१२ जेठ, स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको भन्दै बुधबार विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अचानक पदबाट राजीनामा दिए । ३० वैशाखमा भएको निर्वाचनमा विवेकशीलले एक पालिका प्रमुख मात्र जित्न सकेको छ ।
पार्टीले स्थानीय निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि अब विवेकशीलका निवर्तमान अध्यक्ष मिश्रको राजनीतिक यात्रा कसरी अगाडि बढ्ला?
यो प्रश्नमा उनले जवाफ दिएका छन्, ‘कतिपय साथीहरूले “अब तपाईं के गर्नु हुन्छ?” भनेर सोधी रहनुभएको छ । मलाई मेरो भाग्यले गुनासो गर्ने ठाउँ नै नराखि चाहिनेभन्दा बढी दिइसकेको छ । मलाई थप केही आवश्यक छैन । मेरो राजनीतिको प्रमुख उद्देश्य “देशको दूरगामी हित र दशकौंसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्शै गर्न सकेन तिनलाई स्पर्श गर्नु” थियो। त्यो सफलता अहिलेसम्म हासिल भएको छैन। त्यसका लागि “विचारभन्दा माथि देश” लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु।’
मिश्रले अब कविता, किताब र सिनेमामा अभिनय गर्नसक्ने पनि उल्लेख गरेका छन् । ‘कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरुँला र, मन लाग्यो भने, सिनेमामा अभिनय पनि गरुँला!,’ उनले फेसबुकमा लेखका छन् ।