केपी शर्मा ओलीले गरेको सम्बोधन सुन्दा उनी नै प्रधानमन्त्री भएको भान बताए,चित्रबहादुर केसी


लेखक : सुन्दराञ्चल      माघ २२, २०७९ मा प्रकाशित     
केपी शर्मा ओलीले गरेको सम्बोधन सुन्दा उनी नै प्रधानमन्त्री भएको भान बताए,चित्रबहादुर केसी

माघ २२  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधन सुन्दा उनी नै प्रधानमन्त्री भएको भान परेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ओलीका सबै भनाइहरु सुन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नभई ओली नै हो भन्ने भान परेको बताएका हुन् ।‘मैले के निष्कर्ष निकालेको छु भने अहिलेका प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल होइन, उहाँ नै हो । उहाँलाई चिन्ता पुष्पकमलले सहमतिमा जानुपर्छ भन्दा २६ गते नै आतंकित हुनभएको छ । अहिले उहाँले गरेका कुरा गणतन्त्र र २०६२/०६३ को आन्दोलनका उपलब्धिका लागि हानिकारक छ’ उनले भने ।

एमाले अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको विगतको सरकारको आलोचना गर्दै अहिलेको सरकारले गर्ने काम भन्दै विभिन्न योजनाहरु सुनाएका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए ।

‘अघि पूर्वप्रधानमन्त्रीले जे कुरा गर्नुभयो, नयाँ आएका साथीहरुलाई आश्चर्य लाग्नसक्छ । उहाँले रनभुल पार्न सक्नुहुन्छ । हामी त संसदमा पहिल्यैदेखि छौं नि । उहाँलाई देखेका छौँ, सरकारमा, संसदमा बसेका छौँ । उहाँले जे जति आकाश पाताल जोडेर कुरा गर्नुभयो, त्यसको मुख्य कारण नेपाली कांग्रेसले राष्ट्रपतिमा जुल्कीहुल्की गरेको हुनाले सातोपुत्लो गएको छ, मुख्यकुरा त्यही हो’ केसीले भने ।

सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा गोहीको आशु बगाएको भन्दै आलोचना गरे । अनलाइनखबर

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap