काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने


लेखक : सुन्दराञ्चल      कार्तिक २८, २०७९ मा प्रकाशित     
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने तयारी गरेको छ । झाडी र फोहोरले अस्तव्यस्त बनेको खुलामञ्च सम्याएर महानगरले अहिले सफा गरेको छ । बेसमेन्ट निर्माण गरेर पार्किङ गराउने आन्तरिक तयारीका साथ खुलामञ्चमा सफा गरिएको महानगरका मेयर बालेन्द्र साह (बालेन) का पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिए ।

लम्साल भन्छन्, ‘अहिले चाहिं फोहोर र झाडीको कारण अस्तव्यस्त देखिएकोले सम्याइएको मात्रै हो । तर हाम्रो तयारी यहाँ अन्डरग्राउन्ड पार्किङ नै हो । महानगरमा भइरहेको पार्किङ समस्या समाधान गर्न यसले भूमिका खेल्छ ।’ लम्सालले खुलामञ्च तत्काल खोल्ने विषयमा भने निर्णय भइनसकेको बताए ।

बजेटमै उल्लेख भएको बुँदा अनुसार महानगरले खुलामञ्चमा तीन तल्लाको अन्डरग्राउन्ड पार्किङ गराउने गरी ‘सार्वजनिक–निजी–साझेदारी’अवधारणामा संरचना निर्माण हुने लम्सालले बताए । पीपीपी मोडलमा ठेक्का खोल्न महानगरले केही नीतिगत व्यवस्था समेत सच्याउने भएको उनले बताए । ‘अघिल्लो ठेक्काहरुमा नीतिगत त्रुटि हुँदा कतिपय कामहरु अलपत्र परेका छन् । यो पटक केही सुधार गरेर ठेक्का आह्वान गर्छौं’ लम्सालले भने ।

महानगरको बजेटको बुँदा नम्बर १११ मा बढ्दो सवारी चापलाई मध्यनजर गरी वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । ‘हामीले ५ हजार सवारी साधन अट्ने गरी बेसमेन्ट पार्किङको लागि अध्ययन गरिरहेका छौं । बजेटमै आइसकेकोले महानगरले आन्तरिक तयारी गरिरहेको छ । खुलामञ्चको चौर नबिग्रने गरी संरचना तयार हुन्छ,’ लम्सालले भने, ‘चौरमा पानी रिचार्ज पोखरी निर्माण हुन्छ । खुलामञ्चमा आकाशबाट बगेको पानी बग्न नदिने योजना सहित हामीले काम सुरु गर्छौं ।’

 

महानगरको मातहत पर्ने खुलामञ्चमा १५ वैशाख २०७८ देखि सवारी प्रवेशमा रोक लगाइएको थियो । त्यस यता बन्द रहेको खुलामञ्चमा दशैं तिहार अवधिभर चार पाङ्ग्रे सवारी पार्किङ गर्न दिइएको थियो । हाल खुलामञ्च बन्द अवस्थामै रहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap