काठमाडौं
घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटना लगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गीताका दुई छोरी छन् । श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ ।
उनको उपचारमा संलग्न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । कम्मरको हड्डी भाँच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले रामचन्द्रविरुद्ध लिखित उजुरी पर्न बाँकी रहेको बताए ।