हुर्किएको विकृतिका असर ,शीर्ष नेतृत्वभित्र


लेखक : सुन्दराञ्चल      माघ ६, २०७९ मा प्रकाशित     
हुर्किएको विकृतिका असर ,शीर्ष नेतृत्वभित्र

माघ ६, नेपाली राजनीति लामो समयदेखि निम्न पूँजीवादी जडतामा जेलिंदै आएको छ । यो जडताग्रस्त पार्टीका नेताहरूमा अर्काको मनको तराजु मात्र तौलने बानी परेको छ । उनीहरू एकपटक आफ्नो अन्तरमनको तराजुतर्फ फर्केर हेर्दैनन् ।

हरेक दिन चासो उसले के गर्छ ? के भन्छ ? कहाँ जान्छ ? हाम्रो ध्यान अरूको चियोमा मात्र जान्छ । आफ्नो मनभित्र कहिल्यै चियाउँदैनौं । म के गर्दैछु, कसको हितमा गर्दैछु । कहाँबाट खर्च गर्दैछु के खाँदैछु जीवनको लागि खाँदैछु कि जिब्रोको लागि ? केमा खर्च गर्दैछु ? राष्ट्रको लागि गर्दैछु कि फगत आफ्नो नामको प्रचारको लागि ? हामी अन्तर समीक्षामुखी नभएर बाह्यमुखी भएका छौं । समस्या सुल्झाउने भन्दा समस्या छिरोलेर अस्तव्यस्त बनाउनेतर्फ गइरहेका छौं ।आफूलाई समग्रतामा हेर्न र बुझ्न नसक्दा नेपालको राजनीतिक नेतृत्व सधैं द्विविधामा छ । हाम्रो पार्टी ठिक कि माओवादी ठिक, कांग्रेस ठिक कि जसपा ठिक, प्रचण्ड ठिक कि माधव नेपाल ठिक, शेरबहादुर ठिक कि रामचन्द्र ठिक ? पार्टी केबाट चल्छ ? महाधिवेशन के हो, पारित दस्तावेजहरू केका लागि हुन् ? यसबारे कहिल्यै गम्भीर छलफल भएन । न त महाधिवेशनको निर्देशनकै पालना भयो ।

यो प्रवृत्तिको विकासले द्विविधा सर्वत्र फैलियो । राज्यमा द्विविधा, दलमा द्विविधा, व्यक्तिमा द्विविधा, विदेशी शक्तिलाई हेर्ने सवालमा द्विविधा । यी द्विविधाले २००७ सालदेखि हालसम्म कुनै पनि विचारधारा बोक्ने दलको एकीकृत निर्माण हुन सकेन, गुटमा विभाजित भए । महाधिवेशन, सम्मेलन गुटका मञ्च बने । गुटमा छलफल गरेर निष्कर्ष मञ्चमा लैजाने । आफ्नो कुरो माने स्वीकार्ने नमाने विरोध गर्ने । आ–आफ्ना गुटले आफ्नै गुटका नेता छान्ने ।

माथि चर्चा गरिएका विषय हाम्रो देशको राजनीतिभित्र देखिएका सामाजिक संस्कारका नफेरिएका जडवत् समस्या हुन् । यी समस्याको समाधान गर्न यसको पात र टुप्पो मात्र केलाएर पुग्दैन । यी समस्या पछाडिका सामाजिक संस्कार र संस्कृतिका क्षेत्रहरूबाट मानिसको मन–मस्तिष्कमा परेको प्रभावलाई राम्ररी केलाएर तिनको उचित आलोचना र शिक्षाको क्षेत्रमा आमूल रूपान्तरण गर्न सकिएन भने सय वर्षसम्म पनि समाज ठिंगुरिएर रहनेछ ।

के हुन् हाम्रो सामाजिक–राजनीतिक क्षेत्रमा देखापरेका निम्न बुर्जुवा संस्कार र संस्कृतिका ज्वलन्त प्रमाण ? यसलाई हामी यसरी सूत्रबद्ध गर्न सक्छौं :
१. पद र सम्मान प्राप्तिको भोक । यसमा मर्यादा क्रम, सत्ता, सम्पत्ति र शक्ति प्राप्तिको भोक एवं अहंकार पर्दछन् ।

२. अधिकभन्दा अधिक मान अधिकभन्दा अधिक धन र ठूलो पद लिएर त्यसलाई निरन्तर आफूसँगै राख्ने प्रयत्न नेपालका आजका दलका नेताहरूको मनस्थिति ।

३. सीमित क्षमता र असीमित संग्रहको इच्छा नै वर्तमान नेतृत्वभित्र रहेको समस्याको जड हो ।

४. आज तिनै साथीहरू सबैभन्दा बढी असन्तुष्ट छन् जोसँग सबैभन्दा ठूला घर छन् । जसले राज्य र पार्टीको अनधिकृत सुविधा लिएका छन् । यी साथीहरू सिङ्गो पार्टी र देशका सम्पूर्ण कार्यकर्ता माथि हैन आफ्ना वरिपरि घुम्ने थोरै ज्ञान र कमजोर मनस्थिति भएका मानिसमाथि भरोसा गर्छन् । अध्ययनशील, सत्यवादी र आम पार्टी कार्यकर्तालाई उपेक्षा गर्छन् ।

५. केही साथीको काम नेताहरूको घरदैलो धाएर यताका कुरा उता, उताका कुरा यता ल्याएर कान भर्ने भएको छ । उनीहरू वातावरणलाई सधैं विषाक्त बनाउँछन् । नेता लडाएर आफ्नो स्वार्थपूर्ति गर्ने बानी उनीहरूमा परेको छ । यिनीहरूले प्रशंसाका भोका नेतालाई कोलमा गोरु घुमाए झैं घुमाइरहेका छन्

मुकुन्द न्यौपाने माथि चर्चा गरिएका गलत चिन्तन, व्यवहारबाट आफ्नो राजनीतिक दलभित्र प्रवेश गरेका समाजका कुसंस्कारबाट उत्पन्न स्वभावलाई नहटाएसम्म दलहरूले सही ढंगबाट पार्टी परिचालन र समाज रूपान्तरण गर्न सम्भव देखिंदैन । यसको लागि राजनीतिक संगठनभित्र कार्यकर्तामा देखापरेका सामाजिक संस्कृतिबाट उत्पन्न संस्कारगत स्वभावहरूबारे पार्टी नेतृत्व स्पष्ट हुनुपर्छ । कार्यकर्तालाई म कस्तो समाजमा छु, मेरो समाजको राजनीतिक, सामाजिक र सांस्कृतिक स्तर के हो ? मैले विस्थापित र स्थापित गर्न खोजेको कुरा के हो ? मैले चाहेको समाज स्थापना गर्न कस्तो संगठन चाहिन्छ ? भन्नेबारे स्पष्ट हुनु जरूरी छ ।

संगठन भनेको के हो ?
१. संगठनको ढाँचा तहगत हुन्छ । केन्द्रदेखि गाउँ र वडासम्म कमिटीहरू हुन्छन् ।

२. हरेक कमिटीमा पद हुन्छ, जिम्मेवारी हुन्छ कामको बाँडफाँड हुन्छ । कामको जिम्मा पूरा गर्ने कमिटीका सदस्यको पदीय मर्यादा हुन्छ ।

३. संगठनमा विधि, नियम हुन्छन् । बोलीचाली र साथीहरूसँगका व्यवहारदेखि बस्ने, खाने र राजनीतिक मर्यादासम्मको पालना हुन्छ । केपी ओली नेतृत्वको एमालेमा यी साङ्गठनिक मर्यादाका राजनीतिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यता सबै भताभुङ्ग भए । ‘भावी भूलबाट बच्न विगतका भूलबाट सिक’ भनिन्छ । आजका समाजवादी पार्टीका कार्यकर्ताले ओलीकालमा भएका राजनीतिक, सांगठनिक विधि–पद्धतिका भुलहरूबाट पाठ सिक्नै पर्छ ।

४. जहाँ राजनीतिक संगठन हुन्छ त्यहाँ सिनियर जुनियरको मर्यादाक्रम हुन्छ । तिनीहरूको मर्यादाक्रम छुट्याउने पनि विधि र प्रक्रिया हुन्छ । त्यो सामूहिक छलफलबाट समझदारीमा तोकिन्छ या निर्वाचनको विधिबाट । तर, नेपालका राजनीतिक दलहरूभित्र यो विधि–पद्धतिको कसरी ठाडो उल्लङ्घन हुन्छ भन्ने कुरा चितवनको एमाले महाधिवेशनमा पदाधिकारी छनोटमा देखिएको नेताको मनपरीले देखाएको छ । यहाँका पार्टीहरूभित्र हिन्दुको शिव संस्कृतिको ‘चाप्लुसे सर्वपुज्यन्ते कर्मनिष्ठे बहिष्कृताम्’ भन्ने संस्कार स्थापित गरेको छ ।

५. संगठनमा मूल्यांकन हुन्छ भनेपछि मूल्यांकनका आधार पनि हुन्छन् । सामान्यतः मूल्यांकनका आधार व्यक्तिको कार्यदक्षता, निरन्तरता, मिल्न–मिलाउन सक्ने क्षमता, अध्ययनशीलता, सिद्धान्त र राजनीतिक प्रशिक्षण गर्न र कुरा बुझाउन सक्ने क्षमता हुनसक्छन् ।

६. जुनियरले सिनियर हुन कति खुड्किला पार गर्नुपर्छ ? कति दक्षता हासिल गर्नुपर्छ ? संसारभर यसको मूल्य–मान्यता छ । यो कुरा राज्यमा र संगठनमा पनि छ । तर, नेपाल जस्तो पिछडिएको अर्थतन्त्र भएको मुलुकमा राजनीतिक र सांस्कृतिक स्तर पिछडिएको हुनाले यहाँका राजनीतिक नेताहरू पिछडिएकै दिमागबाट यो मूल्य–मान्यताको उल्लङ्घन गर्छन् ।

७. सिनियर, जुनियरको भेद र पद विभाजनको विधि नभएको संगठनका नेता चाप्लुसको कानफुके शैलीबाट प्रभावित हुन्छ । परिश्रम र ज्ञानको मूल्यहीन हुने त्यस्तो संगठनको विनाश अनिवार्य छ ।

माथि बताइएका सांगठनिक, वैचारिक, विधिपद्धति तथा कार्यशैलीका लामो कालदेखि आदतको रूपमा जमेर बसेका समस्यालाई हटाउने कसरी ? यो एउटा जटिल र गम्भीर प्रश्न छ । स्वयं राजनीतिक दलहरू यस आदतबाट मुक्त हुन चाहन्छन् भने उनीहरूले माथि बताइएका कमजोरीहरूको आफू र आफ्नो संगठनभित्र जाँच–पड्ताल गर्नुपर्छ र तल उल्लेखित विषयमा पार्टीव्यापी कार्यकर्ता प्रशिक्षण चलाउनुपर्छ ।

१. संगठन मानिसले संचालन गर्छ, त्यसैले संगठन बदल्न मानिस बदलिनुपर्छ ।

२. संगठनमा नेतृत्वले समस्या हैन समाधान दिनुपर्छ ।

३. नेतृत्व दिनेले नीति, भिजन, योजना, मिसन र आचरण दिन सक्नुपर्छ । नेतृत्वले माथिका पाँच कुरा कार्यकर्तालाई दिन सक्नुपर्छ भने कार्यकर्ताले आफूभित्र पाँचै कुरा लागू गर्न सक्नुपर्छ ।

४. कार्यकर्ता स्वावलम्बी बन्नुपर्छ । उसले आफ्नो र पार्टीको स्वाभिमानलाई उँचो राख्नुपर्छ । नैतिकवान, समाधानमुखी, सक्रिय र क्रियाशील हुनुपर्छ ।

५. कार्यकर्ताले आफ्ना समस्या नेताको टाउकोमा हाल्नुहुन्न नेताले कार्यकर्ताको टाउकोमा थोपर्नुहुन्न ।

६. कमिटीभित्रका निर्णयहरूको पालना गर्ने परिपाटी बसाउनुपर्छ ।

७. विचार र काम गर्ने तरिका, सोच र व्यवहार संस्थामुखी हुनुपर्छ । संस्थालाई केन्द्रमा राख्नुपर्छ ।

८. संस्थालाई केन्द्र भागमा नराखेर व्यक्ति केन्द्र भागमा रहन्छ भने त्यो पार्टी नभएर गुटहरूको मण्डली हुन्छ । जब व्यक्ति केन्द्र भागमा हुन्छन्, त्यहाँ द्वन्द्व बढ्छ र संस्था गुटहरूको मञ्च बन्छ । यस्तोमा त्यो एउटा मोर्चा संगठन मात्र हुन्छ । हाल नेपालमा यस्तै भइरहेको छ ।

९. संस्था गुटहरूको मञ्चमा बदलिएपछि गुटका बोसहरू अलग बैठक गरेर आउँछन् र आफ्नो निर्णय लाद्छन् । आफ्नो कोसिस सफल नहुने देखे संस्था फुटाउने धम्की दिन्छन् ।

१०. एउटा पार्टीभित्र तीन चरित्र बोकेका नेता हुन्छन्– राजनेता, नेता र सरकार (बोस) ।

राजनेताले पार्टीभन्दा माथि उठेर सोच्दछ । राजनेताको पहिलो प्राथमिकता देश र जनता हुन्छ । पार्टी नेताले पहिलो प्राथमिकतामा पार्टीलाई राख्छ । पार्टी बलियो भयो भने देश र जनताको भलो गर्न सक्छु भन्ने उसको बुझाइ हुन्छ । बोसले गुटलाई पहिलो प्राथमिकतामा राख्छ । बोसलाई विचार र सिद्धान्तका मूल्यमान्यतासँग कुनै लेनादेना हुँदैन । उसलाई बलियो गुटमार्फत पार्टी कब्जा गर्ने चिन्ता हुन्छ । यसको लागि ऊ पैसाको जोहो गर्न थाल्छ । पैसाको प्रयोग गरेर आफ्ना वरिपरि विचारहीन मानिसको भीड जम्मा गर्न थाल्छ । जहाँबाट पैसा तान्न सकिन्छ तिनै मानिसहरू उसका प्रिय पात्र हुन्छन् ।

११. यस्तो अवस्थामा पार्टीभित्र नेता र राजनेताले त्याग्न योग्यलाई त्याग्न र ग्रहण गर्न योग्यलाई ग्रहण गर्न सक्नुपर्छ । गुण र दोषको आधारमा प्रमोसन र डिमोसन गर्न सक्नुपर्छ ।

१२. सैद्धान्तिक, राजनीतिक, वैचारिक र कार्यशैलीका व्यावहारिक मापदण्डको आधारमा मूल्याङ्कन गर्न सक्नुपर्छ । अर्गानिक बुद्धिजीवीबाट आएका नेता–कार्यकर्ता र रासायनिक तरिकाबाट आएका कार्यकर्ताका विशेषताको पहिचान गरी कामको जिम्मेवारी छुट्याउन सक्नुपर्दछ ।

१३. महाधिवेशन वा केन्द्रीय कमिटीबाट पारित निर्णयहरू कार्यक्रम र विधानको पालना माथिदेखि तलसम्मका कमिटीमा संगठित सदस्यहरूले कडाइका साथ गर्न सक्नुपर्दछ ।

१४. शीर्ष तहमा बसेर मनपरी गर्ने, उपदेश दिंदै हिंड्ने आचरणलाई कार्यकर्ताले अंकुश लगाउन सकेनन् भने त्यो नेता र कार्यकर्ताको पार्टी नभएर मालिक र दासको झुन्डमा फेरिनेछ । नेपालका कतिपय राजनीतिक पार्टीको भविष्य अन्धकार सुरुङमार्गतिर प्रवेश गर्न लागेको आभास अहिले आफूलाई अब्बल दर्जामा राख्ने केही पार्टीहरूले दिन थालेका छन् ।

१५. अर्गानिक बुद्धिजीवीबाट आएका हरेक पार्टीका कार्यकर्ताहरू साँच्चिकै व्यावहारिक र जनताप्रति उत्तरदायी भएर चल्छन् र राष्ट्रको हित चाहन्छन् भने उनीहरूले आफ्नो दललाई सही धारमा अघि बढाउनु आवश्यक छ । जता पानी बग्छ, त्यतै बहनु ठूलो कुरो हैन । धारको प्रतिकूल नाउ लैजानु सच्चा माझीको परिचय हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap