काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली काँग्रेसका बारेमा राम राम! भन्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन्। जनतासामु जान डराएर काँग्रेसले अंशबण्डा गरिरहेको बताएका छन्।
बिहीवार काठमाडौँमा भएको विपी साहित्य सम्मान एवं विपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता प्रकट गरेका हुन्। उनले नेपाली काँग्रेसको अहिलेको अवस्थालाई हेर्दा राम राम भन्नु शिवाय अरू नरहेको उल्लेख गरे।
उनले भने‚ ‘हामी कोहीमा छैन। काँग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौँ हामी। जनताको बीचमा जान पनि अरू पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ। राम,राम,राम। काँग्रेसका बारेमा रामराम भन्ने वेला भइसकेको छ। उहाँले भन्नुहुन्छ जय नेपाल स्वीकार गर्नुस्, एकजनाले पनि स्वीकार गर्नुभएन। चित्त दुखेर नबोलेका हुन्।’
उनले कुनै राजनीतिक कार्यकता र नेतालाई विपीका राजनीतिक अध्ययन चिन्तन गर्ने फुर्सद नरहेको बताएका छन्। त्यसैले काँग्रेसमा टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए।
पूर्वराष्ट्रपति यादवले काँग्रेस पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए। उनले समानुपातिकबाट सांसद बन्नका लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताए।
पूर्वराष्ट्रपति यादवले स्थानीय निर्वाचनमा वडा र पालिकाहरूमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गरे। उनले काँग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासामु जान अरू पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताए।
पूर्वराष्ट्रपति यादवले भने, ‘काँग्रेसीले विपीले उहाँका वेला जति महाधिवेशनमा बोल्नुभएको छ, त्यो महत्त्वपूर्ण छ। विपीको जेल डायरी, विपीको आत्मवृत्तान्त, विपीले बोलेका राजनीतिबारे विषय काँग्रेसीलाई पढ्न फुर्सदै छैन। सोझै काँग्रेस छिर्छन्। किनकि टिकट किन्नेलाई काँग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, काँग्रेसीमा लागेकालाई फुर्सदै छैन। पैसामा टिकट बेचिरहेको छ। सुन्नुभएको होला तपाईंहरूले समानुपातिकमा टिकट बिक्री भएको छ। वाडको टिकट बिक्री भएको छ। पालिकाको टिकट बिक्री भएको छ। अहिले विधिको बरेमा चर्चा गरिराख्नुपर्ने, आदर्शको बारेमा कुरा गर्नै छोडिसके। विपी, गणेशमान, किसुनजी, गिरिजा जस्ता महापुरुषको नाम सुन्दै गदगद हुन्छ तर अहिले देशको अवस्था कस्तो छ? विपीको एक गुण पनि हामीमा छैन। काँग्रेसीमा त हुनैपर्ने हो।’
कार्यक्रममा डा. शशांक कोइरालाले आफूले धेरै डाक्टरलाई अध्यापन गराएको उल्लेख गर्दै अहिले डाक्टर राम्रा तर अप्रेशन गर्न लागेको बिरामीलाई पैसा दिएपछि मात्रै अप्रेशन गर्छु भन्ने किसिमका डाक्टर रहेको भन्दै दुःख व्यक्त गरे। उनले आफूलाई पीडा हुँदा पनि अरूको सेवा गर्नु नै डाक्टरी पेशा भएकाले फलको आश नगरी सेवा गरेर अघि बढ्न सुझाव दिए।
उनले भने, ‘जीवन भनेको प्रयत्न हो, फलको चिन्ता गर्नु हुँदैन, प्रयत्न गरिराख्ने हो। मैले धेरै डाक्टरहरूलाई पढाएँ। १६ वर्ष कटिसकेको डाक्टरको चरित्रमा परिवर्तन गर्न नसकिने रहेछ। राम्रो डाक्टर बनाएँ तर उनीहरू के गर्छन् भने बिरामीलाई टेलबमा राखेपछि भन्छन्, तिम्रो पेट म चिर्छु तर तिमीले ६० हजार रुपैयाँ मलाई दिनुपर्छ। डाक्टर राम्रा तर चरित्र नभएका डाक्टर बनाएँ, आफूलाई पीडा हुँदा पनि अरूको सेवा गर्नु डाक्टरी पेशा हो।’
कार्यक्रममा विपी साहित्य सम्मान एवं विपी सेनानी सम्मान तथा स्मृति लोकार्पणसमेत गरिएको थियो। थाहाखबर