मुख थाक्छ,‘नेतालाई गाली गरेर उनीहरु सुध्रिंदैनन्’


लेखक : सुन्दराञ्चल      साउन १९, २०८० मा प्रकाशित     
मुख थाक्छ,‘नेतालाई गाली गरेर उनीहरु सुध्रिंदैनन्’

साउन १९  गाईजात्राको तिथि नजिकिंदै जाँदा अभिनेता हरिवंश आचार्य भने म्युजिक भिडियोको धपेडीबीच भेटिए । त्यसबेला उनी आफ्नो एक गीति भिडियो सार्वजनिक गर्ने सुरसार गर्दै थिए ।

बितेको केही समययता हरिवंश आचार्य गीत गाउने र म्युजिक भिडियोमा केन्द्रित देखिन्छन् । हास्य रसयुक्त ती गीति भिडियोले अपेक्षाकृत चर्चा पनि बटुलेको छ । यद्यपि उनलाई दर्शकले त्यही आवरणमा हेर्न र सुन्न चाहन्छन्, जुन विगतमा हास्य टेलिशृंखला र फिल्महरुमा देख्दै आएका थिए ।

लालपूर्जा, १५ गते जस्ता टेलिशृंखलामा होस् वा महजात्रा नै, हरिवंश र मदनकृष्ण हास्य-तरंग आजसम्म कायमै छ । सिनेमा पनि यी जोडीको जोडदार उपस्थिति स्मरणयोग्य छ । तर अहिले यतातिर उनीहरुको सक्रियता देखिंदैन ।

टेलिफिल्म, महजात्रा जस्ता कार्यक्रमबाट जसरी विकृत नेता र विसंगत राजनीतिप्रति कटाक्ष गर्थे, त्यो पनि अहिले मत्थर भएको छ । किन ? यही प्रश्नको सेरोफेरोमा अनलाइनखबरकर्मी मनिषा थापाले उनीसँग गरेको कुराकानी :

गाजात्राको तिथि नजिकिदैछ, यसपालि पनि दर्शकले महजात्रा हेर्न नपाउने हो ?

महजात्रा ट्रेडमार्क जस्तो बनेको छ, जसकारण अब पाँच वर्षको लामो ग्यापपछि यसपटक भने महजात्रा ल्याउने तयारी गरेका छौं । महजात्रा लामो हुने भएकाले अहिलेदेखि नै तयारी हुँदैछ । अबको सात महिनापछि महजात्रा अष्ट्रेलिया र लण्डनमा गर्नेछौं । त्यसपछि नेपालमा गर्ने तयारी छ ।

लण्डनमा भनेको समयमा ठूलो हल नपाइएकाले कार्यक्रमलाई अबको सात महिनापछि सारिएको हो । लण्डनमा दुईवटा शो र अष्ट्रेलियामा आठवटा कार्यक्रम गर्ने योजना छ ।

यसपालिको महजात्राको खास आकर्षण के हुनेछ ?

मनोरञ्जन दिने र देशप्रति आस्था जगाउने खालका गीत, प्रहसन प्रस्तुत गर्नेछौं । नेताहरुलाई गाली नगर्ने अब । बरु समाज र राजनीतिको गतिविधिलाई ठट्यौली ढंगले पेश गर्ने योजना छ ।

देशको हाल बेहाल छ, नेताहरुको शैली अझै उस्तै छ । व्यंग्य गर्न झोंक चल्दैन ?

नेतालाई गाली नगर्ने अब । किनकि गाली गरेर मुख थाक्छ, नेता थाक्दैनन् । त्यो गाली व्यर्थ हुन्छ । यी नेताहरुलाई गाली पचाउनका लागि हजमोला चाहिंदैन । लाज पचाएरै नेता बनेका छन्, देशमा हालिमुहाली गरेका छन्, राष्ट्रिय ढुकुटी रित्याएका छन् ।

यी नेताहरुलाई नेता भन्न पनि मन लाग्दैन । नेता भन्ने शब्द परिवर्तन गर्ने बेला भएको छ । बरु उनीहरुलाई नेता होइन ‘भ्रष्टाचारीज्यू’ भन्न मन लाग्छ ।

त्यसैले गर्दा जनताले मात्र देश बनाउँछु भनेर नहुँदो रहेछ । राज्यको बागडोर हातमा लिएर बस्नेहरुलाई परिवर्तन चाहिएको छैन, विकास चाहिएको छैन, जनताको सुख सुविधा चाहिएको छैन । तर हामी पनि उनै नेतालाई भोट हाल्छौं र फेरि राज्य रित्याउन पठाउँछौं ।

तपाईंहरुले हास्यव्यंग्यबाट र्षौंदेखि खबरदारी गर्दै आउनुभएको छत्यसको केही न केही त प्रभाव पर्‍यो होला नि ?

विकृति, विसंगतिविरुद्ध व्यंग्य गर्नु भनेको खबरदारी नै हो । यसले कुनै एन्टिबायोटिकले जस्तो तुरुन्तै असर त देखाउँदैन । तर सूक्ष्म तरिकाले मान्छेको मनोविज्ञानमा असर भने पारिरहेकै हुन्छ ।

जस्तो गणतन्त्र आएपछि छाडातन्त्र पनि मौलाउन थालेको थियो । शक्ति र सत्ताको आडमा राज्यको दोहन गर्नेहरु सल्बलाउन थालेका थिए । पार्टीका कार्यकर्ताहरुको अराजकता बढ्दो थियो । जबकि, सर्वसाधारणको हालत उस्तै थियो जस्तो गणतन्त्रअघि थियो ।

तर विभिन्न माध्यमबाट यस्ता विसंगतिविरुद्ध आवाज छेड्न थालिएपछि सर्वसाधारण जुर्मुराए । उनीहरुले पनि खराब काममा खबरदारी र राम्रो काममा स्याबासी दिन थाले । यस किसिमको जागरण आउनुमा मिडिया, अभियन्ता, सामाजिक सञ्जाल सबैको भूमिका छ ।

यस्तो जागरण आउनुमा महजोडीको भूमिका चाहि कति छ नि ?

यति उति भनेर ठ्याक्कै तौलेर भन्न सकिंदैन । साथै सम्पूर्ण जस हामीले मात्र लिन नमिल्ला । तर जतिबेला हामी हास्यव्यंग्य गर्दै हिंड्थ्यौं, त्यसबेला बोल्नका लागि अहिले जस्तो अनुकूलता चाहिं थिएन । बोल्नका लागि ठूलै हिम्मत चाहिन्थ्यो । त्यस्तो हिम्मत हामीले गर्‍यौ ।

हुन त हामी कुनै व्यक्तिविशेषलाई तोकेर सोझै व्यंग्य गर्दैनथ्यौं । जुन व्यक्तिलाई लक्षित गरेर व्यंग्य गरिएको हो, उनले मुख अँध्यारो नलगाओस् तर थोरै लाज लागोस् भन्ने हामी चाहन्थ्यौं । त्यसैले हाम्रो प्रस्तुतिले उनीहरु केही सतर्क चाहिं हुन्थे ।

अहिले प्रविधिको सहजतासँगै हास्यव्यंग्यको क्षेत्रमा पनि नयाँ पुस्ता थपिएका छन् । कतिले निकै उत्कृष्ट काम गरिरहेका छन् । तर केहीले चाहिं निकै तल्लो स्तरमा खसेर काम गरेका छन् । त्यति तल खसेर नगरेको भए पनि हुन्थ्यो जस्तो लाग्छ । उनीहरुले हास्यव्यंग्यमा ढुंगाले हानेको जस्तै गरेर नाम नै तोकेर गाली गर्छन् ।

हास्यव्यंग्य गरेकै कारण अप्ठ्यारोमा त पर्नुभएन नि ?

किन नहुनु नि । पञ्चायतकालमा हामीलाई जेलमा थुन्ने काम पनि भयो । तनावले निद्रा लाग्दैनथ्यो । कार्यक्रम लिएर तामझामका साथ जिल्लामा पुगिन्थ्यो तर होटलबाट निस्कन अनुमति नदिने अवस्था पनि हुन्थ्यो । कतै हल नै बन्द गरिदिएको, टिकट बिक्री भइसकेपछि कार्यक्रम रद्द गरिदिएको तीतो अनुभव हामीसँग छ ।

अहिले त्यसरी सोझै हस्तक्षेप त हुँदैन तर छाडापन भने बढेको छ । कसले के गरिरहेको हुन्छ, कसले के । कसैले त्यसको जिम्मेवारी लिंदैन ।

तपाईंले जीवनकालमा कुन नेतालाई बढी गाली गर्नुभयो ? 

मनले नै गाली गरेका नेता त कति छन् कति । तर बोलीले व्यक्तिको नाम तोकेर हामीले गाली गरेनौं । कति नेता यस्ता थिए, जसलाई गाली गर्न होइन बरु श्रद्धा गर्न मन लाग्थ्यो । त्यस्ता नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी हुन् ।

यसको अर्थ अहिले पनि सबै व्यक्ति नराम्रो छन् भन्ने होइन । केही राजनीतिक दलका नेताहरु इमान्दार छन् । तर इमान्दारितालाई दरिद्रताले ओझेलमा पारिदियो । जसकारण नेता भन्ने बित्तिकै चोर, भ्रष्ट र खराब हुन्छ भन्ने छाप बस्न पुग्यो । राम्रा मान्छे अझै छन् तर ठाउँ पनि नपाइरहेको अवस्था छ ।

अहिले कति नेता फेरिएउनीहरु चाहि हास्यव्यंग्यको पात्र हुन सक्छन् वा सक्दैनन् ?

केही नेता चोखा छन्, जो हास्यव्यंग्यका पात्र हुनुपरेको छैन । त्यसमा केही नयाँ अनुहार पनि परेका छन् । यद्यपि संगठनको हिसाबले बलियो भएर आउन अझै समय लाग्छ । केही पार्टी परिवर्तनको लहरमा छन् । त्यसकारण केही हदसम्म राम्रो मानिसको उदय हुन सक्ला भन्ने आश गर्न सकिन्छ ।

नयाँ अनुहारबाट कति आशावादी हुनुहुन्छ ?

नयाँ अनुहार भड्किएनन् भने आश गर्न सकिन्छ । एउटा सत्तामा पुगेपछि दरिद्रताले जितिदिन्छ ।  दरिद्रता हाबी हुन नसकोस् भनेर हामी कामना गरौं ।  मनिषा थापा

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap