कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज


लेखक : सुन्दराञ्चल      कार्तिक १८, २०७९ मा प्रकाशित     
कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज

१८ कात्तिक, काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आजै घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह गराइदिने प्रचलन पनि छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ । त्यसैले विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।

चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा–टाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ ।

बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको घुइँचो लागेको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिए । भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति २ बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो ।

नारायणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिहान ७ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजा आजा एवं दर्शन गरेको उनले बताए । साढे सात बजेदेखि सवा आठ बजेसम्म बूढानीलकण्ठको विशेष पूजाका लागि मन्दिर दर्शनार्थीका लागि बन्द गरिएको मठले जनाएको छ ।

बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्ल पूर्णिमा कात्तिक २६ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत बूढानीलकण्ठमा घुइँचो लाग्छ । मठले प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसर पारेर श्रीमद्भागवत कथा वाचन गराउने गरेको छ । यो कार्यक्रम गत कात्तिक १५ गतेदेखि नै सुरु भएको जनाइएको छ ।

तुलसीको विशेष पूजासहित विवाह गरिँदै

आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि पूजाआजा सुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको पुजारी शिवप्रसाद पौडेलले बताउनुभयो । जोरपाटीस्थित नारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्रका विभिन्न नारायण मन्दिरलगायत देशभरका नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ ।

नेपालीले आजै घर–घरमा तुलसीको विशेष पूजा गर्दैछन् । आज विशेष पूजा गरी दामोदरसँग तुलसीको विवाह गरिन्छ । हरिबोधिनी एकादशीका अवसरमा दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा मेला लाग्ने भएकाले आज स्थानीय पर्व बिदा दिइएको नगरपालिकाका सूचना अधिकारी दीपकुमार केसीले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

यसैगरी बूढानीलकण्ठ नगरपालिकाले पनि आज स्थानीय पर्व बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा उल्लेख छ । रासस

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap