७ भदौ : राजधानीमा बसोबास गर्दै आएका सुदुरपश्चिमबासीले आज गौरापर्व मनाएका छन् । भदौ ७ देखि ९ गतेसम्म चल्ने उक्त पर्वको पहिलो दिन सुदूरपश्चिम तथा मध्यपश्चिमका मानिसको उल्लेख्य उपस्थिति थियो । काठमाडौंको टुँडिखेलमा प्रशंसा संरक्षण समूहको आयोजनामा भएको मेलामा सुदुरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
गौरा (पार्वती) को पूजा गरी मनाइने उक्त पर्वमा आत्मशान्तिसँगै मोक्ष्य प्राप्त हुने विश्वास जनमानसमा छ ।
गौरा पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलसहितका नेताहरुले देउडा नाचेका छन् ।
कार्यक्रममा उपस्थित खडकबहादुर सिजापतीले आफ्नो कला संस्कृति र धर्मलाई बचाइ राख्नका निम्ती सबै सुदूरपश्चिम, कर्णाली र मध्यपश्चिमका मानिसलाई लक्षित गरी मनाउने गरिएको बताए । उनले आफूहरुको पहिचान जोगाउनका लागि पनि कला सांस्कृतिको संरक्षण गर्दै गौरा पर्व मनाउने गरिएको बताए । उनले विशेष गरी युवाहरूले यस पर्वलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले यस पर्वलाई सुदूरपश्चिमको सिञ्जा उपत्यकाको सभ्यताका रूपमा जोगाउनुपर्ने बताए ।