन गर्ने कि नगर्ने ?

नेपालको राजनीति गर्ने नेताहरू कतिसम्म भने कि उनीहरू सत्तामा पुगेपछि मन्त्री–प्रधानमन्त्री भएपछि आफ्नो सम्पत्ति विवरणसम्म सार्वजनिक गर्नसम्म डराउँछन् । एक त एकै खालका व्यक्तिहरू अनेकौँ पटक मन्त्री, सासंदमा दोहोरिएका हुन्छन् । अर्को त्यसरी पदमा पुग्दासम्म आफ्ना सम्पत्ति विवरण सार्वजनिक गर्दैनन् । त्यसरी सम्पत्ति सार्वजनिक नगर्दा अकुत कमाइएका सम्पत्ति अरूले थाहा नपाउने भए, अर्को भोलि कमाउने बाटो पनि रहँदैन भन्ने लाग्ला । सरकारको नेतृत्व गर्नेहरूले नै सम्पत्ति विवरण सार्वजनिक नगरेपछि पदमा पुग्ने अन्यले, कर्मचारीहरूले गर्लान् त ? विभिन्न पेसा व्यवसाय गर्नेहरूले गर्लान् त ? सरकारी पद धारण गर्नेहरूले पद ग्रहण गर्दाको आफ्नो सम्पत्ति सार्वजनिक नगरेपछि भ्रष्टाचारको, अनियमितताको छानबिन कसरी गर्ने होला ? नेपालमा राजनीतिलाई राजनीति हैन, लाजनीति बनाइएको छ । राजनीति समाज सेवाको उच्चतम रूप नभएर कमाउने सर्वोत्तम काइदा भएको छ । यस्तो भएपछि आम देशवाशीले, निमुखाले दुःख नपाए कसले पाउँछ ? त्यस कारण जनताले भोट हाल्दा नेताका सबै हिसाबका आनीबानी तराजुमा जोख्न जरुरी देखिन्छ ।

अहिलेको प्रचण्ड सरकारको मन्त्रीमण्डलका सदस्यहरूको सम्पत्ति कति छ, बाहिर आएको छैन । तर नेताहरूका सम्पत्ति कति हुन्छ भन्ने एउटा सानो उदाहरण छ । २०७५ सालमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदाका केही मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई हेर्न सकिन्छ । सो बेला सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरमा डेढ रोपनी जग्गामा निर्मित तीनतले दुईवटा घर, झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा र श्रीमतीसहितको गरेर विभिन्न बैङ्कमा राखिएको कुल ७७ लाख रुपैयाँ र १७ तोला गरगहना भएको देखिन्छ । त्यसै गरी त्यतिबेलाका रक्षामन्त्री ईश्वर पोखरेलको काठमाडौँको टोखामा ३३ आना जग्गामा बनेको ३ तले घर, ९ तोला सुन र २५ तोला चाँदी र श्रीमतीसहितको गरी १३ लाख ४० हजार नगद र विभिन्न कम्पनीमा सेयर रहेको देखिन्छ ।

त्यसैगरी त्यो बेलाका अर्थमन्त्री युवराज खतिवडाको विभिन्न बैङ्कमा १ करोड ५८ लाख बैङ्क ब्यालेन्स, काठमाडौँमा ३३ आना जग्गा, श्रीमतीको नाममा झापा, दोलखा, भक्तपुरमा जग्गा रहेको देखिन्छ । त्यसैगरी त्यतिबेलाका  पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ललितपुरमा एक र धनुषामा २ गरी ३ वटा घर, ७ ठाउँमा जग्गा, ५२ तोला सुन, ५ वटा कम्पनीमा ४० करोडभन्दा बढीको सेयर रहेको देखिन्छ । त्यस्तै त्यति बेलाका युवा तथा खेलकुद मन्त्री जगत्बहादुर विश्वकर्माको ५० तोला सुन र २० लाख बैङ्कमा रहेको देखिन्छ । त्यसै गरी उद्योगमन्त्री भएका मातृका यादवको ५ लाख ५२ ८ सय ७२ नगद, १६ तोला सुन, सिरहा, धनुषा र ललितपुरका विभिन्न स्थानमा जग्गा रहेको देखिन्छ । त्यस्तै त्यतिबेलाका कानुन न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको ३० तोला सुन, १ लाख २८ हजार ९ सय ४२ नगद र १५ लाख सेयर, श्रीमतीको नाममा सहित सिन्धुपाल्चोक, मोरङ र काठमाडौँमा जग्गा रहेको उनीहरूले नै सार्वजनिक गरेका सम्पत्ति विवरण थिए ।

जाडोमा न्यानो ओढ्ने र दुई छाक खान पनि धौधौ पर्ने कर्णालीका जनताले आफूलाई शासन गर्ने नेताहरूको ५०औँ तोला सुन, लाखौँ करोडौँ बैङ्क ब्यालेन्स, एकभन्दा बढी घर भएको थाहा पाए के सोच्दा हुन् । राजनीति गर्नेहरूले सुन सङ्ग्रह, नगद सङ्ग्रह र घर तथा राम्रा गाडीहरूको जगेडा, आवश्यकताभन्दा बढी जग्गा जमिनको लोभलालच गर्छन् भने उनीहरूले राजनीति चाहिँ कसका लागि गर्छन् ? एउटा घर, केही तोला सुन, केही लाख नगद ब्यालेन्स स्वाभाविक होला । तर ५० औँ तोला सुन दर्जनौँ स्थानमा घरघडेरी, एकभन्दा बढी विलासी गाडी किन आवश्यक हो ? मार्क्स, माओ, गान्धी, नेल्सन मन्डेला वा बीपीहरू जिउँदा थिए भने यसरी सम्पत्ति थुपार्ने नेताहरूको सम्बन्धमा के भन्दा हुन् । चप्पल पड्काउँदै विकल्पविहीन भएपछि राजनीतिमा पसेकाहरूको अहिले सहरमा अलिशान महलहरू छन् । बैङ्कभरी ब्यालेन्स छ । धेरै कम्पनीहरूमा सेयर छन् । तर उनीहरूको त्यसको स्रोत के हो ? बिनापसिना, बिनापरिश्रम, जनता चुसेर थुपारिएका नेताहरूका अपारदर्शी सम्पत्तिको छानबिन गर्ने कि नगर्ने ? अब ०४६ सालयता सार्वजनिक पदमा पुगेकाहरूको सबैको सम्पत्तिको स्रोत छानबिन गर्न जरुरी छ । मुलुकमा अपारदर्शी धनले छाया अर्थतन्त्रको अकार अत्यन्त बढेर गएको छ । देशको जीडीपी हाराहारी अनौपचारिक अर्थतन्त्र (कालो धन) पुगिसकेको अवस्था छ । त्यस कारण व्यवसाय गरेर राजनीतिमा आएकाहरूले पनि राज्यलाई इमानदार भएर कर तिरे कि तिरेनन् ? चप्पल पड्काएर राजनीतिमा आएकाहरूले पनि कहाँबाट धन थुपारे त ? त्यसको खोजी अब हुनै पर्छ । जनता मेरेका मरै छन् । नेताहरू धनी भइरहेका छन् । जहाँ जहाँ ठगी, तस्करी, भ्रष्टाचार, किर्तेका कुरा आउँछ त्यहाँ कुनै कुनै बडे छोटे नेताकै संलग्नता देखिन्छ । अब त्यसको छानबिन हुने कि नहुने ? यो लोकतन्त्र, गणतन्त्र जनताको हो । सीमित नेता, तिनका आसेपासे मोटाउने र आमजनता दुब्लाउने, महँगी र अभावको चपेटामा पर्ने अवस्थाको अन्त्य हुनै पर्छ । इमानदार उद्यमी व्यवसायीहरूले, विकास र समृद्धिका सपनाहरू देख्दादेख्दै टोलाएका जनताका रगत र पसिनाले सिर्जित सरकारी कोषहरू दोहन हुनु हुँदैन । कसैका लागि विलासिताको माध्यम त्यो कोष हुनु हुँदैन ।

यो तथ्य पुराना राजनीतिक दलहरूसँग आहात भएका जनताको मनोविज्ञान बुझेर नयाँ आएको पार्टीका नेताहरूले झन् ख्याल गर्नुपर्छ । उनीहरूलाई जनताले दिएको मत पुरानासँगको जनताको रोष प्रकट हो । नयाँहरूले केही गरेर देखाउन सकून् । राजनीतिलाई करियर, वादविवादको प्लेटफर्म अथावा फेसन ठान्ने होइन । यो त आफ्ना लागि नभएर अरूका लागि, देशका लागि, त्यागका लागि समर्पण गरिने चिज हो । नयाँहरूले त्यो तथ्य बुझून् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap