नेपाल कति बन्यो, कति बिग्रियो’ यसतर्फ देश चलाउनेहरूको बेलैमा ध्यान जाओस्! एक डाक्टरको कथा


लेखक : सुन्दराञ्चल      अशोज १७, २०८० मा प्रकाशित     
नेपाल कति बन्यो, कति बिग्रियो’  यसतर्फ देश चलाउनेहरूको बेलैमा ध्यान जाओस्! एक डाक्टरको कथा

‘असोज १७, नेपाल कति बन्यो, कति बिग्रियो’ बहस शृंखलाअन्तर्गत केही समयदेखि विभिन्न क्षेत्रका विज्ञले लेखेका समीक्षात्मक लेखहरू प्रकाशित हुँदै आएका छन्। ती लेखले राजनीतिक, आर्थिक र सामाजिक रूपमा हासिल भएका परिवर्तनको एउटा तस्बिर उजागर गरेको छ।

म नेपाल बन्यो कि बनेन वा कति बन्यो, कति बिग्रियो भनेर व्यक्तिगत रूपमा भन्न सक्दिनँ। एक चिकित्सकका रूपमा एक दशकभन्दा बढी समय नेपालमा काम गर्दाको आफ्नो भोगाइ मात्र लेख्दैछु।

मैले सरकारी र निजी दुवै थरी अस्पतालमा काम गरेँ। आफैं पोलिक्लिनिक खोलेर पनि चलाएँ। गाउँ, सहर दुवै क्षेत्रको स्वास्थ्य सेवामा सरिक भएँ। यसरी काम गर्दा मैले देखेका र भोगेका अनुभवले यो बहसलाई फरक कोणबाट हेर्न सहयोग पुग्छ भन्ने मलाई लाग्छ।

एक दशकभन्दा बढी नेपालमा काम गरेपछि मैले देश छाडेको छु। करिब एक महिनादेखि म बेलायतमा चिकित्सककै रूपमा काम गर्दैछु।

कुनै बेला जे जस्तो गरे पनि नेपालमै गर्छु, नेपाली जनताकै सेवा गरेर बस्छु, पुछारमा रहेको नेपालको स्वास्थ्य अवस्था सुधार्न सक्दो प्रयास गर्छु भनेर सोच्ने र त्यसैअनुरूप काम गर्ने ममा ‘देश छाड्छु’ भन्ने परिवर्तन कसरी आयो?

देश छाड्ने निर्णय गरेर बेलायत आएको महिना दिनसम्म पनि मेरो दिमागमा यही प्रश्न घुमिरहेको छ।

त्यसैले यही प्रश्नबाट सुरू गरौं — आखिर मैले किन देश छाडेँ?

यो एकदिनमा परिवर्तन भएको सोच होइन। एकछिनमा चालिएको कदम पनि होइन। देशमै बसेर गाउँ, सहरका साना ठूला, सरकारी-निजी र मेडिकल कलेजसमेत गरी सबै किसिमका अस्पतालमा वर्षौं काम गरेर बटुलेको अनुभवले नै मलाई यो कदम चाल्ने बाटोसम्म ल्याएको हो।

यसबीच मैले आफ्नै सानो पोलिक्लिनिक पनि चलाएँ। त्यसको अनुभवले पनि मलाई विदेशकै बाटो देखायो।

हुन त एउटै घटनाबाट फरक-फरक मान्छेले फरक-फरक पाठ लिएका हुन्छन्। मेरोजस्तै अनुभव भोगेर पनि फरक बाटोमा हिँडिरहेका साथीभाइ थुप्रै छन्। त्यसैले यो मेरो नितान्त व्यक्तिगत अनुभव हो। मैले आफ्नो अनुभव सुनाएर अरूले पनि यस्तै गर्नुपर्छ भन्न खोजेको होइन।

अनुभव आफ्नो, जिन्दगी आफ्नो। प्राथमिकता आ-आफ्नै। त्यसैले निर्णय पनि आफ्नै हुनुपर्छ।

मैले देश छाडेको हुँ, देशलाई माया गर्न छाडेको होइन। कसले भन्यो देशमा बसेकाले मात्र देशलाई माया गर्छन् भनेर! वा, देशलाई माया गर्न देशमै बस्नुपर्छ भनेर!

पहिले मलाई पनि लाग्थ्यो — यो देशलाई मेरो सीप र ज्ञानको आवश्यकता छ; नेपालीहरू झाडापखाला, निमोनिया र क्षयरोगले मरिरहेका छन्, म कसरी विदेशीहरूका अल्सरेटिभ कोलाइटिस, सिस्टिक फाइब्रोसिस र डाइभर्टिकुलाइटिस (नेपालमा भन्दा विदेशमा बढी देखिने रोगहरू) रोगको उपचार गर्न जाऊँ?

यही सोचले मलाई लामो समय बिदेसिन दिएन।

सन् २०१० मा अमेरिकाको मेडिकल लाइसेन्स परीक्षा (युएसएमएलई) दिएर एक वर्ष उतै बसे पनि म नेपाल फर्केँ। मैले युएसएमएलईको पहिलो, दोस्रो र तेस्रो परीक्षा दिइसकेको थिएँ। अमेरिकामै रेजिडेन्सी पाएको भए पनि त्यो सकेर नेपाल फर्किन्छु भन्ने सोच थियो। तर एकै प्रयासमा रेजिडेन्सी पाइनँ। त्यसैले पछि फर्किने हो भने अहिल्यै किन नफर्किने भन्ने सोच आयो।

म फर्किएँ — देशको माया लागेर, देश मिस भएर!

यहाँ आएपछि निक साइमन्स इन्स्टिच्युट (एनएसआई) को प्रायोजनमा टिचिङ अस्पताल महाराजगन्जमा जनरल मेडिकल प्राक्टिस (जिपी) तर्फ रेजिडेन्सी पाएँ र तीन वर्ष त्यसैमा रमाएँ।

नेपालमा रहँदा विभिन्न थरीका अस्पतालमा काम गर्दाको अनुभव म यहाँ लेख्दै छु। सुरू गरौं, सरकारी अस्पतालबाट।

मैले सबभन्दा लामो समय काम गरेको सरकारी अस्पताल प्युठानको हो। मलाई नाम दिने मात्र होइन, आफूले सक्नेजति रगत-पसिना बगाएर काम गरेको पनि प्युठान अस्पताल नै हो।

जनरल मेडिकल प्राक्टिसमा एमडी सकेपछि निक साइमन्स इन्स्टिच्युटको तीनवर्षे करारमा म प्युठान अस्पताल गएको थिएँ। एमडी गर्ने क्रममा सुर्खेत अस्पताल, इन्टर्नसिप बेला इलाम जिल्ला अस्पताल र मेची अञ्चल अस्पतालमा पनि केही महिना काम गर्ने अवसर पाएँ। तर सरकारी अस्पताल चिन्ने र त्यहाँका तौरतरिका बुझ्ने मौका प्युठानले नै दियो।

हुन त मैले एकपटक लोक सेवाको परीक्षा पनि दिएको थिएँ, तर असफल भएँ। त्यसैले आफूले नाम निकाल्न नसकेर ‘रूखमाथिको अंगुर अमिलो हुन्छ’ भनेझैं गर्‍यो भन्ने पनि सोच्न सक्नुहुन्छ। आ-आफ्नो सोच हो!

त्यो समय मेरो दिमागमा सरकारी अस्पताल सुधार्ने धून सवार भएको थियो। यसबारे पत्रपत्रिकामा खुब लेख्थेँ। केही लेख राष्ट्रिय दैनिकहरूको पहिलो पृष्ठमा पनि छापिए। तत्कालीन स्वास्थ्य मन्त्रीलाई खुला पत्र पनि लेखेको थिएँ।

अस्पताल सुधारकै लागि भनेर मैले आफू र केही मेडिकल अधिकृत मात्र हुँदा पनि ज्येष्ठ नागरिक ओपिडी, बाल ओपिडी लगायत खोलेर अलि फरक ढंगको सेवा दिने कोसिस गरेको थिएँ। त्यही कोसिसले गर्भवती तथा सुत्केरीहरूको स्वास्थ्य उपचार, डेलिभरी, सिजेरियन अपरेसन आदिका लागि प्युठान अस्पतालमा धेरै सुधार भएका थिए। अहिले त झन् विशेषज्ञ डाक्टरहरू नै बस्ने भएपछि सेवाको हिसाबले पहिलेभन्दा धेरै सुधार भएको हुनुपर्छ।

यी सबै काम गर्दै जाँदा मैले बुझेँ, डाक्टर भनेको ठूलो स्वास्थ्य प्रणालीको एउटा सानो हिस्सा मात्र रहेछ। बिरामी पर्दा सबैले डाक्टर-डाक्टर भन्छन्, भगवान मान्छन् तर डाक्टर एक्लैले गरेर केही नहुने रहेछ। सरकारी अस्पताललाई सेवाग्राहीले अनुभव गर्न सक्ने गरी राम्रो बनाउन डाक्टर मात्र होइन, अस्पतालभित्र रहने स्वास्थ्यसम्बन्धी र स्वास्थ्यबाहेकका सबै कर्मचारीले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने रहेछ। अझ अस्पतालभन्दा बाहिरको व्यवस्थापन समिति, राजनीतिक दल, पत्रकार र नागरिक समाजको भूमिका झन् ठूलो हुने रहेछ।

हामी डाक्टर र स्वास्थ्यकर्मीहरू भनेका स्थलगत रूपमा लडाइँ लड्ने सिपाही मात्र हौं। लडाइँ कस्तो हुन्छ भन्ने त माथि बसेर योजना बनाउने, बजेट छुट्टयाउने, सिपाही खटाउने र हातहतियार पठाउने मन्त्रालय, सचिव, सरकार, मन्त्री र प्रधानमन्त्रीमा निर्भर हुने रहेछ।

सरकारी अस्पतालको मुख्य समस्या के भने, यहाँ एमडी, डिएम, एमसिएच गरेका विशेषज्ञ डाक्टरहरूले समेत आफ्नो ज्ञान र सीपअनुसार सेवा दिन पाउँदैनन्। उनीहरूको विशेषज्ञता धान्न सक्ने पूर्वाधार, संरचना, टिम, प्रणाली धेरै सरकारी अस्पतालहरूमा बनिसकेकै छैन। हुन त आफैं खटिएर त्यो टिम, संरचना र प्रणाली बनाउने प्रयास गर्दा पनि हुन्छ। तर त्यसका लागि समय लाग्छ। राजनीतिक पहुँच पनि चाहिन्छ, जुन धेरै क्लिनिकल डाक्टरहरूसँग हुँदैन।

धेरैजसो त यो झन्झटमा फसेर आफ्नो उर्वर समय बर्बाद पार्न चाहँदैनन्। त्यसैले धेरै विशेषज्ञ डाक्टर मेडिकल कलेज र कर्पोरेट अस्पतालतिर काम गर्छन्।

सरकारी अस्पतालमा पाइने तलब पनि महिनाको ४०-५० हजार रूपैयाँ मात्र हो। त्यति तलबले १० देखि ५ बजेसम्मको ड्युटीभन्दा बढी ‘डिजर्भ’ गर्दैन। त्योभन्दा बढी काम गर्छु भन्दा त्यसलाई स्वीकार गर्ने प्रणाली पनि छैन। हाम्रो प्रणालीले डाक्टरको समर्पण पहिचान गर्दैन, उत्प्रेरणा पनि दिँदैन।

यस्तोमा स्वाभाविक रूपले प्रश्न उठ्छ — महिनाको ४०-५० हजार तलबले परिवार कसरी पाल्ने? त्यसमाथि ड्युटीको टुंगो छैन। ड्युटी समय ९ देखि ५ भने पनि आफूले भर्ना गरेको बिरामी सिकिस्त भएर बोलावट आयो भने अस्पताल जाने कि नजाने? आफू इमर्जेन्सी प्रमुख भइयो भने राति मेडिकल अफिसर र इन्टर्नहरूलाई गाह्रो पर्दा जाने कि नजाने?

नैतिकताले त जा भन्छ, तर कति दिन जाने? कहिलेसम्म गइरहने?

यसरी अतिरिक्त सेवा दिएबापत् अतिरिक्त भत्ता पाउनुपर्ने हो। तर यहाँ भत्ताको कुरा गर्‍यो भने सेवा ठूलो कि पैसा भन्ने प्रश्न उठ्छ। मान्छेको ज्यान जान लागिसक्यो, तँ भत्ता खोज्ने भनेर गाली पनि आउँछ।

कुरा सही हो, मान्छेको ज्यानको अगाडि पैसाको कुनै मूल्य हुँदैन। तर एउटै डाक्टरलाई चौबीसै घन्टा बिरामी जिम्मा लगाएर श्रम शोषण गर्न पनि त मिल्दैन होला नि! यस्तो कार्य गैरकानुनी र अमानवीय पनि हुन्छ होला नि!

सरकारी मात्र होइन, लगभग सबै अस्पतालको ताल यही हो। यस्तोमा ४०-५० हजार तलबले नपुगेपछि डाक्टरहरू निजीमा काम गर्न जान्छन्। त्यसो गर्दा जनता र मिडियाको गाली आउँछ — सरकारी पैसा खाएर निजीमा काम गर्ने?

आफ्नो ड्युटी नभएका बेला निजी अस्पतालमा गएर बिरामी हेर्दा पनि यस्तो गाली धेरै सुन्नुपर्छ।

डाक्टरहरू पनि दूधले नुहाएका हुँदैनन्। तर त्यसो भन्दैमा सबैलाई एकमुष्ठ दोष लगाउने हो भने इमानदार र नैतिकतापूर्वक काम गरिरहेकाहरू घानमा पिसिन्छन्।

यी सबबीच अर्को समस्या छ — लोकसेवाले स्थायी डाक्टरको दरबन्दी नखुलाएको वर्षौं भइसक्यो। आधाभन्दा धेरै अस्पताल करार डाक्टरहरूले धानिरहेका छन्। धेरैजसो एमबिबिएस र एमडी पढ्दाको करारमा काम गरिरहेका छन्। जुन दिन करार सकिन्छ, उनीहरू उडिहाल्छन्। यो कुरा नीति-निर्माताहरूले नबुझेझैं देखिन्छ। वा, एक हुल उडे अर्को हुल आइहाल्छ नि भनेर मख्ख परेका हुन् कि!

तपाईं एमबिबिएस डाक्टरलाई महिनाको एक लाख दिनुस्, अनुभवअनुसार दुई लाख दिनुस्; एमडी डाक्टरलाई महिनाको पाँच लाखसम्म दिनुस्, अनि हेर्नुहोस् निजीमा काम गर्न जान्छन् कि जाँदैनन्? देश छाडेर हिँड्छन् कि हिँड्दैनन्?

यसो भन्दा पैसाकै लोभ गर्‍यो भन्नुहोला। यो लोभको कुरा होइन, एमबिबिएस र एमडी गर्दाको पढाइ, परिश्रम, सीप र जिम्मेवारीको मूल्य हो। डाक्टरहरूलाई भगवान भनेर मुखले मात्र सम्मान गरेर भएन नि, देशको प्रणाली र नीति-नियमले पनि सम्मान गर्नुपर्‍यो नि! होइन र!

सरकारले अहिले भएका डाक्टरलाई पनि सकेसम्म करारमै राखेर उनीहरूको ज्ञान, सीप र अनुभवमा खिया लगाउनेबाहेक खासै केही गरेको देखिँदैन। अपरेसन नहुने ठाउँमा एनेस्थेसिया विशेषज्ञ पुर्‍याइन्छ। युरो सर्जन र न्युरो सर्जन हुने ठाउँमा अपरेसनको सामान हुँदैन, अपरेसन गर्ने टिम पनि हुँदैन। आइसियू नभएको ठाउँमा भेन्टिलेटर लगेर राखिन्छ, अनि त्यही कुरा मिडियामा हेडलाइन बनेर आउँछ।

सरकारी जागिरको तलबले मात्र खान र खुवाउन पुग्दैन भनेर त माथि नै भनिसकेँ। तैपनि लोक सेवा जागिर भए सरकारी र निजी गरेर जसोतसो गुजारा चलाउँला भन्दै धेरैले लोक सेवा रोज्ने गर्छन्। एक्स्टेन्डेड हेल्थ सर्भिस (इएचएस) भनेर सरकारी अस्पतालबाटै अलिअलि खर्च जुटाउने केही कार्यक्रम पनि आएको थियो। सरकारी डाक्टरहरूलाई केही राहत भएकै थियो। तर त्यो विभिन्न कारणले सोचेजस्तो चल्न सकेन।

त्यसैले आज सरकारी अस्पतालमा न समर्पित भएर काम गर्न सकिन्छ, न तलबले खान-लाउन पुग्छ। पाउने भनेको गरिब जनताको सेवा गर्न पाइयो भन्ने आत्मसन्तुष्टि मात्र हो। तर के गर्नु, आत्मसन्तुष्टिले मात्र पेट नभर्ने रहेछ!

यिनै कारणले आफ्नो सीप, ज्ञान र अनुभवको कदर नहुने, परिवर्तन र सुधार रोज्न नसक्ने सुस्त सरकारी प्रणालीमा छिरेर आफूलाई खिया नलगाउनु नै मैले उचित ठानेँ।

अनि मैले सरकारी अस्पतालमा काम नगर्ने निर्णय गरेँ।

अब कुरा गरौं, निजी अस्पतालको।

एमबिबिएस र एमडी सकेपछि मैले विभिन्न निजी पोलिक्लिनिकहरूमा पनि काम गरेँ। आफैंले खोलेर केही हुन्छ कि भनेर पोलिक्लिनिक पनि चलाएँ। तर त्यहाँ पनि सोचेजस्तो भएन।

जसले जे भने पनि निजी अस्पताल नाफामुखी हुन्छ, हुनैपर्छ। त्यो एउटा व्यवसाय हो, जसमा मान्छेले केही नाफा कमाउन सकियोस् भनेर लगानी गरेको हुन्छ। तर शुद्ध व्यापारिक मानसिकता भएकाहरू स्वास्थ्य सेवामा छिर्दा अनैतिकता हाबी हुँदै गएको छ।

निजी अस्पतालले ल्याब जाँचमा नाफा गर्छ, फार्मेसीको औषधि बेच्दा नाफा गर्छ। उनीहरूका लागि डाक्टर भनेका ती चिज बिक्री गराउने ‘सेल्सम्यान’ मात्र हुन्। यसैका लागि एमबिबिएस डाक्टरलाई महिनाको एक-डेढ लाख र एमडी डाक्टरलाई तीन-चार लाख रूपैयाँ दिएर राखिन्छ। उनीहरूको ध्येय प्रस्ट छ — ती डाक्टरले महिनाको त्योभन्दा बढी कमाइदिऊन्, अनि त्यसैबाट डाक्टर र अरू कर्मचारीलाई तलब खुवाएर आफ्नो नाफा पनि बाँकी रहोस्। त्यसका लागि बिरामीलाई चाहिनेभन्दा बढी ल्याब जाँच गराउन, अल्ट्रासाउन्ड गराउन, चाहिनेभन्दा बढी औषधि लेख्न र बढी नाफा हुने खालका औषधि सिफारिस गराउन डाक्टरहरूलाई दैनिक दबाब दिइन्छ।

यहाँ बिरामी आकर्षित गर्न डाक्टरको परामर्श सेवा नि:शुल्क गरिन्छ, तर त्यसबापत ल्याब जाँच र औषधिबाट मनग्गे नाफा कमाइन्छ। यति गरेपछि जनता पनि खुसी, अस्पताल मालिक पनि खुसी!

डाक्टरको हिसाबले सोच्दा तलब आएकै छ, जिन्दगी मजाले चलेकै छ भनेर यो प्रवृत्तिमा आँखा चिम्लिदिन सकिन्छ। तर अलिकति नैतिक धरातलमा उभिएर हेर्ने हो भने खुसी हुन सकिँदैन। आफ्नो मेडिकल प्राक्टिस देखेर आफैंसँग घिन लागेर आउँछ।

अर्को कुरा — यसरी तलब दिनेहरूले प्राय: डाक्टरहरूलाई २४ घन्टै ड्युटीमा खटाएका हुन्छन्। जुन बेला बिरामी आए पनि अस्पताल जान तयार हुनुपर्छ। ‘क्वालिटी अफ लाइफ’ भन्ने नै हुँदैन।

त्यही भएर मैले अरूको अस्पतालमा मात्र कति काम गर्नु, अरूले दिएको तलब मात्र कति खानु, आफैंले अस्पताल खोल्दा सोचेअनुसार काम गर्न पाइन्छ र सानै भए पनि सिस्टम बनाउन पाइन्छ भनेर सानोतिनो पोलिक्लिनिक खोलेको थिएँ।

अब आफैंले अस्पताल सञ्चालन गर्दाको अनुभव हेरौं।

म आफू जनरल मेडिकल प्राक्टिसनर हुँ। त्यसैले प्राइमरी केयर, फेमिली केयर, होम भिजिट, होम केयरको सेवा दिने अवधारणासहित केही वर्ष लागिपरेँ। क्यान्सर लागेर अन्तिम अवस्थामा पुगेका, दम रोगी, मुटु रोगी, मिर्गौला रोगी, पक्षघात भएका बिरामी लगायतको फलोअप र उनीहरूलाई घरमै स्वास्थ्य सेवा दिने काम पनि गरेँ।

यति मात्र होइन, मेडिकल रेकर्डको महत्व के हो, जनरल प्राक्टिसनरसँगको परामर्श किन आवश्यक छ, त्यसले कसरी अनावश्यक जाँच गराउनु पर्दैन, अनावश्यक औषधि खानु पर्दैन र खर्च कसरी घट्छ भनेर बुझाउने प्रयास पनि गरेँ।

तर यो यस्तो अवधारणा रहेछ, जुन समाजलाई चाहिएको त छ, तर चाहिएको छ भनेर अनुभव गर्न सकेको छैन।

हुन त यस्तो प्रणालीगत सेवा सरकारी स्वास्थ्य प्रणालीले नै दिनुपर्ने हो। तर अघि नै भनिसकेँ, सरकारी प्रणालीले यस्तो आइडिया र अवधारणा बुझ्नै सक्दैन। यही कुरा प्राइभेटबाट गर्दा सामान्य जनतालाई महँगो पर्छ। जनतालाई राहत दिने हो भने न्यूनतम शुल्कमा काम गर्न सक्नुपर्छ, जुन सम्भव नहुने रहेछ।

आफ्नै पोलिक्लिनिकबाट गर्दा पनि यही कुरा लागू हुन्छ, किनभने कर्मचारी पाल्नैपर्‍यो, आफूले लिएको ऋण तिर्नैपर्‍यो र आफूले खानु पनि पर्‍यो!

अर्कातिर, नेपालमा औषधि र जाँचमा जति पनि खर्च गरिन्छ, तर डाक्टरसँग परामर्श लिन पैसा तिर्नुपर्‍यो भने ‘जाबो बोलेको पनि पैसा लिन्छ’ भन्ने भनाइ सुन्नुपर्छ। हुन त यसमा डाक्टरहरूको पनि दोष छ। परामर्श भनेको के हो भन्ने नै हामीले राम्ररी अभ्यास गरेका छैनौं। एउटा एमबिबिएस डाक्टरसँग परामर्श लिएको मूल्य कति हो, एमडीसँग लिएको कति हो वा डिएमसँग कति हो भन्ने स्वास्थ्य मन्त्रालयले सोचेकै छैन। सरकारी अस्पतालमा सबै परामर्श नि:शुल्क भनिएको छ। त्यसबापत स्वास्थ्य मन्त्रालयले अस्पताललाई कति बजेट दिनुपर्ने हो, त्यसको लेखाजोखा नै छैन।

फेरि आफ्नै अस्पताल चलाउँदा धेरै नैतिकवान भयो भने धान्नै गाह्रो हुने रहेछ। डाक्टरी परामर्शको राम्रो मूल्य भइदिएको भए केही सहज हुन्थ्यो होला, तर हामीकहाँ अरू सबथोकको मूल्य छ, परामर्शको छैन।

त्योभन्दा ठूलो खतरा भनेको अचेल अस्पतालमा बिरामीलाई केही भइहाल्यो भने सिधै तोडफोड र ढुंगामुढा गर्ने फेसन चलेको छ। डाक्टरले राम्रो गर्छु भन्दा पनि सधैं राम्रो हुँदैन। तर त्यसैलाई लापरबाहीको नाम दिएर लाखौं लाख रकम माग्ने र तोडफोड गर्ने चलन बसिसकेको छ।

यस्तोमा आफ्नो व्यवसाय बचाउन राजनीतिको सहारा लिनुपर्ने हुन्छ। यसका लागि कुनै पार्टीको सदस्यता लिनुपर्‍यो, वरिपरिका ‘डन’ हरूलाई चिन्नुपर्‍यो, उनीहरूको निम्ति खाजापानीको व्यवस्था गर्नुपर्‍यो र प्रहरीलाई पनि खुसी बनाएर राख्नुपर्‍यो। यसबाहेक बेलाबेला सहयोग वा चन्दा माग्न आउने युवाहरूको समूहलाई पनि रिझाएर राख्नुपर्‍यो, कसैसँग जोरी खोज्नु भएन। यी सबै जान्नेले मात्र अस्पताल व्यवसाय ढुक्कसँग चलाउन सक्छन्। नभए नचाहिँदो डर बोकेर बस्नुपर्ने रहेछ।

पूरा गर्नै नसकिने सरकारी नीति-नियम र निर्देशिकाहरूको सूची पनि धान्न गाह्रो छ। हाम्रा नीति-नियम र निर्देशिकाहरू हेर्दा अस्पताल र फार्मेसीहरूको सेवा असाध्यै राम्रो हुनुपर्ने हो। तर त्यस्तो छैन। वरिपरि कपडाको पर्दा लगाएर एक्सरे गर्ने र काठको ढोका लगाएर अपरेसन गर्ने अस्पताल पनि यहाँ मज्जाले चलिरहेकै छन्। यत्ति हो, नीति-नियम र निर्देशिका देखाएर सरकारी अधिकारीहरूले तर्साउने छुट चाहिँ पाइरहेका छन्!

अहिले धेरै डाक्टरमा आफ्नै लगानीमा अस्पताल वा क्लिनिक खोल्ने चलन बढ्दो छ। मेरो छोटो अनुभवले के भन्छ भने, नेपालमा व्यवसाय गर्न राजनीतिक पहुँच हुनुपर्छ, धेरथोर भए पनि नैतिकता बिर्सिन सक्नुपर्छ। नभए अन्तर्राष्ट्रिय स्तरको सेवा दिएर त्यही स्तरको शुल्क लिन सक्नुपर्छ। तर यसो गर्दा ‘डाक्टरले लुट मच्चाएको’ आरोप सुन्नुपर्छ।

अब कुरा गरौं, मेडिकल कलेजहरूको।

सरकारी अस्पतालहरू दयनीय भएको देशमा मेडिकल कलेजहरूले सर्वसाधारणलाई दिएको स्वास्थ्य सेवा झट्ट हेर्दा प्रशंसायोग्य छ। तर यहाँ पनि भित्री कुरा जति बुझ्यो, त्यति बुझी नसक्नु छ।

प्युठान अस्पतालमा तीन वर्षको करार सकिएपछि घरतिरै काम गर्नुपर्‍यो भनेर म एउटा मेडिकल कलेजमा बुझ्न गएको थिएँ। तलब कति पाइन्छ भनेर सोध्दा महिनाको ८० हजार रूपैयाँ भनियो। म जिल्ल परेँ। एमडी गरेर तीन वर्ष अनुभव भएको डाक्टरको तलब जम्मा ८० हजार!

हामीकहाँ मेडिकल कलेजहरू धेरैजसो एमडी गरिरहेका रेजिडेन्ट डाक्टर र इन्टर्नहरूले चलाइरहेका छन्। उनीहरूलाई लगातार ३६ घन्टा ड्युटीमा खटायो, तलबका नाममा न्यूनतम पैसा दियो! त्यो पनि कसै-कसैले त नदिन सक्छन्। डाक्टरले केही बोले वा राम्रो तलब माग गरे जाँचमा फेल गराइदिने धम्की दिन्छन्।

यसरी मेडिकल कलेज धानिरहेका रेजिडेन्ट डाक्टर वा इन्टर्न भनेका खासमा विद्यार्थी हुन्। पढ्न-सिक्न भनेर भर्ना भएका हुन्। अस्पतालको पूरै जिम्मा उनीहरूकै भरमा छाड्नुलाई के भन्ने?

हुनुपर्ने चाहिँ के भने, ती विद्यार्थी डाक्टरलाई सिकाउँदै बिरामीको जिम्मा कन्सल्टेन्ट डाक्टरले नै लिनुपर्थ्यो। तर यहाँ बेथितिले यति जरो गाडिसकेको छ, छिट्टै सुधार हुने लक्षण छैन। सिनियर कन्सल्टेन्टहरूले पनि यो बेथिति बदल्न सक्दैनन्। त्यही भएर उनीहरू चुप लाग्छन्। जुनियर कन्सल्टेन्ट त आफैं तलब नपाएर शोषित छन्, उनीहरूले के बोल्नु! रेजिडेन्ट त झन् रेजिडेन्ट भइहाले, तीन वर्ष जसरी भए पनि कटाउँला भनेर मानसिक रूपमै तयार भएर बसेका हुन्छन्!

मेडिकल कलेजहरूले समयमा तलब नदिने समस्या अझै विकराल छ। कयौंका लाखौं लाख अड्केर बसेको छ। छाडेर जाऊँ भन्दा त्यही तलब पनि नपाइला भन्ने डर छ। चुपचाप काम गरौं, त्यत्रो महिनाको तलब दिएको छैन। यस्तै दोधारमा अल्झेर बसेका डाक्टरहरूका अनगिन्ती कथा सुनिन्छन्, मेडिकल कलेजहरूमा — न करिअरको खुड्किलो उक्लिने गुञ्जायस छ, न आय वा सेवा-सुविधा बढ्ने आस छ! कतिले त पुग्दो तलब नदिने, भनेको तलब समयमा नदिने, अझ बाहिर निजी क्लिनिकमा गर्न पनि नपाइने कडा नियम लगाएका हुन्छन्।

यसरी देशमा उपलब्ध सबै किसिमका स्वास्थ्य संस्थामा काम गर्दा मलाई सबैतिर बेथिति मात्र अनुभव भयो।

डाक्टरले आफ्नो सीप र ज्ञान प्रयोग गरेर कसैसँग हात नफैलाई खान पाइयोस्, परिवार पाल्न पाइयोस्, बेलाबेला छुट्टी लिएर घुम्न पाइयोस्, बिरामी र समाजले सम्मानजनक रूपमा हेरिदेओस्, लुटेरा-हत्यारा नभनिदेओस्, बिनाआधार लापरबाहीको दोष लगाएर कुटपिट नगरदेओस् भन्ने कामना देशमा पूरा हुने छाँट देखिएन।

यी सब बेथिति झेलेर देशमै बसेको भए के पाइन्थ्यो त?

नेपाली आमाबुबा, दाजुभाइ र दिदीबहिनी जाँचेर उनीहरूलाई निको बनाउँदाको आत्मसन्तुष्टि।

तर आत्मसन्तुष्टिले मात्र त घर चल्दैन!

त्यसमाथि डाक्टर र स्वास्थ्यकर्मीहरू कुटिएका समाचार दिनहुँ आउन थालेपछि त त्यही आत्मसन्तुष्टि पनि मरेर गएको छ। धेरैलाई आफ्नै ज्यानको चिन्ता हुन थालेको छ।

हो, यी सबै अनुभव बटुलेर नै हो, मैले अब विदेशको अनुभव गरूँ भन्ने निधो गरेको र देश छाडेर हिँडेको।

म अहिले बेलायतमा जनरल मेडिसिन प्राक्टिसको रेजिडेन्सी गर्दैछु। हुन त नेपाल र बेलायतको तुलना हुनै सक्दैन, तैपनि नेपाली धङधङीले छाडिसकेको छैन। त्यसैले थाहै नपाई म तुलना गर्न पुग्छु र आकाश-जमिनको फरक पाउँछु। आफ्ना अनुभवहरू टिकटक र सोसल मिडियामा सेयर पनि गर्ने गरेको छु।

कसैलाई बिदेसिँदैमा देशको माया मारेको भन्न नमिल्ने रहेछ। बिदेसिँदैमा देशको माया मर्ने पनि होइन रहेछ। त्यसैले मलाई यहाँहरूले देशमा बसेर मन भरिने गरी सेवा गरिसकेपछि, सम्मानजनक तरिकाले आफ्नो पेसा गर्ने वातावरण नपाउँदा पलायन भएको नागरिक भनेर बुझ्दा हुन्छ।

हिजोआज साथीभाइहरूले देशमा बस्न नसकिने भयो, बेलायत आउन के गर्नुपर्छ भनेर सोध्छन्। यो राम्रो संकेत होइन।

यसतर्फ देश चलाउनेहरूको बेलैमा ध्यान जाओस्! डा. समिर लामा

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap