धनगढी: मंसिर १२, सुदूरपश्चिम प्रदेशमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिममा रिक्त रहेका पाँच स्थानमा पाँच वटा पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतपत्रसहितका निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याइसकेको जानकारी दिए । ‘‘निर्वाचन अधिकृतले १३ गतेदेखि मतदानस्थलमा कर्मचारी खटाउनुहुन्छ,’’ उनले भने, ‘‘सोही राति १२ बजेदेखि मौन अवधि पनि सुरु हुन्छ ।’’ निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न पाइँदैन । पाँच वटा वडा अध्यक्षका लागि हुने उपनिर्वाचनका लागि १८ वटा मतदान केन्द्र तोकिएको छ ।