हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्युको घटनाले दार्चुलाका दुई गाउँ शोकमा


लेखक : सुन्दराञ्चल      अशोज २३, २०८० मा प्रकाशित     
हमासले  इजरायलमा गरेको आक्रमणमा परी मृत्युको घटनाले  दार्चुलाका दुई गाउँ शोकमा

आश्विन २३, इजरायलमा हमासले गत शनिबार गरेको आक्रमणमा परी मृत्यु हुने १० जना नेपाली विद्यार्थीमध्ये दुई जना दार्चुलाका परेका छन् । घटनाको खबरपछि उनीहरुका आफन्तसँगै गाउँ नै शोकमग्न छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका मालिकार्जुन गाउँपालिका-४ हुनैनाथका लोकेन्द्रसिंह धामी र लेकम गाउँपालिका-५ रिठाचौपाताका दीपेशराज विष्टको निधनले गाउँ शोकमा डुबेको हो ।

चाडपर्वको मुखमा घरको जेठो छोरा गुमेको खबर सुनेपछि दीपेशराजकी आमा पार्वती अचेत अवस्थामा छिन् । २० वर्षअघि श्रीमान गुमाएकी पार्वतीले निकै कष्टले छोरा हुर्काएकी थिइन । छोराको निधनको खबर पाएपछि बेहोस भएकी उनलाई अस्पताल भर्ना गरिएको छ । दार्चुलाबाट महेन्द्रनगर जान भनेर हिडेकी विष्टकी आमा बेहोस भएपछि गोकुलेश्वरमा स्लाइन पानी दिएर भर्ना गरिएको छ ।

पढाइसँगै कमाउने रहरले इजरायल पुगेका दीपेशले पहिलो तलब पनि पाएका थिएनन् । उनले असोज ३ गतेदेखि काम सुरु गरेका थिए । विदेश गएको एक महिना हुन नपाउदै अचानक मृत्युको खबरले परिवारसँगै उनको टोल स्तब्ध छ । २४ वर्षीय दीपेशराज घरका जेठा छोरा थिए । छोराको मृत्युको खबरले पुरै परिवार विचलित भएको दीपेशका काका केशव विष्टले बताए ।

त्यस्तै मालिकार्जुन-४ हुनैनाथका २४ वर्षीय लोकेन्द्रसिंह धामीको मृत्युको खबरले घरपरिवार विचलित अवस्थामा रहेको आफन्त एकेन्द्रसिह धामीले बताए । लोकेन्द्रको घरमा हजुरआमा, आमाबुवा, श्रीमती‚ चार वर्षको छोरी र डेढ वर्षको छोरा छन् । लटिनाथ मावि चन्दनपुर चौपाताबाट आईएस्सी एजी गरेर बीएस्सी एजी पढ्न लोकेन्द्र सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस टिकापुर पुगेका थिए । गत महिना थप पढाइसँगै कमाइ पनि हुनेमा उनी इजरायल जाने छनोटमा पर्दा परिवार हर्षित थियो । आइतबार एक्कासि मृत्युको खबर सुन्दा परिवारसँगै गाउँ नै शोकमा छ ।

उनीहरुको शव ल्याउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । दीपेश र लोकेन्द्रका घरमै पुगेर परिवारलाई उनले सान्त्वना दिएका छन् । पीडित परिवारले जतिसक्दा चाडो शव नेपाल ल्यादिन आग्रह गरेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap