नेपालमा डेंगु सङ्क्रमण दिनानु दिन बढ्दै


लेखक : सुन्दराञ्चल      भदौ १६, २०८० मा प्रकाशित     
नेपालमा डेंगु सङ्क्रमण दिनानु दिन   बढ्दै

१६ भदौ काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेंगु सङ्क्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ ।

महाशाखाले भदौ र असोजमा डेंगु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगु सङ्क्रमण दैनिकरूपमा बढेको बताए ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

सुनसरीमा मात्र ११ हजार बिरामी पुगे

सङ्क्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौँमा चार सय २७, धनकुटामा  तीन सय ३६, सङ्खुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०,  दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेंगुका बिरामी भेटिएका छन् ।

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap