काठमाण्डौं ९असार,  । इन्धनको मूल्य बढेसंगै खाद्यान्न र तरकारीको मूल्य पनि आकासिएको छ । बजारमा पर्याप्त आपूर्ति हुँदाहुँदै पनि हरियो तरकारीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिनाको अवधिमा हरियो तरकारीको मूल्य किलोमै ९३ रुपैयाँसम्म बढेको छ । आलु, प्याज, कागतीको मूल्य भारतबाटै बढेर आएको समितिको भनाई छ । कालीमाटीमा भित्रिने तरकारीमध्ये ३५ देखि ४० प्रतिशतसम्म भारतबाटै आयात हुन्छ । एक महिना अवधिमा रातो आलु प्रतिकिलो ३६.१३ बाट बढेर ४४.२५ रुपैयाँ पुगेको छ । प्रतिकेजी ३३.२८ रुपैयाँ पर्ने सुकेको प्याज एक महिनामै बढेर ३९.२२ रुपैयाँ पुगेको छ । समितिका अनुसार १ महिनाअघि किलोको ७५.७९ रुपैयाँ पर्ने गाजर ८९ रुपैयाँ भएको छ । त्यस्तै सो अवधिमा तिते करेला प्रतिकेजी २५. ९६ रुपैयाँबाट बढेर ३२.४३ रुपैयाँ पुगेको छ । प्रतिकेजी ३६.१० रुपैयाँ पर्ने लौका बढेर ५०.४८ रुपैयाँमा किन्नुपर्ने बाध्यता छ । खुद्रामा पसलैपिच्छे फरक फरक मूल्य कायम छ ।