४ असार , कृषि उपजहरूको समर्थन मूल्य निर्धारण गर्न अखिल नेपाल किसान महासंघले सरकारसँग माग गरेको छ । हाल बजारमा गोलभेँडाले उचित मूल्य नपाएको कारण गोलभेँडा उत्पादक किसानहरूले ठुलो क्षति बेहोर्नु परेको बताउँदै महासंघले समर्थन मूल्य निर्धारण गरी उक्त मूल्यमा अनिवार्य खरिदको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
हाल उत्पादित गोलभेँडाको लागत मूल्य समेत प्राप्त नभइरहेको कारण कालीमाटी तरकारी तथा फलफूल विकास समिति र कृषि तथा पशुपन्छी मन्त्रालय लगायतका सम्बन्धित निकायमा आवश्यक क्षतिपूर्ति तथा दिगो समाधानको माग गर्दै पीडित किसानहरू पुगेका थिए । तर, सरकारले उक्त मागहरूप्रति बेवास्ता गरेको कारण आज २०८० असार ३ गते कालीमाटी बजार लगायतका स्थानमा किसानहरू गोलभेँडा सडकमा नष्ट गर्न बाध्य भएको महासंघले जनाएको छ ।