बिर्सिउँला कसरी !तिमीलाई मैले


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७९ मा प्रकाशित     
बिर्सिउँला कसरी !तिमीलाई मैले

भदौ २१  यही गीतको भाकामा आफ्नै कोठामा ल्यापटपको अघि बसेर गीत हेरिरहनु भएकी हजुरआमासँग नातिनीको दैनिक एउटै प्रश्न हुन्थ्यो, ‘आमा कति एउटै गित मात्रै हेरिरहनु भएको हो ? कति मन लाग्छ हौ, तपाईंलाई एउटै गीत सुन्न दिक्क लाग्दैन ?’

आमाको उत्तर हुन्थ्यो ,’अँह, कहाँ एउटै गीत हुनु, हिजोभन्दा आज कमला (बालगायिका कमला घिमिरे) ठूली भएकी छे, हेर त नपत्ताको भए ।’

आमा महिनौंदेखि युट्युबमा कमला घिमिरेको एउटै दोहोरी गीत हेर्दा बेला-बेलामा भन्नु हुन्थ्यो, ‘कति नाचेको यी मान्छेहरु, थकाई नि नलाग्ने रै’छ ।’

आमा केही वर्ष यता आधुनिक पुस्तासँग खुब रमाउन थालिसक्नु भएको थियो । घरमा इन्टरनेट जोडेको टिभी नभएको कारण ठूलो नातीको ल्यापटपमा जहिल्यै दोहोरी गीत अनि सिरियल फिल्महरु हेर्ने बानी आमालाई बसिसकेको थियो । लकडाउनले त झन लत नै बनाइदिएको थियो ।

तर, आमा निकै खुशी देखिनु हुन्थ्यो, विहान भजन, खाना खाएर फिल्म लगाइदिन्थें । अनि बेलुकी कमला घिमिरे र कल्पना दाहालको दोहारी गीत हेर्न सुन्न खुब मज पथ्र्यो आमालाई । गीत हेर्दाहेर्दै कहिले त आमाले १२ नै बजाउनुहुन्थ्यो, रातिको, त्यति धेरै मनपर्ने आमालाई दोहोरी गीत । घर नै दोहोरीले गुञ्जयामान हुन्थ्यो ।

सायद उमेरले पनि होला उहाँ बच्चाजस्तै हुनुहुन्थ्यो । हामी नातिनीहरुले लगाएको जे कपडा, जुत्ता, गहनादेखि हरेक सामानहरु ‘मैले पनि लगाउन पाए हुने’ भन्ने भाव आमाले नबताए पनि बोलीमा मिसिएका केहि शब्दहरुले प्रष्टै पारिदिन्थे ।

हामी पनि बुझीहाल्थ्यौं, त्यसैले त आमाले ८८ वर्षको उमेरमा पनि कुर्ता सरुवाल, मेडी अनि भनेको जस्तै गहना त्यो पनि डिजाइन-डिजाइनमा लगाउन मन पर्थ्यो ।

पोहोरसम्म पनि म कार्यालय जानेबेला मेकअप गर्दा आमाले ‘मेरोपनि तेरोजस्तै डण्डीफोर आको छ तेरो क्रिम अलीकति दे त’ भन्दै लगाउनुहुन्थ्यो ।

तर, आमाको यो हर्कत हामीलाई खुब मनपथ्र्यो, त्यसमाथि पनि हामीलाई हाम्रो ड्याडी ममीले पनि सिकाउनु भएको थियो कि ‘मान्छे बुढाबुढी भइसकेपछि बच्चाजस्तै हुँदै जान्छन्, त्यसैले धेरै आमासँग ‘डिस्कस’ गर्ने र ठूलो स्वर गर्ने केही नगर्नु ।’

टिकटक आइसकेपछि आमालाई मैले लिएर थुप्रै टिकटक समेत बनाएको थिएँ । आमाले खुब ‘इन्जोय’ गर्नुभएको थियो टिकटकको । फेसबुकमा हाल्दा अरुले पनि हेर्ने भएकोले आमालाई भेट्दा भन्दा रहेछन्, ‘नातीनीसँग टिकटकमा देखेको थिएँ’ । आमा मख्ख पर्नहुन्थ्यो ।

आमाको खुशी हामीसँग खेलिरहँदा, कुरा गरिरहँदो आफ्नो बुढ्यौली बिर्सने गर्नुहुन्थ्यो । आमाको बालापनमा र्फकने गथ्र्यो । हामी र आमा एकसाथ रहँदा दुबै एक्लोपनबाट मुक्त हुन्थ्यौ, एकअर्काको साथी भएका थियौं । आमाले आफ्नो भविष्य हामीमा खोज्नुहुन्थ्यो ।

जति धेरै पछिल्लो समय आमा आधुनिक जमानासँग खेल्नुभयो, रमाउनुभयो उतिनै धेरै संघर्ष गरेरे आज हामीलाई यहाँसम्म ल्याउनुभएको थियो । आमाको दुख र सङघर्षको जति बयान गरेपनि सकिन्न रहेछ ।

सानैमा आमा गुमाउनुको पीडाबारे बेला-बेलामा गनथन गर्नुहुन्थ्यो । भक्तपुर बालकोटमा जन्मिनुभएकी आमा ९० सालको भुँइचालोमा १ वर्ष हुनुन्थ्यो अरे ।

उहाँले भन्नुहुथ्यो, मेरो बुवा त आर्मीको अमल्दार हुनुहुन्थ्यो । कालीमाटी लिन गएको कुराहरु देखि लिएर धेरै काहानीहरु सुनाउनुहुन्थ्यो । आमाको विवाह १७ वर्षमा भएको अरे । त्यसपछि मकवानपुरकोे यात्राबाट उहाँको युद्ध नै सुरु भयो ।

विवाह गरेपछि आमाको संघर्ष झन बढेछ । कयौं कठ्ठा बारी, खेत त आफैले फाँड्नु भएको अरे । बेला-बेलामा हामीले खाना फाल्दा भन्ने गर्नुहुन्थ्यो,’त्यतिबेला मैले खेतबारी फाँडेको थिइ र त अहिले खाना मिर्काउन पाँउछेस्” ।

आमा आफैंमा खुला विश्वविद्यालय हुनुन्थ्यो । उहाँसँग अथाह ज्ञान भण्डार थियो । त्यो पनि व्यवहारिक र जीवनोपयोगी ज्ञान । आफ्नो जमनामा भोगेका, देखेका, बुझेका, सुनेका कुराहरुबाट हामी नाती-नातिनीलाई बाँड्ने गर्नुहुन्थ्यो । यस्तो ज्ञान हामीले अन्यत्र पुस्तकमा खोजेर पनि पाउन सक्दौनौं ।

आमा हाम्रो खुला पस्तक जस्तै हुनुहुन्थ्यो । आमासँग आफ्ना युगमा भोगेका मीठा-मीठा कुराहरु थिए । ती कुराहरु अहिलेका बालबालिकालाई ‘परी कथा’ भन्दा कम रोचक लाग्दैन ।

रातभरी एक्लै गीत गाँउदै ढीकीमा धान कुट्दा विहानै छर्लङ्गै हुन्थ्यो अरे । अनि धान कुट्न नपरेको बेला राति २ बजेनै पारी खेत देवातीमा मल पुर्‍याउन जानुहुन्थ्यो अरे ।

ढिला उठ्दा आमाले हामीलाई यही भन्ने गर्नुहुन्थ्यो,’हामी यति बेला मकवानपुरको हर्नामाडीको देवातीमा २ खेप मल बोकी सक्थ्यौं ।’

अनि अन्य दिन दिनभरी खेतबारी वन र गाईवस्तुलाई घाँस काट्दैमा दिन जान्थ्यो । मेरो हजुरबुवा राजनितिमा भएकोले त्यति घरको काम गर्ने फुर्सद हुन्थेन, त्यसैले आमाले बुवा र आमाको दुबैको जिम्मेवारी सम्हाल्नु भएको कुरा हाम्रो बाबा र ठूलो बाबाले  गर्नुहुन्छ ।

चाडबाडको बेला घरभरी मान्छे हुँदा आमा दङ्ग भएर मख्ख पर्नुहुन्थ्यो । उत्तिकै मायाममता भएर होला, पनातिपनातीनीहरु खुब पछ्याँउथे ।

आमासँगको रमाइला क्षणहरु पनि छन् जुन बिर्सन सकिन्नँ, आमाले हेटौंडा बजारमा रिक्सा चढ्दा जुत्ता फुकालेको क्षण अमिट छाप बनेर बसेको छ । मोबाइल चार्जमा हाल्दा ‘तेरो मोबाइल भरिसक्यो कस्तो गरुम भइसक्यो हेर त’ जस्ता कुरा आमाको याद गर्दा झलक्क कानमा गुञ्जन्छन् ।

आज मंगलबार उहाँको स्वर्गारोहणको १३ दिनको पुण्य तिथि हो । सायद मैले मेरा आँखा अगाडि आमाले संसार छाड्दै गरेको नदेखेर होला आज पनि आमा यही हुनुहुन्छ जस्तो लाग्छ । ९१ वर्षको उमेरमा आमाले आफ्नो प्राण त्याग्नुभयो । ‘कहिले पनि अस्पताल भर्ना नगर्नु’ भन्नुहुन्थ्यो तर, दमको रोगी अन्तिम अवस्थामा ३ दिन अस्पतालको बसाइमा नै आमाले संसार त्याग्नुभयो ।

हजुरआमा बित्नुभयो भन्दा कतिले त ‘उमेर पुगेर त हो, किन पीर गर्‍या ?’ जस्ता खालका संवादहरु गर्छन् । मलाई यो प्रिय लाग्दैन । हामी सबैजना परिवारका लागि परिवारको मुख्यपात्र नै उहाँ हुनुहुनथ्यो । हाम्रो जिन्दगी फिल्म हुन्थ्यो भने उहाँ हाम्रो हिरो पनि हिरोइन पनि ।

बुवा ममीलाई भन्न नसकेको कुराहरु हामी आमालाई नै सेयर गथ्र्यौं । आमा हुँदा घर नै उज्यालो हुन्थ्यो । आमालाई स्याहार्न पाउँदा साह्रै रमाइलो लाग्थ्यो ।

कतिपयका परिवारमा हजुरआमा-हजुरबुवा बोझिलो लागेको सुन्दा हामीलाई कहिल्यै राम्रो लागेन ।

आमासँग हामी सुरक्षित मात्र महसुस गर्थेनौं, प्रेमको न्यानोपन पनि अनुभूत गर्थ्यौं  । हजुरआमाको काँखमा लुटपुटिंदै हुर्कन पाउने हामी कति भाग्यमानी हौं भन्ने वयान हुन सक्दैन।

मेरो अनुभवले यही भन्छ, आमाले बुढ्यौलीमा उन्मुक्त र उमंगमय दिनहरु बिताउनुभयो । आमा म यत्ति भन्छु तपाईं जहाँ रहेपनि तपाईको आत्माले सँधै शान्ति पाओस् । अथाह माया अनि सम्मान पाओस् ।

हुन त पछिल्लो पुस्ताका धेरैलाई आमा-हजुरआमाभन्दा बढी मोबाइलका कुराहरु प्यारो भएको छ । यदि अहिलेको पुस्तालाई घरमा हजुरआमा-हजुरबुवा छन् भने उहाँहरुलाई एकाकार हुने वातावरण तय गरिदिनुहोस्, मोबाइललाई टाढा राखेर ।

मेरो त इच्छा छ, हजार जुनीसम्म हामी एउटै परिवारमा हुन पाउँ । अहिलेको शून्यताले हामी त्यही तपाइँको प्रिय गीत सम्झिरहेका  छौं,कहाँ गयौ भंगेरी चरी –तिमीलाई मैले बिर्साउँला कसरी ।  अलविदा आमा !

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap