करिअर नदेखेपछि नर्सहरू विदेशतिर ,


लेखक : सुन्दराञ्चल      जेष्ठ १४, २०८० मा प्रकाशित     
करिअर नदेखेपछि नर्सहरू विदेशतिर  ,

जेठ १४, सानै हुँदा स्कुलमा सर/मिसले ठूलो भएर के बन्ने सपना छ भनेर सोध्ने प्रश्नमा प्रतिमा निरौलाको जवाफ हुन्थ्यो– नर्स ! बाटोमा सेतो कोटमा सजिएका नर्स देख्दा उनी मनमनै सोच्थिन्, ‘म पनि नर्स बन्न सके देशकै सेवा गर्थें !’ सामान्य घरपरिवारमा जन्मिएकी प्रतिमालाई नर्सिङ पढाउन निरौला परिवारको बलबुताले भ्याएन ।

आफूले देखेको सपना पूरा गर्न उनले छात्रवृत्तिमा नाम निकालिन् । जेनतेन बुबा–आमाले फ्याक्ट्रीमा काम गरेर भए पनि अन्य खर्च जुटाए । २०६९ सालमा पीसीएल नर्सिङ पास गरेपछि तीन वर्ष नोबेल मेडिकल कलेजमा काम गरिन् । त्यसपछि २०७५ सालमा बीएस्सी नर्सिङ पास गरेर पुनः नोबेलमा काम गर्न थालिन् । विडम्बना मेडिकल कलेजले पीसीएल पास गरेर काम गर्न जाँदा भन्दा कम तलब दियो ।नोबेलले तत्कालीन समयमा पीसीएल पास गरेर काममा जाँदा १५ हजार दियो । त्यसपछि, ब्याचलर्स गरेर जाँदा जम्मा साढे १२ हजार । उनीसँग अरू कुनै विकल्प पनि थिएन । निजी अस्पतालमा सबैतिर उही हालत । नोबेलमा काम गर्दै गर्दा त्रिवि शिक्षण अस्पतालमा २०७६ सालमा करारमा प्रवेश गर्ने मौका पाइन् ।

स्वास्थ्य उपचार नपाएर हजुरआमा गुमाउनु पर्यो । नर्सिङ पेशामा नछिर्दासम्म निरौलालाई लाग्थ्यो, ‘देशमै बुढाबुढीको सेवा गरेर बस्छु ।’ जब स्वास्थ्य सेवा प्रवेश गरेसँगै उनको मनमा प्रश्न खडा भयो— नेपालमै बसेर भविष्य बन्ला र ?

पेशाको सम्मान नहुनु, राजनैतिक अस्थिरता, तलब–सुविधा लगायत कुराले एक दशकमै उनलाई भुक्तभोगी बनाइदियो— ‘अब विदेश जानुबाहेक अन्य विकल्प छैन ।’

सँगै पढेका साथीहरूले विदेशमा एकस्तरको जीवनस्तर सुधार गरे । तर, नेपालमा भने बिहान–बेलुकी हातमुख जोर्न पनि धौ–धौ । ‘उनीहरूको प्रगतिले पनि विदेश जानमै प्रेरित गर्यो’, निरौलाले सुनाइन् ।
त्रिवि शिक्षण अस्पतालमा काम गर्दै जाँदा क्यानडाका लागि प्रक्रिया बढ्यो । आगामी ५ असारमा त्रिवि अस्पतालबाट जागिर छोड्दै उनी ३ साउनमा क्यानडाका लागि श्रीमान्सँगै ‘डिपेन्डेन्ट भिसा’ मा विदेश पलायन हुँदैछिन् ।

‘आर्थिक रूपमा कमजोर भएकै कारण लाखौं पैसा खर्च गरेर कुनै पनि हालतमा बाहिर जाने सोच थिएन । तर, बाध्यताले पनि बाहिर जानुपर्ने अवस्था आयो’ निरौलाले अनलाइनखबरसँग भनिन्, ‘भोलि छोरा–छोरीको भविष्य पनि हेर्नुपर्ने रहेछ ।’

