झापा २ चैत,। कोरोना भाइरस सङ्क्रमणदर झापामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् ।
जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए । त्यसबाट विगतमा मनग्य आम्दानी गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि चिन्तित बनेका हुन् । दमक नगरपालिका–३ मा योङहाङ एग्रो फार्म प्रालिले दैनिकजसो ५० किलो बढी कुरिलोको टुसा उत्पादन गर्दै आएको छ । कोभिडको संक्रमण घटेसँगै कुरिलोको टुसा बजारमा बिक्री हुन छाडेको प्रालिका सञ्चालक नारायण योङहाङले बताए ।
योङहाङले दैनिकजसो उत्पादन हुने कुरिलो स्थानीय बजारमा मात्र खपत नहुँदा र जिल्लाबाहिर बजारको विस्तार गर्न नसक्दा समस्या उत्पन्न भएको बताए । उनले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभई पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत जैविक हुने भएपनि अन्य तरकारीको तुलनामा महँगो हुँदा उपभोक्ता खासै आकर्षित नभएको बताए ।