काठमाडौं २२ पुस । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको परीक्षा एक वर्षपछि शनिबार (भोलि) पुनः लिने भएको छ । यो विषयको परीक्षा २०७८ साल पुस २७ गते पनिकाले लिएको थियो ।
क्याम्पसले सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म सनिबार बिहान ८ बजेदेखि परीक्षा हुने भएकोले परीक्षामा सहभागी हुन भनेर मोबाईलमा मेसेज पठाएको विद्यार्थीहरु बताउँछन् मेसेज आएपछि क्याम्पसमा फोन गरेर बुझ्दा उत्तरपुस्तिका हराएकोले पुनः परीक्षा लिन लागेको भन्ने जवाफ पाएको एक विद्यार्थी बताउँछिन् । उनी भन्छिन् ‘नतिजा आउन ढिला भएर तनाव भईरहेको बेला फेरि दिनुपर्ने भन्दा कस्तो होला । उनीहरुको लापरबाहीको सजाय हामीले भोग्नुपर्ने कस्तो अन्याय हो ।’
परीक्षा नियन्त्रण कार्यलयले झापाको दमक बहुमुखी क्याम्पसको विद्यार्थीको मात्रै लिने जनाएको छ । सह-परीक्षा नियन्त्रक डा.घनश्याम ठाकुरले झापाको एक क्याम्पसको मात्रै समस्या भएर लिन लागेको बताए । उनले भने ‘त्यहाँको क्याम्पसको समस्या भएर लिन लागिएको हो ।’ किन र कस्तो समस्या भएको हो भन्ने चाँहि उनले खुलाउन चाहेनन् ।
दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.नेत्रबहादुर बुढाथोकीले पनिकाले परीक्षा लिने जानकारी दिएको तर किन पुन लिन लागिएको भनेर नभनेको बताउँछन् ।
क्याम्पसका एक शिक्षकले भने उत्तरपुस्तिका हराएकोले डीन कार्यलयबाट तपाईंहरुको परीक्षा केन्द्रबाट सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका हराएकोले फेरि परीक्षा सन्चालन गर्नु भन्ने निर्देशन आएको बताए । उनले भने ‘नतिजा ढिला आयो भन्दै विद्यार्थीहरु आत्तिसकेका थिए अब झन फेरि दिन पर्दा मानसिक रुपमा असर अवश्य परेको छ ।’
परीक्षा नियन्त्रण कार्यलय बल्खुले बीबीएस चौथो वर्षको परीक्षा २०७८ साल पुस २० गतेदेखि माघ ४ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।