****

‘विकल्प साँघुरिंदै जाँदा मनमा भविष्यको चिन्ता थपिंदो रहेछ । देशमा आर्थिक मन्दी चलिरहेको छ । जागिरको सुनिश्चितता छैन’ नर्स सुमी खड्का गुनासो गर्छिन्, ‘नर्सिङ क्षेत्र सरकारबाट विभेदमा परेपछि बस्न मन नलाग्ने रहेछ ।’

नेपालमा ३० हजार हाराहारीमा नर्स बेरोजगार भएको आकलन छ । निजी अस्पतालमा जागिर खानेले उचित तलब पाउँदैनन् । सरकारीमा एक नर्सले ५० भन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता छ । एकातर्फ काम गरिरहेको संस्थाको विरोध नै गर्दा भएको जागिर पनि जाने डर हुन्छ । निजी संस्थाले गरेको श्रमशोषणको मनपरीतन्त्रलाई नियन्त्रण गर्ने सरकारी निकाय पनि मौन छ । नेपालमा भविष्य नहुँदा अधिकांश नर्स विदेशको लागि प्रयासरत छन् ।गत दुई वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा काम गर्दै आएकी सुमी खड्काले अमेरिकाको नर्सिङ लाइसेन्स पास गरिसकेकी छिन् । अब बाँकी छ त, भिसा आउन ।

पीसीएल नर्सिङ सकेपछि विनायक अस्पताल र नेपाल नेशनल हस्पिटल जस्ता राजधानीकै चर्चित अस्पतालमा काम गर्दा उनको तलब भने ८/१० हजार मात्र थियो ।

नेपालमा काम गर्ने वातावरण, राम्रो तलबभत्ता, पढ्नका लागि पर्याप्त वातावरण नहुने र बढी श्रम गर्नुपर्ने अवस्थाकै कारण विदेश जाने क्रम बढिरहेको उनको भनाइ छ ।

घरपरिवारमा सबै नर्स । कलिलो उमेरमा नर्स नै बन्ने दिमागमा छाप बस्यो । तर, जब जागिर सुरु गरिन्, नर्सिङ पेशाको दयनीय अवस्थाले उनलाई नैराश्य उत्पन्न गरायो ।

‘एक त योग्यता र क्षमता अनुसारको पनि जागिर पाइँदैन । अझै मास्टर डिग्री सकिसकेपछि पनि स्टाफ नर्सको तहमा काम गर्नुपर्ने अवस्था छ । तर, विदेशमा नर्सलाई आकर्षक आम्दानी र उच्च सम्मान पनि छ । जीवनलाई राम्रो बनाउन भए पनि विदेश नै जानुपर्ने सोच आउँदो रहेछ’, खड्का भन्छिन् ।

श्रीमान् पनि पेशाले डाक्टर हुन् । तर, उनीहरू दुवैले नेपालमा थप अवसर देखेनन् । ‘भोलिको भविष्य के हो अनिश्चित छ । आफ्नै पेशामा अपमानित हुनुपर्छ । हामी स्वास्थ्यकर्मीलाई ज्यानमारा भन्दै दैनिक भौतिक आक्रमण भइरहेका छन्’ खड्का प्रश्न गर्छिन्, ‘यसरी काम गरिरहँदा सरकार, अस्पताल प्रशासन, बिरामीका आफन्त कसैबाट पनि उचित सम्मान नपाउँदा कसरी यहाँ बसिरहन मन लाग्ला र ?’

‘मसँगै अध्ययन गरेर साथी विदेश गएर घर, गाडी, पीआर नै पाइसके । तर, नेपालमा बसेकाको भने स्थिति उस्तै छ । कमाइ र सेवा सुविधाको हिसाबले बाहिर जानु नै उचित ठानेकी छु’, खड्का थप्छिन् ।

****

पीसीएल नर्सिङ सिध्याएपछि सुरक्षा शर्मा (नाम परिवर्तन) जागिरका लागि थुप्रै अस्पताल चहारिन् । जागिरै खानका लागि निजी अस्पतालमा महिनौं भोलेन्टियरमै काम गर्नुपर्यो ।

अस्पतालको मेरुदण्डको रूपमा रहेको नर्सिङ पेशाप्रति नैराश्य छाउँदै गएको छ । जसका कारण स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दो र विदेशतिरको आकर्षण हुने संख्या दिन/प्रतिदिन बढिरहेको छ ।

उनका अनुसार काठमाडौंको एक चर्चित अस्पतालले ६ महिना भोलेन्टियरमै काममा लगायो । त्यसपछिको तलब मासिक ११ हजार । साथीहरू धमाधम विदेश पलायन भइरहेका थिए । उनीमा पनि विदेश जाने सोच नआएको होइन तर, आर्थिक कारणले विदेश जान पाइनन् ।

पटक–पटक लोकसेवा परीक्षा दिइन् । चौथो पटकमा नाम निस्कियो । अहिले उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत छिन् ।

सरकारी जागिरमा हुँदा पनि उनलाई नेपाल बस्न पटक्कै मन छैन । अमेरिका जानका लागि प्रोसेस गरिरहेकी छिन् ।

‘अहिले सरकारले तोकेको पारिश्रमिक पाइरहेको भए पनि काम त्यति सहज छैन । एक जना नर्सले धेरै बिरामी हेर्नुपर्छ । कहिलेकाहीं त एक्लैले २०–३० जना बिरामी हेर्नुपर्ने बाध्यता छ’ शर्माले सुनाइन्, ‘तर मलाई अहिले मौका पाए विदेश जान पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ । उतै गएर काम गरौं, जिन्दगीलाई व्यवस्थित बनाऊँ भन्ने लागिरहन्छ ।’बीएस्स नर्सिङ सकेर अस्मिता रिजाल (नाम परिवर्तन) दुई वर्षदेखि एक मेडिकल कलेजमा काम गरिरहेकी थिइन् । तर, पढाइमा भएको रकम र समय अनुरूप तलब नभएपछि उनले जागिर छोडिन् ।

हाल अमेरिका जाने तयारीमा जुटेकी छिन् । ‘लाखौं खर्च गरेर पढ्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरभन्दा कम तलबमा काम गरिरहनु परेको छ । यहाँ बसेर भोलिको भविष्य के नै होला र’ रिजाल गुनासो गर्छिन् ।

देश छाड्ने उनको रहर थिएन । तर देशभित्रका मेडिकल कलेजमा न्यून तलब, कामको सम्मान नहुने र सरकारी क्षेत्रमा दरबन्दी नखुल्नु जस्ता कुराले उनले विदेशिने निधो गरेकी छिन् ।

‘अस्पतालमा सधैं डाक्टरको हेपाइ सहनुपर्ने । डाक्टरको गल्ती हुँदा त्यसको कारबाही हामीले भोग्नुपर्ने । न कामको सम्मान छ । दिनरात बिरामीको हेरचाहमा नर्स खटिरहेका हुन्छौं तर, मासिक तलब भने १५/१७ हजार’, रिजालले काम गर्दाको अनुभव सुनाइन् ।

विदेशमा कामको सम्मान छ । नर्सलाई अवसर पनि धेरै छन् । काम अनुसारको उचित तलब पनि छ । ‘अमेरिका लगायत देशमा नर्सको ५–७ लाख कमाइ हुन्छ । केही पैसा जोगाउन सके पनि ठूलो रकम हुन्छ’ उनी भन्छिन्, ‘यसअघि विदेश गएर काम गर्छु भन्ने मनको कुनै पनि कुनामा सोचेको थिइनँ । तर भूकम्प, कोरोना महामारीमा आफ्नो ज्यानभन्दा ठूलो बिरामीको सेवा हो भनेर खटिने नर्स समाजबाट पुरस्कृत हुनुको साटो अपहेलित हुनुपर्यो ।’

