काठमाडौं घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटना लगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गीताका दुई छोरी छन् । श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ ।
उनको उपचारमा संलग्न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । कम्मरको हड्डी भाँच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले रामचन्द्रविरुद्ध लिखित उजुरी पर्न बाँकी रहेको बताए ।