२ कात्तिक, काठमाडौं । चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएको छ ।
कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो ।
उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो

नेपालको पर्यटन प्रवद्र्धनमा कर्णाली पुलले महत्वपूर्ण योगदान गरे जस्तै चितवन नवलपरासी जोड्ने पुललाई पनि त्यस्तै खालको चित्ताकर्षक बनाइने सडक विभागका अधिकारीहरु बताउँछन् । चिनियाँ प्राविधिकको सहयोगमा उक्त पुल निर्माण गरिनेछ ।