अस्पतालको मेरुदण्डको रूपमा रहेको नर्सिङ पेशाप्रति नैराश्य छाउँदै गएको छ । जसका कारण स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दो र विदेशतिरको आकर्षण हुने संख्या दिन/प्रतिदिन बढिरहेको छ ।

विदेश जान दैनिक ४/५ जनाको राजीनामा

पछिल्ला दुई–तीन वर्षयता अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशमा नर्स कामकाजमा जाने टे«न्ड बढ्दो छ ।

अमेरिका जाने नर्सको यतैबाट ‘पीआर’ समेत फिक्स हुन्छ । धेरै लगानी नलाग्ने र परिवार समेत लैजान पाउने भएपछि पहिलो रोजाइमा पर्छ । युके, अस्ट्रेलिया, नर्वे, क्यानडा लगायत देशमा पनि नर्सको आकर्षण राम्रो छ ।

त्रिवि शिक्षण अस्पतालमा मात्रै राजिनामा दिने नर्सको संख्या दैनिक ६ जना समेत पुग्छ । अस्पतालकी नर्सिङ निर्देशक कल्पना पिया रञ्जितका अनुसार मंसिरयता करारमा रहेका ६० जना नर्सले राजीनामा दिएका छन् । करारमा मात्रै होइन, स्थायी नर्स पनि मंसिरयता ४–५ जनाले जागिर छोडिसकेका छन् ।

 

‘अधिकांश नर्सको अमेरिका नै पहिलो रोजाइमा पर्छ । त्यसपछि युके, अस्ट्रेलिया लगायत देश छन् । गंगालाल, पाटन लगायत अस्पतालमा स्थायीमा नाम निस्किएपछि राजीनामा दिन्छन्’ नर्सिङ निर्देशक रञ्जित भन्छिन्, ‘राजीनामा दिएको आजको भोलि जागिर छोड्छन् । अस्पतालमा नर्सको व्यवस्थापन गर्न साह्रै कठिनाइ हुन्छ ।’

अस्पतालले पुस महिनामा २५, त्यसपछिको केही दिनमा ४०, वैशाखमा १२ जना नर्स लिइसकेको छ । अबको केही दिनमा १८ जना नर्स लिने तयारी छ । त्रिविमा कार्यरत नर्स सुमी खड्काका अनुसार ८० प्रतिशतभन्दा बढी नर्सले पहिलो रोजाइमा अमेरिका जानका लागि प्रोसेस गरिरहेका छन् ।

कान्ति बाल अस्पतालमा पनि हालत उस्तै छ । अस्पतालकी नर्सिङ प्रमुख रोशनी लक्ष्मी तुईतुईका अनुसार कान्तिबाट मासिक ४–५ जनाले राजीनामा दिइरहेका हुन्छन् । ‘नेपालमा नर्सलाई काम गर्ने वातावरण छैन । सरकारी सेवामा भएका नर्सलाई पर्याप्त सुविधा छैन । त्यसका साथै दिनरात खटिनुपर्ने हुन्छ । जागिरको सुनिश्चितता नभएका कारण पनि नर्समा विदेश मोह छ’ तुईतुई भन्छिन् ।

भविष्यको सुनिश्चितता, पेशाको सम्मान र व्यक्तिको आत्मसम्मान हुने ठाउँ खोज्नु अहिले नेपाली नर्सको बाध्यता बन्न थालेको छ । ‘अहिले परिवार र बालबच्चाको भविष्यको लागि पनि नर्स अमेरिका, बेलायत, अष्ट्रेलिया जस्ता देशमा सेटल भएपछि शिक्षा लगायत कुरा निःशुल्क नै हुन्छ । त्यसकारण पनि नर्स विदेश जान अहिले तत्पर हुन्छन्’ तुईतुईले थपिन् ।

नर्स बीचमै छोडेर जाँदा तत्काल नै परिपूर्ति हुन नसक्दा अहिले ४० बेडको पेइङ मेडिकल वार्ड २० वेडमा झार्नुपरेको छ ।

तुईतुईका अनुसार आईसीयू वा बालबालिकामा काम गरेका नर्स विदेशको बढी प्राथमिकतामा पर्छन् । त्यसकारण पनि कान्ति, त्रिवि शिक्षण, वीर लगायत अस्पतालमा विदेशमा छिर्नका लागि करारमा भए पनि नर्सको तँछाडमछाड हुने गर्छ ।

बेरोजगार नर्सको संख्या अत्यधिक

नेपाल नर्सिङ परिषद्को तथ्यांक अनुसार हालसम्म नेपालमा ७३ हजार ८८९ जना नर्स, ३७ हजार २०३ एएनएम, ५१ मिडवाइफी, १ हजार ३४१ विशेषज्ञ र ८४८ जना विदेशी नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएका छन् ।

 

तर, यसमध्ये २६ हजार ३९३ जना नर्स र १२ हजार ६६० जना एएनएमले मात्र लाइसेन्स नवीकरण गरेका छन् । यो काउन्सिलले ११ वैशाखमा अद्यावधिक गरेको तथ्यांक हो ।

काउन्सिलले हरेक ६ वर्षमा नर्सको लाइसेन्स नवीकरण गर्छ । तर, परिषद्सँग भने नेपालमा कति सक्रिय र कति विदेशी नर्स छन् भन्ने यकिन तथ्यांक छैन ।

पढाइका लागि विदेश जानुअघि नर्सहरूले नर्सिङ काउन्सिलको स्वीकृति लिनुपर्छ । तर, पढाइबाहेक अन्य कामका लागि विदेश जानेहरूले स्वीकृति लिंदैनन् ।

‘कामका लागि विदेश जानेहरूले हामीसँग स्वीकृति नलिने हुँदा यति नै संख्यामा नर्सहरू विदेशमा छन् भन्ने यकिन तथ्यांक हामीसँग छैन’, काउन्सिलकी रजिष्ट्रार शकुन्तला प्रजापति भन्छिन् ।

नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईका अनुसार नेपालमा ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको अनुमानित तथ्यांक छ । तीमध्ये नेपाल सरकारअन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् । यस्तै, करिब १७ हजार नर्स निजी अस्पतालमा र बाँकी शैक्षिक क्षेत्रमा काम गरिरहेका छन् ।

करिब ३० हजार नर्स अहिले पनि बेरोजगार रहेको हुनसक्ने राईको अनुमान छ । यस्तै, करिब २९ हजारले विदेश जानका लागि भेरिफिकेशन लिएका छन् ।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्ड अनुसार नर्सिङ जनशक्ति पदपूर्ति हुने हो भने चाहिं सरकारी स्वास्थ्य सेवामा अझै ५२ हजार नर्सिङ जनशक्ति चाहिन्छ ।

‘सरकारी अस्पतालमा एक त दरबन्दी कम छ, त्यसमाथि भएको दरबन्दी अनुसार पनि पदपूर्ति भएको छैन’ राई भन्छिन्, ‘सरकारको न्यूनतम सेवा मापदण्ड अनुसार नर्सिङ जनशक्ति नियुक्त गर्ने हो भने अहिले देशमा भएको संख्या अपुग हुने देखिन्छ ।’

‘सरकारले नर्सको बाँच्न पुग्ने सेवा–सुविधा वृद्धि गर्नुपर्छ । निजीदेखि सरकारी अस्पतालसम्म स्वास्थ्य सेवाका मेरुदण्ड रहेका नर्सलाई नेपालमै काम गर्ने आशा जगाउनुपर्छ । नत्र धेरै नर्स असुरक्षित भएर भविष्यको डरले विदेश जाने लहड उत्पन्न हुन्छ’, उनी थप्छिन् । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap