सरकार पनि कमजोर हुन्छ :यदि मिडिया कमजोर हुँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी


लेखक : सुन्दराञ्चल      भदौ १, २०८० मा प्रकाशित     
सरकार पनि कमजोर हुन्छ :यदि मिडिया कमजोर हुँदा  लुम्बिनी प्रदेशका मुख्यमन्त्री  चौधरी

भाद्र १,  रुपन्देही — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडिया कमजोर हुँदा सरकार पनि कमजोर बन्ने भएकाले सरकार मिडियाको विकासमा संवेदनशील रहेको बताएका छन् । उनले मिडिया बलियो नभएसम्म प्रदेश पनि समृद्धि बन्न नसक्ने बताए ।

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको विकासमा मिडियाको भूमिका’ विषयक मिडिया सम्मेलनमा बोल्दै उनले लुम्बिनी प्रदेश सरकार मिडिया क्षेत्रको विकास गरेर मात्र प्रदेशको आर्थिक एवं सामाजिक विकास हुन्छ भन्नेमा प्रतिबद्ध रहेको बताए । उनले आफू पनि मिडियाले नै कमैया मुक्ति आन्दोलनबाट उठाएर अहिलेको अवस्थामा ल्याएको भन्दै मिडियाको विकास र सहयोगका लागि आफूले १२ करोड विनियोजन पनि गरेको बताए ।
‘लुम्बिनीका मिडिया कमजोर भए सरकार पनि कमजोर बन्छ, त्यसमा म पूर्ण जानकार र विश्वस्त छु,’ उनले भने, ‘त्यसैले पहिला मिडियाको विकास गरेर मात्र सरकार बलियो हुन्छ र बलियो सरकारले मात्र विकासको गति लिन सक्नेछ ।’ उनले मिडिया कमजोर भएको अवस्थामा सरकारका कमजोर पनि लुक्ने बताए ।

सरकारका कमजोरी बाहिर ल्याइदिन आग्रह गर्दै उनले मिडियाले सरकारको गुणगान गाउनु जरुरी नरहेको बताए । ‘तर, मिडिया कहिलेकाहीं आफ्नो दायित्व बिर्सेर यसलाई सिध्याउनु पर्छ है भनेर लाग्छ,’ उनले भने, ‘त्यसले मिडियालाई सिध्याउँछ, प्रजातन्त्र सिध्याउँछ र विकास पनि सिध्याउँछ ।’

मुख्यमन्त्री चौधरीले प्रदेश सरकार उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर अघि बढेकाले त्यसमा पनि सहयोग गर्न संचारकर्मी र मिडियासँग आग्रह गरे । उत्पादन नबढेसम्म आर्थिक वृद्धि नहुने भन्दै उनले प्रदेश सामूहिक उत्पादनमा लाग्नु जरुरी रहेको पनि बताए । ‘भारत, बंगलादेशले सामूहिक उत्पादनलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धिमा अघि बढेका छन्,’ उनले भने, ‘त्यसैले हामीले पनि त्यही मोडलमा जानु जरुरी छ ।’ किसानले सामूहिक उत्पादन गरेपछि त्यसको प्रचारप्रसारको विज्ञापन मिडियासम्म पुग्ने र त्यसले मिडियालाई पनि सहयोग पुग्ने उनले बताए ।

उनले अहिलेको आर्थिक संकटको प्रभाव मिडिया क्षेत्रमा पनि परेको भन्दै संकटग्रस्त मिडिया क्षेत्रको सुरक्षाका लागि सरकार मिलेर अघि बढ्न र सहयोग गर्न पनि तयार रहेको सम्मेलनमा प्रतिबद्धता व्यक्त गरेका छन् । मिडिया सम्मेलनमा पत्रकार कनकमणि दिक्षित, युवराज घिमिरे, बालकृष्ण चापागाई, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

दुई दिनसम्म चल्ने मिडिया सम्मेलनमा लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय २० भन्दा बढी मिडियाका प्रकाशक र संचालकहरुको सहभागिता रहेको संघका अध्यक्ष नवराज कुँवरले बताए । उनकाअनुसार सम्मेलनले लुम्बिनी प्रदेशमा देखिएका मिडियाका संकट, चुनौती र भावी कार्यदिशाका विषयमा छलफल गरेर शनिबार घोषणापत्र जारी गर्नेछ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap