म जीवनभरी जनताको सेवक नै रहनेछु, नगर प्रमुखका उम्मेदवार वड


लेखक : सुन्दराञ्चल      बैशाख २५, २०७९ मा प्रकाशित     
म जीवनभरी जनताको सेवक नै रहनेछु, नगर प्रमुखका उम्मेदवार वड

धनगढी बैशाख २५ आसन्न स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिका प्रमुखका गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नृपबहादुर वडले आफू सधैं जनता सामु निहुरिएको र निहुरिरहने बताएका छन् ।

साझा उम्मेदवार वडले भने आफ्नो कामले कहिल्यै पनि नगरबासी दाजुभाइ,दिदीबहिनी आमाबुबा,दलित,उत्पीडीत,अशाय,अशक्क्त ,शुकुमम्बासी ,जाँत जाती धर्म, लिङ्ग,प्रती समान व्यबहार रहने र शीर निहुरिन नदिने प्रतिवद्धता दोहोराए ।

“फलेको वृक्षको हाँगो सधैं निहुरिन्छ” शनिबार धनगढीमा बुद्धिजीवी, पेसाकर्मी तथा व्यवसायीहरुको एक कार्यक्रममा काँग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार वडले भने– मलाई कसैले पनि पहिले नमस्कार गर्नुपर्दैन, म आफै सबैलाई नमस्कार गर्थे र गर्नेछु ।

उनले आफू पाँच वर्ष नगर प्रमुख हुँदा कहिल्यै पनि ठूलो पदमा पुगेको अनुभव नगरेको बताए । भने– मैले आफूलाई सधैं जनताको सेवकका रुपमा समर्पित गरे । जीवनभरी सेवक नै रहनेछु ।

उनले नगर प्रमुखका रुपमा पाँच वर्ष धनगढीलाई महानगरपालिका बनाउने लक्ष्यका साथ भौतिक पूर्वाधार निर्माणमा केन्द्रीत रहेको दाबी गरे ।

उनले भने– कहिलेकाही हामीमाथि सडकको चौडाई घटायो भन्ने आरोप लगाउँछन् । तर, ३० मिटर चौडाईको सडक बनाउँदा एक हजार घर भत्काउने कि योजना फिर्ता गर्ने । त्यसैले हामीले २४ मिटर चौडाईमा झार्यौ र ८० घरमात्रै भत्काउनु पर्यो ।

उनले धनगढीमा विकासको जग बनिसकेकोले अब व्यवस्थित, सुन्दर र समृद्ध धनगढीको परिकल्पना साकार पार्ने आफ्नो लक्ष्यका साथ अघि बढेको बताए ।

“साच्चै भन्नहुन्छ भने हाम्रो पाँच वर्षे कार्यकाल हावाहुरी, कोरोना महामारी, कानुन, कर्मचारी तथा स्रोतसाधनको कमी सहितका चुनौतिबीच वित्यो” उनले भने– यी तमाम चुनौति र कठिनाईकाबीच पनि हामीले धनगढी उपमहानगरपालिकामा भौतिक संरचना निर्माणको काम लगभग पुरा गर्न सफल भयौं ।

उनले उपमहानगरका सबै १९ वडाका टोलहरुमा समेत सडक सञ्जाल विस्तार, हरेक नदी र खोलामा पुल, १७ वटा वडामा वडा कार्यालय भवन, ६७ वटा सामुदायिक विद्यालय भवन, २२८ कक्षा कोठा, सिटीहल, शीतगृह, सबै वडामा पार्क र खेल मैदान लगायतका कामहरु पुरा भइसकेको बताए । भने– अब क्षेत्रीय विमानस्थल, गौरिफन्टा नाकाको स्तरोन्नती, जस्ता काम बाँकी छन् । हामी धनगढीलाई महानगरपालिका बनाउने लक्ष्यका साथ अघि बढेका छौं ।

कार्यक्रममा उपप्रमुखका गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शान्ति अधिकारीले गठबन्धनका साझा उम्मेदवारहरुलाई कुनै पनि दलबाट मतदान गर्नेमा कत्ति पनि शंका नरहेको बताइन् ।

उनले भनिन्– यो विश्वासको गठबन्धन हो । यही विश्वासका साथ हामी सबैले साझा उम्मेदवारहरुलाई विजयी गराऔं ।
उनले गठबन्धनभित्रका दलहरुबीच एकअर्काबीच पूर्ण विश्वास रहेको बताइन् ।

कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी, उद्योगी अनिलकुमार भुजनिया, अधिवक्ताद्वय गंगाराम पाध्याय र प्रेम चन्द, तेजबहादुर सिंह, सुवास शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap