१३ वैशाख, अछाम। कैयौँ वर्षदेखि पानीको स्रोत बनिरहेका पानीका मूलहरु जलवायु परिर्वतनका कारण सुक्दै जान थालेपछि अछामका विभिन्न पालिकामा पुनर्भरण पोखरी (रिचार्ज पोखरी) निर्माण गर्न थालिएको छ ।
पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबिए) द्वारा यहाँका विभिन्न पालिकामा पानीका मूल फुटाउने प्रयोजनका लागि यस्ता पोखरीहरु निर्माणको कार्यक्रम अघि सारिएको बताइएको हो । सो प्रयोजनका लागि यहाँका कतिपय पालिकामा पुनर्भरण पोखरी निर्माणको काम सुरु भइसकेको र केहीमा निर्माण आयोजनाहरु तय भएका जानकारी दिइएको छ ।
जलवायु परिवर्तनले पानीका मुहान सुक्दै जाने तथा खडेरी पर्ने जस्ता वातावरणीय समस्या देखिँदै आएको र पानीलाई केही समय रोकेर राख्दा जमिनमुनि पानीको भण्डार बढ्ने र पानीको स्रोत संरक्षण हुने भएकाले पानीका मूल फुट्न सक्ने बताइएको छ ।
उनका अनुसार अहिले अछाम जिल्लामा गाईभैँसीपालनदेखि भूक्षय रोक्न उपयोगी नेपियर घाँसको बीउ किसानहरुलाई उपलब्ध गराइएको छ । इबिएद्वारा प्राप्त नेपियर घाँसको बीउ पाएपछि साँफेबगर नगरपालिका बाब्लाका केही किसानले बाँझो जमिनको सदुपयोग गर्दै घाँस खेती गरेका स्थानीयवासी कविराज जोशीले जानकारी दिए । उनका अनुसार घाँस खेतीले गाईवस्तु पाल्न सहज मात्रै भएको छैन, भिरपाखातिर जोखिममा घाँस काट्ने समस्या पनि टरेको छ ।
उता इबिएले अछामको मेललेख गाउँपालिका–१ रिसिदहमा किसानहरुलाई आलुको बीउसमेत वितरण गरेको छ । आलु समथर मैदानी भू–भागदेखि चिसो पहाडसम्म उत्पादन हुन्छ । मेल्लेख गाउँपालिका–१ र २ मा केही किसानलाई आलु उत्पादनका लागि बीउ वितरणसँगै प्राविधिक सहयोगसमेत गरिएको इबिएका अछाम जिल्ला संयोजक भोला ढकालले जानकारी दिए ।
हाल विश्वमा हुने हरित गृह ग्यासको कूल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ । कार्बनडाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखापरेको डिभिजन वन कार्यालय अछामका प्रमुख भोजराज शर्माले बताए ।
उनका अनुसार अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रुपमा पाएका सुन्दर हिमताल र नदीनालाहरु पनि कालान्तरमा सङ्कटमा पर्ने खतरा रहेको जलवायु परिवर्तनसम्बन्धी विषयका जानकारहरु बताउँछन् ।
नेपालमा पनि यसको प्रभाव कम गर्नका लागि प्रत्येक घर र कार्यालयमा कम्तीमा पनि एउटा रूख रोप्न सक्ने हो भने यसबाट धेरै फाइदा पुग्ने बताइन्छ । त्यसैगरी, सडकको दायाँ–बायाँका किनारामा वृक्षरोपण गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन् । चुरे पहाडको संरक्षणका लागि पनि त्यत्तिकै ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ ।
लगातार रुपमा चुरे पर्वत शृङ्खलामा भइरहेको क्षयीकरणले हाम्रो भू–सन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ । देशभरि नै वातावरण मैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्ने आजको आवश्यकता रहेको जलवायु विज्ञको भनाइ छ ।
हरित गृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय भएको बताइएको छ । ऊर्जाका रुपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्य शक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न आवश्यक रहेको वन तथा वातावरण विभागका महानिर्देशक देवेश त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार पृथ्वीमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित सहरीकरण र तीव्र औद्योगिकीकरणले अनेक समस्या निम्त्याएको छ । यिनै समस्याहरुको न्यूनीकरण गर्न र मानिसमा यसबारे जागरण ल्याउन पहिलो जरुरी रहेको छ ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको अछाम जिल्लाको रामारोशन ताल संरक्षणका लागि इबिएले जनचेतनामूलक कायर्मक्रमहरु सञ्चालन गर्दै आएको छ । हावापानीका दृष्टिले लेकाली भेकमा रहेको उक्त रामारोशन ताल संरक्षणका लागि आगामी दिनमा बृहत्तर कार्य योजना लागू गर्ने गरी काम गरिने इबिएका राष्ट्रिय शिक्षाविज्ञ जोशीले जानकारी दिए ।