असोज ८, काठमाडौं, देशकै संघीय राजधानी हो । राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो काठमाडौं ।
स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ । चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस् । तर विडम्बना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख शहरका सडकहरूको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ । कतै खाल्डाखुल्टी त कतै हिलाम्मे र धुलाम्मे बाटो । चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनःनिर्माणको काम समेत सरकारी निकायहरुले गर्न सकेका छैनन् ।
सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरू विकासको कुरामा सवाल जवाफमा नै सीमित छन् । चुनावका बेला बाध्यताले गरिएको कालोपत्रे र सडक निर्माण केही महिना नबित्दै भत्किएर पुनः उस्तै हुन्छ । दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महशुस गर्न प्रतिनिधिहरुले सकिरहेका छैनन् । राजनीतिक दलका प्रतिनिधित्व र सरकारले सडक विकासलाई व्यवस्थित गर्न नजान्दा र नसक्दा, अझ भनौं प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकहरुले दुःख भोगिरहेका छन् ।
कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुंगा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरु छरपस्ट देख्न सकिन्छ ।